दुःख गरे के हुँदैन ? यो शब्द धेरैजसो व्यक्तिको मनमस्तिष्कमा उब्जिरहने शब्द हो । विशेष गरी ती व्यक्तिका लागि जसले जीवनमा सफलता प्राप्त गर्न चाहन्छन् । लक्ष्य पूरा गर्न चाहन्छ । यही सकारात्मक सोचका कारण मानिसले नसोचेको उपलब्धि पनि प्राप्त गर्दछ भन्दा अत्युक्ति नहोला । त्यस्तै एक व्यक्तिले कति कुरामा हात हाल्न सक्छ ? अर्थात् उसको संलग्नता कति ठाउँमा हुन सक्छ ? जीवनको दौरानमा ‘विशेष’ उमेर समूहका व्यक्तिमा यो कौतुहलता पनि जाग्दछ । धेरैजसो व्यक्ति आफ्नो वरिपरिका व्यक्तिको जीवन शैलीबाट प्रभावित हुन्छन् र त्यही प्रभावका कारणले आफ्नो जीवनयापन गर्ने शैली परिवर्तन गर्छन् । त्यस्तै कोही घरपरिवारको सरसल्लाह बमोजिम आफ्नो जीवन शैलीलाई परिवर्तन गरेर जीवनको लक्ष्य निर्धारण गर्छन् । हुन पनि हो लक्ष्यबिना मानिसले सफलता हात पार्न सक्दैन । यसो भनिरहँदा सफलता हात पार्नका लागि कुनै एउटै लक्ष्यलाई लिएर हिँड्नु पर्छ भन्ने पनि होइन । मानिसले लक्ष्यबिनै पनि सफलता हात पारेका उदाहरण हामी सामु प्रशस्त छन् । कुनै एक लक्ष्यलाई पछ्याएर दिन रात त्यसका लागि नै मेहनत गरिरहेका व्यक्ति पनि समय र परिस्थितिले त्यो लक्ष्य छोड्न बाध्य हुन्छन्, बनाइन्छन् । त्यसैले पनि भनिएको होला ‘समय भन्दा बलवान केही छैन’ ।
असफलता र सफलता बीचको बाधक मानिसमा दृढ इच्छा शक्ति, मेहनत र लगनशीलता र धैर्यता नहुनु नै हो । तर जसले जस्तोसुकै परिस्थिति र समय अनुसार आफूलाई परिवर्तन गर्दै इच्छा शक्ति, मेहनत, लगनशीलता र धैर्यतालाई हतियार बनाउँछ त्यो व्यक्ति सफल हुन्छ भन्ने उदाहरण पनि हाम्रा सामु छन् । यही कुरालाई आत्मसात् गरेर सफलताको प्रतिमूर्ति बनेका व्यक्ति हुन् विष्णुबहादुर बुढथापा ।
विष्णुको परिचय यतिमै मात्र सीमित हुँदैन । उनलाई विष्णु ‘बक्सर’ हुँदै ‘बत्ती बा’ का नामले पनि चिन्छन् जुम्लावासी । त्यस्तै एकै थलोमा विभिन्न सात किसिमका व्यवसाय गरेर उनी जुम्लाका व्यापारिक ‘टाइकुन’ समेत बनेका छन् ।
जुम्लास्थित चन्दननाथ वडा नम्बर ३ खलीकोटमा बुबा खरेल भन्ने रणवीर बुढथापा एवम् माता विस्नु बुढथापाको कोखबाट विक्रम संवत् २०२३ सालमा जन्मिएका विष्णुको बाल्यकाल भने त्यति सुखद् रहेन । जन्मँदै बाबुको मृत्यु हुनु र केही अन्तरालपछि आमाले पनि अर्कैसँग विवाह गरेपछि उनको परवरिश त्यति राम्रोसँग भएन । आमाले अन्तै विवाह गरेको केही समय आमासँग बसेका विष्णुको परिवरिशको जिम्मेवारी फूपु रामकुमारी बुढथापाले लिइन् । पारिवारिक कलहका कारण विष्णुको जिम्मेवारी फूपुले लिनु परेको थियो । विष्णुका काका रामकृष्ण बुढथापा पञ्चायतकालमा प्रधानपञ्च हुँदा हुँदै पनि बहुदलका लागि भूमिगत भएपछि फूपु रामकुमारीले उनको जिम्मेवारी लिएकी थिइन् ।
समयसँगै विष्णु परिपक्व हुँदै गए । बाल्यकालबाट किशोरा अवस्थामा पुग्दै गर्दा बक्सिङतर्फ उनी आकर्षित भए । १६ वर्षे उमेरदेखि नै बक्सिङ खेलमा प्रवेश गरेका विष्णुले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनको बक्सिङप्रतिको रुचि र बक्सिङमा पाएको सफलतापछि जुम्लावासीले उनको नामको पछाडि ‘बक्सर’ भनेर सम्बोधन गर्न थालेका हुन् । र उनी विष्णु बुढथापाबाट एकाएक विष्णु ‘बक्सर’ भनेर कहलाइन थाले ।
कलिलो उमेरमै बक्सिङ खेलमा प्रवेश गरेका विष्णुले राप्ती अञ्चलमा बसेर प्रशिक्षण लिने मौका पाएका थिए । तत्कालीन राष्ट्रिय खेलकुद समितिका सदस्य सचिव शरद चन्द्र शाहले विष्णुलगायतका खेलाडीको बक्सिङप्रतिको प्रतिभालाई हेरेर जुम्लाका खेलाडीलाई राप्ती अञ्चलमा लगेर प्रशिक्षण लिने अवसर जुराइ दिए । त्यतिबेला कर्णाली, भेरी र राप्तीका खेलाडीसँग सामूहिक रूपमा प्रशिक्षण गर्दा खेललाई निखार्ने राम्रो अवसर पाएका विष्णु २०४२ सालमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता विरगन्जमा भाग लिने अवसर पाए ।
४८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका विष्णु (२०४३ साल) बुटवलमा हुने ११ औं राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि छनोट भई काठमाडौंमा बन्द सत्रमा पर्न सफल भए । जुन प्रतियोगितामा विष्णु तेस्रो भएका थिए । त्यस्तै (२०४४ साल) काठमाडौंमा हुने १२ औं राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि बन्द सत्रमा परेका विष्णुले त्यतिबेला आप्mनै गल्तीका कारण प्रथम हुँदा हुँदै दोस्रो भएको बताउँछन् ।
आफूबाट भएको गल्तीलाई निरासामा नभई आशामा बद्ल्नु पर्छ भन्ने सोच भएका विष्णुले गल्तीबाट पाठ सिकेर आफूलाई सुधार्दै लगे र अन्ततः नेपालगन्ज (२०४६) सालमा भएको १३ औं राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालकै गोल्डमेडलिस्ट बने ।
त्यस्तै विष्णुले चौथो मैत्रीपूर्ण खेल जसमा चार राष्ट्र सहभागी थिए त्यसमा तेस्रो पोजिसन ल्याए भने उनले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता थाइल्याण्ड र बर्मामा समेत सहभागिता जनाइसकेका छन् ।
जुन क्षेत्रका लागि मानिसले जीउज्यान लगाएर मेहनत गरेका हुन्छन् त्यो कुरा प्राप्तिका लागि अक्सर मानिस जतिबेला पनि छट्पटाइरहेको हुन्छ अर्थात् आफूले रोजेको क्षेत्रमै राम्रो अवसरको खोजीमा हुन्छन् । तर रोचक कुरा के छ भने विष्णुले अन्तर्राष्ट्रिय स्तरमा पाएको अवसरलाई देशप्रेमका लागि त्यागे । आफन्तका लागि त्यागे । साथीभाइ एवम् परिवारका लागि त्यागे ।
कुरा थाइल्याण्डको हो । नेपालको प्रतिनिधित्व गरेर जब विष्णु त्यहाँ पुगे खेलप्रति उनको प्रतिभा देखेर थाइल्याण्डका प्रशिक्षणले विष्णुलाई ५ वर्षका लागि उतै राख्ने प्रस्ताव विष्णुका गुरुलाई राखेका थिए । कलिलो उमेर भएका कारण विष्णुलाई थाइ भाषा सिक्न सहज हुने र उनले थाइल्याण्डमा बसेर बक्सिङको प्रशिक्षण लिए पछि नेपालमा गएर थाइ बक्सिङको विकास गर्ने भन्दै यस्तो प्रस्ताव राखेका रहेछन् । तर जब विष्णुका गुरुले यो कुरा सुनाए त्यतिबेला विष्णुलाई नेपालमा भएका साथीभाइ, घरपरिवारको याद आउन थाल्यो र उनीहरूबाट ५ वर्षका लागि टाढा हुनुपर्छ भन्ने कल्पना गरेर धुरुधुरु रोएका थिए । र त्यो प्रस्ताव सहजै अस्वीकार गरे ।
मानिस जहाँ बस्यो विस्तारै त्यहीको वातावरण मन पराउन थाल्छ, मानिसमा एकप्रकारको वातावरण र समाज अनुसार आफूलाई सहजै परिवर्तन गर्न सक्ने गुण भएकाले सोच परिवर्तन हुन पनि क्षणभरकै समय लाग्छ । त्यही कुरालाई महसुस गरेर विष्णुले मनमा यदि थाइल्याण्डको प्रस्ताव स्वीकारेको भएँ म मेरो देशमा हुन्नथे कि ? ५ वर्षे लामो अवधि त्यहाँ बसेको भएँ म त्यहीको वातावरणमा रम्थे होला । अहिले जसरी आफ्नै देशमा नाम, मानसम्मान पाएको छु त्यो अर्काको देशमा सम्भव हुँदैन्थ्यो जस्ता अनेकथरी कुरा खेलाए र त्यो प्रस्ताव अस्वीकार गरेर आफूलाई आफ्नै पाखापखेरीमा अभ्यस्त गराए ।
क्षमतावान, दक्ष एवम् मेहनती मान्छेलाई जहिले पनि अवसरले पछ्याइ रहन्छ । विष्णुको जीवनमा पनि त्यस्तै भयो । नेपाल बक्सिङ संघ तथा राष्ट्रिय खेलकुद समितिले २०४६ सालमा कर्णालीका लागि बक्सिङ प्रशिक्षकका रूपमा विष्णुलाई छनोट गर्यो ।
२०४५ सालमा दुर्गादेवी न्यौपाने बुढथापासँग लगनगाँठो कसेका विष्णुले केही समय प्रशिक्षकको रूपमा जिम्मेवारी निर्वाह गरे । त्यतिबेलासम्म उनी आफ्नै क्षेत्रसँग सम्बन्धित काममा रमाइरहेका थिए । खेल्दै/खेलाउँदै जीविका निर्वाह गरिरहेका विष्णुको मासिक पारिश्रमिक पनि १५ हजार रूपैयाँ थियो । विस्तारै उनको जेठो छोरा बिकलको जन्म भयो । समयसँगै मानिसको अवस्था र सोच परिवर्तन हुन्छ । बाटो परिवर्तन हुन्छ । लक्ष्य परिवर्तन हुन्छ । इच्छा, आकाङ्क्षा परिवर्तन हुन्छन् । त्यसरी नै विष्णुको जीवन परिवर्तनको एक मोड आयो । २०४६ को अन्त्यतिर बक्सिङ प्रतियोगिताको बन्द सत्रमा जाने क्रममा विष्णुका ससुरा ईश्वरदत्त न्यौपानेले काठमाडौं जान हिँडेका उनलाई १५ हजार रूपैयाँ हातमा थमाइदिए । सधै गेम खेलेर पुग्दैन । सदा शक्तिले साथ दिँदैन । बालबच्चा, घरपरिवारको भविष्यलाई पनि ध्यान दिनु पर्छ । यो पैसाले कुनै व्यवसाय गर्नुहोस् भनेर जब ससुराले हातमा पैसा थमाइदिए त्यतिबेलादेखि विष्णु ‘बक्सर’को सोच परिवर्तन गर्ने, पेसा परिवर्तन गर्ने सेतु बन्यो । उनी बन्द सत्रमा काठमाडौं त गए तर त्यहाँ पनि उनका ससुराले भनेको कुराले मनमस्तिष्कमा जरो गाडेर बस्यो । अर्थात् ‘बक्सर’ विष्णुको खेल यात्राको करिब करिब अन्त्यको सुरुवात थियो यो ।
मानिसको सोच परिवर्तन हुन थाल्यो भने कुनै एक नकारात्मक कुरा मात्रै काफी हुन्छ । त्यस्तै विष्णुको पनि खेलप्रति एक किसिमको वितृष्णा नै पैदा भयो । एकातर्फ ससुराले भविष्यको कुरा गरेर दिएको पैसा र अर्कोतर्फ राष्ट्रले खेलाडीका लागि गरेको विभेदका कारण पनि उनको मन विस्तारै खेलप्रति उडेर गयो । त्यतिबेला देशमा सञ्चार माध्यमका नाममा गोरखा पत्र, एनटिभी र रेडियो नेपाल मात्र भएकाले खेलको अन्तिममा मात्र पत्रकारहरू आएर पत्रिका, टेलिभिजन र रेडियोमा नाम आउँदा विष्णुलाई खिन्नता महसुस हुन्थ्यो । खेलबाट मान–सम्मान पाए पनि राष्ट्रले खेलाडीलाई दिने पारिश्रमिकले पारिवारिक समस्या समाधान नहुने सोचेपछि विष्णुको आफूसँग भएको पैसाबाट खुद्रा पसलबाट व्यवसायिक यात्रा सुरु गरे ।
कुनै पनि कुरामा हात हालेपछि क्रमक रूपमा त्यसलाई बढाउँदै लैजानु पर्छ, त्यसमा सफलता प्राप्त गर्नु पर्छ भन्ने सोच भएका विष्णुले व्यापार व्यवसायलाई बढाउने सोच बनाए । व्यवसाय त बढाउने तर त्यसका लागि पैसा पनि चाहियो । पैसा कहाँबाट पाउने ? ऋण निकालौं भने आफ्नो नाममा जग्गा जमिन पनि छैन । त्यही कुरा मनमा खेलाइरहेका विष्णुको भेट कृषि विकास बैंकका कर्णालीका अञ्चल प्रबन्धक क्षेत्रबहादुर सेजुवालसँग भयो । नातामा काका पर्ने सेजुवालले विष्णुको कुरालाई थाहा पाएर तिमी मेहनती छौं, व्यवसाय गर्छौ भने कृषि विकास बैंकले नागरिकता राखेर ५ हजार रूपैयाँ दिने कुरा सुनाए । यो कुरा सुनेर प्रफुल्ल भएका विष्णुले पत्नी दुर्गा न्यौपाने बुढथापा, कान्तिका सेजुवाल (हाल चन्नदननाथ नगरपालिका मेयर) र आफ्नो नागरिकता राखेर १५ हजार रूपैयाँ ऋण निकाले । अब विष्णुसँग ससुराले दिएको १५ हजार रूपैयाँ र ऋण निकालेको १५ हजार रूपैयाँ मिलाएर ३० हजार रूपैयाँ भयो । पैसा त भयो के गर्ने ? आफ्नो कुरा मानेर व्यवसाय गर्न थालेका ज्वाइँलाई ससुरा ईश्वरदत्त न्यौपानेले खुसी भएर आफूले चलाउँदै आएको लेटर प्रेसको जिम्मा दिए । यसरी ‘बक्सर’ विष्णुको खेल यात्रामा पूर्णबिराम लाग्यो र व्यवसायिक यात्राको शुभारम्भ भयो ।
दृढ इच्छा शक्ति, मेहनत, लगनशीलता र धैर्यता भएरै होला विष्णुले , जहाँ हात हाले त्यहाँ सफलता नै हात पारे । लेटर प्रेसबाट सुरु गरेको विष्णु अहिले जुम्लाका व्यापारिक ‘टाइकुन’ बनेका छन् । विष्णुले समयको माग अनुसार आफ्नो व्यवसायलाई स्तरोन्नति पनि गर्दै लगेका छन् । अहिले विष्णुले चन्दनाथ अफसेट प्रेस, रमा स्टेशनरी, विमान ट्रेडर्स, चन्दननाथ मिनी मार्केट, विष्णु फर्निचर उद्योग, विजय कम्प्युटर र ब्ल्याक स्टान क्याफे पनि संचालन गर्दै आएका छन् । ३० हजार रूपैयाँबाट सुरु गरेको व्यवसायबाट उनले करिब १५ करोड रूपैयाँको सम्पत्ति जोडेका छन् । यसरी एकै थलोमा बसेर सातवटा व्यवसाय चलाउने जुम्लाका एकमात्र व्यवसायी हुन् उनी ।
अभिभावकले सुरुवात गरेको काम वा व्यवसायमा बिरलै सन्तानहरू लाग्छन् । तर विष्णुको काममा सपरिवारले सहयोग गरिरहेका छन् । विष्णुका चार छोरा र एक छोरी छन् । पहिलो छोरा बिन्दुले ब्याचर सकाएर बाबुले स्थापना गरेको फ्ल्याक्स मेसिन हेरेर विष्णुलाई सहयोग गरिरहेका छन् । दोस्रो छोरा सुनिल गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचय पत्र बनाउनका लागि कम्प्युटरमा इन्ट्री गर्ने काम गर्छन् । तेस्रो छोरा बिकल चन्दन्नाथ नगरपालिकामा आइटी अफिसरका रूपमा कार्यरत छन् भने अन्य समयमा बाबुको स्टेशनरी व्यवसायलाई सहयोग गर्दै आएका छन् ।
कुनै समय थाइल्याण्डको प्रस्ताव ठुक्राएका विष्णुले विदेश जाने मनसाय बनाएको कान्छो छोरा बिकलेसलाई ब्लाक स्टोन बेकरीको जिम्मा लगाएका छन् । त्यस्तै १२ कक्षाको परीक्षा दिएर बसेकी छोरी सिम्रणले पनि बाबुको काममा सहयोग गरिरहेकी छन् । यसरी सिङ्गो परिवारले नै काममा सहयोग गरेकाले विष्णुलाई सहजता एवम् आत्मसन्तुष्टि भएको छ ।
ससुराले दिएको १५ हजार रूपैयाँ र पत्नी दुर्गाले साथ र सहयोग एवम् हौसला नदिएको भए व्यवसायिक यात्रा यहाँसम्म नपुग्ने बताउने विष्णु मेहनत, लगनशीलता भए स्वदेशमै थुप्रै अवसर र सम्भावना भएको मान्दछन् । जसले स्वदेशमा केही गर्न सकिँदैन भनेर भारत वा बिदेश जान्छन् त्यस्ता व्यक्तिलाई मुर्खको संज्ञा दिन्छन् विष्णु । जसले हामी बेरोजगार छौं, हामीले काम पाएनौ भन्छन् तिनीलाई ठगको संज्ञा दिने विष्णु दुई चार जना आए आफैंले रोजगारी दिने बताउँछन् । अहिले विष्णुको परिवारलाई छोडेर फर्निचरमा चार जना र छापाखानामा दुई जनालाई रोजगारी दिएका छन् । व्यवसायको आकार ठूलो र जनशक्ति कम भएकाले कर्मचारीको खोजीमा विष्णु रहेका छन् । दक्ष तथा अदक्ष दुवै किसिमका कर्मचारीको खोजीमा रहेका विष्णुले अदक्ष कर्मचारीलाई दक्ष बनाएर रोजगार बनाउने सोच बनाएका छन् ।
व्यापारिक ‘टाइकुन’ विष्णु ’बक्सर’ को सामाजिक यात्रा पनि उत्तिकै रोचक छ । मानिसलाई जे कुराको आवश्यकता छ त्यो कुराले नै पिरोल्ने गर्छ । आवश्यकता परिपूर्तिका लागि चालेको कदमले उनलाई समाजसेवी पनि बनायो । लेटर प्रेस संचालन गरेका विष्णुलाई जुम्लाको अनियमित विद्युतले पिरोल्ने गथ्र्यो । विद्युत नै भएन भने कसरी व्यवसाय गर्ने भनेर रनभुल्लमा परेका विष्णुले आफ्नो व्यवसाय संचालनका लागि चलाएको अभियानले उनलाई समाजसेवी समेत बनायो ।
देशमा प्रजातन्त्रबहाली पछि नेपाल विद्युत प्राधिकरणले जुम्लामा विद्युत वितरणका लागि जल्पा हाइड्रो प्रालि काठमाडौंलाई भाडामा दिएको थियो । ठेकेदार कम्पनीले जुम्लामा विद्युत सेवा राम्रोसँग दिन नसकेपछि रुष्ट बनेका व्यवसायी, नागरिक समाज, पत्रकार र राजनीतिक दलको विरोध पछि ठेकेदार कम्पनी भागेर गयो । त्यसपछि नरबहादुर महतको संयोजकत्वमा ५ जनाको टिमले विद्युत सेवा दिन थालेको थियो । जुन टिममा विष्णुलगायत भानु देवकोटा, लोक दर्शन श्रेष्ठ र गोविन्द शाहीसमेत थिए । मानिसलाई पद लिन सहज छ तर जिम्मेवारी निभाउन कठिन हुन्छ । त्यस्तै भयो । विद्युत सेवा नियमितका लागि अघि बढेका अन्य साथीहरूको निष्क्रियता पछि विष्णु र भानुभक्त मात्र बचे । व्यापार व्यवसायकै लागि भए पनि नियमित विद्युत हुनु पर्छ भन्ने अभियान चलाएका विष्णुको अग्रसरतामा तत्कालीन जुम्लाका सिडियो बलबहादुर मल्लको अध्यक्षमा बसेको बैठकले २०६४ सालमा साना जलविद्युत उपभोक्ता समिति गठन ग¥यो । जसको अध्यक्षमा विष्णुसहित ९ सदस्यीय कमिटी गठन भयो ।
कुनै पनि सपना हेर्न सहज छ तर त्यसलाई साकार बनाउन कठिन छ । लोडसेडिङ मुक्त नगर बनाउन कस्सिएका विष्णु अध्यक्ष बनिसकेपछि पनि लोडसेडिङ मुक्त हुन सकेन । दिनप्रतिदिन बढिरहेका उपभोक्ताका कारण लोडसेडिङ मुक्त सहर बनाउने विष्णुको सपनामा तुषारापात लाग्न थाल्यो । यस विषयले चिन्तित विष्णुले सिएफएल चिमको सहयोगले विद्युत खपत कम गर्ने जुक्ति निकाले । र उनले ११ वाटको सिएफएल चिम प्रयोग गर्न स्थानीय समक्ष अभियान नै चलाए । यसरी जानी नजानी चालेको कदमले विष्णुलाई समाजसेवी बनायो । विष्णुले सिएफएल चिमको अभियान त चलाए तर यसलाई कसरी प्रभावकारी बनाउने भन्ने तर्फ सोचे । अन्य बल्बको तुलनामा सिएफएल चिम महँगो पर्ने भएकाले प्रयोग गर्न स्थानीयले नमानेपछि विष्णुले तत्कालीन जुम्लाका गणपति कर्णेल प्रमोद कार्कीसँग दुई लाख रूपैयाँ सापटी लिएर नेपालगन्जस्थित भारतीय बजार रूपैडिहाबाट सिएफएल चिम खरिद गरेर ल्याए । अत्यधिक विद्युत खपत हुने ठाउँमा ट्राइ फेजका ती चिम विष्णुले बिक्री गरे । विष्णुले आर्मीबाट सापटी मागेर किनेर ल्याएको बल्बलाई नेपाली सेना, प्रहरी कार्यालय र कारागारलाई बिक्री गरे भने अञ्चल अस्पताललाई निशुल्क, बहुमुखी क्याम्पसलाई केही निशुल्क, केही बिक्री गरे ।
यसरी सिएफएल चिमले विद्युत खपत घटाएपछि समितिबाट थप १५ लाख रूपैयाँ लगानी गरेर विद्युतको पहुँचमा भएका १८०० घरधुरी प्रति घरधुरीलाई ३ वटाको दरले निशुल्क चिम वितरण गरेपछि ४ वर्षसम्म जुम्ला लोडसेडिङ मुक्त नगर बनेको थियो । लोडसेडिङ मुक्त अभियान चलाउने विष्णुको यही योगदानको कदर गर्दै उनको नामको अगाडि अर्को शब्द थपियो ‘बत्ती बा’ । विष्णु ‘बक्सर’ विष्णुबाट ‘बत्ती बा’ बनिसकेका थिए ।
समयसँगै दुर्गम जुम्ला सुगममा परिणत भयो । जुम्लादेखि सुर्खेतसम्म जाने बाटो बन्यो । त्यसपछि दिनप्रतिदिन बढिरहेको सहरीकरणसँगै मोबाइल टेलिभिजन जस्ता विद्युतीय प्रविधि सहजै जुम्लामा भित्रिन थाले । त्यसपछि पुनः त्यही समस्या दोहोरियो ‘लोडसेडिङ’ । त्यतिबेला विद्युत उपभोक्ताको संख्या २३०० पुगिसकेको थियो । अब कसरी लोडसेडिङ अन्त्य गर्ने भनेर पिरोलिएका विष्णुले तत्कालीन सभासद् ललितजंग शाहीलाई समाते । शाहीले संसद् विकास कोषबाट २० लाख रूपैयाँ उपलब्ध गराएपछि पाँच लाख रूपैयाँ उपभोक्ता समितिबाट जुटाएर पुनः सिएफएल चिम खरिद गरेका थिए ।
सामाजिक काम गर्नेलाई जहिले पनि आरोप प्रत्यारोप लाग्ने कुरालाई बुझेका विष्णुले पहिलोपटक सिएफएल चिम बाँड्दा स्थानीयबाट आरोपप्रत्यारोप सहनु परेको थियो । त्यही कुरालाई मध्यनजर गर्दै संसद विकास कोषबाट प्राप्त २० लाख रूपैयाँ र उपभोक्ता समितिबाट दिइने ५ लाख रूपैयाँबाट चिम खरिदका लागि जुम्लास्थित जिपी स्टेशनरीलाई जिम्मा दिएर त्यहीबाट २३०० घरधुरीलाई प्रतिघरधुरी ४ वटा चिमका दरले वितरण गरेपश्चात् केही समयका लागि पुनः जुम्ला लोडसेडिङ मुक्त बनेको थियो ।
समयक्रमसँगै २०४० सालमा बनेको मेसिन बिग्रिँदा फेरि जुम्ला अन्धकारमय बन्यो । लोडसेडिङको समस्यालाई बारम्बार समाधान गरेका विष्णुलाई बिजुली उत्पादन गर्ने मेसिननै बिग्रिएपछि अर्को बज्रपात आइलाग्यो । अब के गर्ने ? मेसिननै किन्न सक्ने रकम उपसमितिसँग पनि थिएन । अब विकल्प थियो त केवल नेपाल सरकारको मुख ताक्नु पर्ने अवस्था उनलाई आइप¥यो । तत्कालीन प्रधानमन्त्री खिलराज रेग्मीसमक्ष समस्या दर्शाउँदा विविध कारणवश मेसिन खरिदका लागि रकम निकासा नभएपछि संसद् ललितजंग शाहीलाई लिएर भारतीय राजदूतावासमा उनले समस्या राखेका थिए । राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि स्टिमेटसहित पुगेका विष्णुलाई भारत सरकारले २ करोड ६३ लाख रूपैयाँ दिने सम्झौता ग¥यो । त्यसपछि प्रक्रियागत रूपमा तत्कालीन जिल्ला विकास समितिले मेसिन खरिदका लागि टेण्डर आह्वान ग¥यो । २ करोड ६३ लाख रूपैयाँ भारत सरकारबाट सहयोग पाएका विष्णुले जब जिल्ला विकास समितिले ३ करोड ९ लाखमा टेण्डर स्वीकृत ग¥यो त्यतिबेला रुष्ट बनेका थिए । उनलाई आफूहरूले गरेको स्टिमेट अनुसारनै जिविसले टेण्डर स्वीकृत गर्नु पर्नेमा किन धेरै रकममा टेण्डर स्वीकृत ग¥यो भन्ने प्रश्नले अझै पनि विष्णुको मनमा शंका र उपशंका उब्जने गर्छ ।
समस्या र सङ्घर्षले मानिसलाई परिपक्व बनाउँछ । कुनै पनि समस्यालाई सहजै सामना गर्न सक्ने खुबी भएका विष्णुले मेसिन खरिदका लागि अपुग ४६ लाख रूपैयाँ उपभोक्ता समितिबाट उपलब्ध गराएपछि २०७६ सालमा नयाँ मेसिन जडान भएर जुम्लावासीलाई विजुलीबत्तीको पहुँचमा पु¥याएका थिए । त्यसपछि नेपाल विद्युत प्राधिकरणको कार्यालय जुम्लामा आइसकेपछि विधिवत् रूपमा प्राधिकरणलाई बिद्युत हस्तारण गरेका थिए विष्णुले ।
सामाजिक काम गर्दा पाइने आरोप प्रत्यारोपलाई आशीर्वादको रूपमा लिनु पर्छ भने कमी कमजोरीलाई सुधार्दै लैजानु पर्ने मान्यता राख्ने विष्णुलाई २०४६ सालमा नेपालगन्जमा भएको १३औं राष्ट्रिय बक्सिङ प्रतियोगितामा पाएको गोल्डमेडल चोरी हुँदाको क्षण दुःखदायी एवम् अविस्मरणीय लाग्छ । गोल्डमेडलको बाहिरी आवरण सुनको जलपले बनेको कुरालाई हेक्का नराखी सुन सम्झेर चोरी गर्नेप्रति दयासमेत लाग्छ विष्णुलाई । सरल र मिजासिला विष्णु मनका दयालु पनि छन् ।
कहिँकतै, अभाव भएको मान्छेलाई अभावले कहिल्यै छोड्दैन्, दुःख पाएको व्यक्तिलाई झनै दुःखले गाँज्दै जान्छ र सोही अनुसार उसको मनमस्तिष्क एवम् क्रियाकलाप पनि परिवर्तन हुँदै जान्छ । बाबुको निधनपछि अर्को विवाह गरेकी आमामाथि सौता थपिएपछि आमाले धेरै दुःख पाएको सम्झन्छन् विष्णु । खेल र व्यवसायमा प्रतिष्ठा कमाइसकेका विष्णुले आमाको दुःखलाई हेर्न सकेनन् । बाबुको निधनपछि आमाले अर्को विवाह गर्नुमा मेरै परवरिशका लागि नै हो भन्ने सकारात्मक सोच्ने विष्णुले आमाको मायालाई सम्झिए । आमामाथि सौता ल्याएका बुबाले पनि बाध्यताले नै आमा हेर्न नसकेका होलान भन्ने सोच्ने विष्णुले आमालाई आफूसँगै राखेर सेवा गरे । काठमाडौंसम्म लगेर औषधी उपचार गरेर ल्याएको आमाले विष्णुको घरमै, विष्णुको अगाडि नै देहत्याग गरेकी थिइन् ।
उमेरले ५५ वर्ष पुगेका विष्णु अहिले पनि उत्तिकै जागरिला र सुरिला छन् । खेल जीवनलाई पूर्णबिराम लगाएर पनि सामाजिक क्षेत्रका ‘बत्ती बा’ एवम् व्यवसायिक क्षेत्रका ‘टाइकुन’ बन्न सफल विष्णुको जीवनलाई नियाल्दा हृदयले भन्छ, ‘दुःख गरे के हुँदैन ?’