कैलाली, ९ मङ्सिर
कैलालीका सरोकारवालाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि हिंसा प्रभावितलाई सहज न्याय, संरक्षण तथा आर्थिक र मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
महिला पुनःस्थापना केन्द्र (ओरेक) को आयोजनामा मङ्गलवार धनगढीमा ३६ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत हिंसा प्रभावितहरूको न्याय, सामूहिक सशक्तीकरण तथा रूपान्तरणका लागि आयोजित परामर्श तथा छलफल कार्यक्रममा सहभागीले अभियानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नगरी प्रभावितका समस्या समाधानमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा हिंसा प्रभावितहरूले आफूले भोग्नुपरेका पीडा, हिंसाका विभिन्न स्वरूप र न्याय प्राप्तिका क्रममा सामना गर्नुपरेका कठिनाइबारे अनुभव सुनाएका थिए । उनीहरूले हिंसाबाट प्रभावित भएपछि सामाजिक, आर्थिक तथा मानसिक रूपमा भोग्नुपरेका समस्यासमेत प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीका चौधरी भुलले शारीरिक हिंसासँगै मानसिक हिंसाबाट पनि धेरै व्यक्ति प्रभावित भइरहेको बताउनुभयो । हिंसा प्रभावितलाई परामर्श, आर्थिक तथा मनोसामाजिक सहयोग उपलब्ध गराउन सके मात्रै १६ दिने अभियान सार्थक हुने उहाँको भनाइ थियो ।
उहाँले ¥याली तथा औपचारिक कार्यक्रमले मात्र हिंसा अन्त्य नहुने भन्दै प्रभावितलाई आवश्यक सहयोग र संरक्षण प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय तहमा जनप्रतिनिधिहरूबाट पनि अपेक्षित काम हुन नसकेको स्वीकार गर्दै उहाँले प्रभावितको संरक्षणका लागि सुरक्षित आवास (सेफ हाउस) सञ्चालन गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
जिल्ला स्तरमा सेफ हाउस सञ्चालन गर्ने योजनाअनुसार विभिन्न पालिकासँग छलफल भइरहेको उहाँले बताउनुभयो। यसका लागि सामाजिक विकास मन्त्रालयमार्फत एक करोड रुपैयाँ बजेट माग गरिएकोमा ५० लाख रुपैयाँ विनियोजन गराउन सफल भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले हिंसाका पछाडि सामाजिक सोच र व्यवहार पनि जिम्मेवार रहेको बताउनुभयो । समाजमा लामो समयदेखि जरा गाडेर बसेका गलत मान्यता र सोच परिवर्तन गर्न सहज नभए पनि सकारात्मक व्यवहारलाई प्रोत्साहन गर्दै सामाजिक रूपान्तरणमा लाग्नुपर्ने उहाँको भनाइ थियो। अरूको देखासिकी गर्दा राम्रा पक्षभन्दा नराम्रा व्यवहारको अनुकरण गर्ने प्रवृत्तिले पनि हिंसालाई बढावा दिइरहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले महिला मात्र नभई पुरुष पनि हिंसाबाट प्रभावित हुने गरेको भए पनि त्यस्ता घटना कम सार्वजनिक हुने गरेको बताउनुभयो । हिंसाका घटनामा प्रहरीबाटै पीडक भए पनि कानुनी कारबाही हुने उल्लेख गर्दै उहाँले प्रभावितलाई प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा आएर खुलेर आफ्ना समस्या राख्न आग्रह गर्नुभयो । पीडितको पक्षमा काम गर्न सबै निकाय तयार रहेको उहाँले बताउनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालय कैलालीका प्रतिनिधि हरिहर भट्टले मुद्दाको फैसला हुँदा प्रभावितलाई त्यसबारे जानकारी नपाएको गुनासो आउने गरेको बताउनुभयो । लैङ्गिक हिंसाका घटना आफन्त तथा छिमेकीबाटै हुने गरेको उल्लेख गर्दै उहाँले कतिपय मुद्दामा पीडित पक्ष पछि होस्टाइल हुने गर्दा न्यायिक प्रक्रियामा जटिलता आउने गरेको बताउनुभयो । यस्ता घटनाका कारण समाजले प्रभावितलाई नकारात्मक दृष्टिले हेर्ने गरेको उहाँको भनाइ थियो ।
इन्सेक सुदूरपश्चिमका कृष्ण विश्वकर्माले सामाजिक सञ्जालका कारण पछिल्लो समय हिंसाका घटना बढी सार्वजनिक हुन थालेको बताउनुभयो । हिंसा पहिलेदेखि नै रहे पनि अहिले बाहिर आउने क्रम बढेको उहाँको भनाइ थियो ।
उहाँले हिंसा अन्त्य गर्नु सरकारको प्रमुख दायित्व भए पनि यसमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । स्थानीय तहमा हिंसा न्यूनीकरण तथा न्यायका लागि विभिन्न समिति गठन भए पनि प्रभावितले सहज रूपमा न्याय पाउन नसक्नुको कारण खोज्नुपर्ने उहाँले बताउनुभयो । सामान्य प्रकृतिका हिंसाका घटना पनि वडा स्तरमै समाधान हुन नसक्दा प्रभावितले न्याय पाउन ढिलाइ हुने गरेको उहाँको भनाइ थियो ।
संस्थाकी प्रतिनिधि रुपा राईले आर्थिक अवस्था कमजोर भएका हिंसा प्रभावितका लागि निःशुल्क कानुनी सेवाको व्यवस्था भए पनि व्यवहारमा सहज रूपमा मुद्दा दर्ता हुन नसकेको बताउनुभयो। बालविवाहलगायतका सामाजिक समस्यासमेत कायम रहेको उल्लेख गर्दै उहाँले विभिन्न कार्यक्रम सञ्चालन गर्दा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो। हिंसा अन्त्यका लागि गरिएका प्रयास पर्याप्त हुन नसक्दा समाजमा अझै हिंसा कायम रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा ओरेक नेपालकी गीता चौधरीले एक वर्षको अवधिमा संस्थामा २०६ जना हिंसा प्रभावितहरू जोडिएको जानकारी दिनुभयो । पीडकलाई सजाय दिलाउनु मात्रै न्याय नभई प्रभावितको कुरा सुनिदिनु, समस्या बुझ्नु र आवश्यक सहयोग गर्नु पनि न्यायको महत्त्वपूर्ण पक्ष भएको उहाँको भनाइ थियो । ओरेकले लैङ्गिक हिंसाविरुद्ध वर्षभरि नै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले प्रभावितलाई विश्वास दिलाएर आफ्ना समस्या व्यक्त गर्न सक्ने वातावरण निर्माण गर्नु संस्थाको प्राथमिकता रहेको बताउनुभयो ।









