भुकम्पमा विशेषज्ञ डाक्टरको अनुभब

डाक्टर राम बहादुर बिष्ट

रातको करिब १२ बजेको थियो । चिर निद्रामा जमिन थर्कियो, घर हल्लियो अनि निन्द्राबाट बिउँझिदा भुकम्प गएको रहेछ । हत्तपत्त कोठाबाट बाहिर निस्के, चारै तिर होहल्ला चलेको थियो । केही बेर बाहिरको बसाई पछि कोठामा गएर सुतें । बिहानको समयमा थाहा भयो, भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो मानबिय क्षती भएको र जनजिवन तहसनहस भएका सुने । अनि हामी जिल्ला अस्पताल दैलेखबाट स्वास्थ्य जनशक्ति, औषधी र एम्बुलेन्स लिएर हतार हतार जाजरकोट तिर लाग्यौं । मन छट्पटिएको थियो, भारी भएको थियो लगभग दिनको २ बजे तिर जाजरकोट जिल्ला अस्पताल पुग्यौं । सबैतिर सन्नाटा छाएको थियो ।

सबैको अनुहार मलिन थियो, घाइतेहरु कोही आकस्मिक कक्षमा त कोही वार्डमा भर्ना हुनुभएको थियो । सिकिस्त बिरामीलाई रिफर गरीएको थियो । पोष्टमार्टम घरमा लासको चाँङ थियो । राहतहरु लिएर आउने क्रम जारी थियो र अवस्था धेरै दर्दनाक थियो । मन मनै सोंचे बिचरा यिनी निर्दोष ब्यक्तिहरुको के दोष थियो र ? के पाप गरेका थिए होलान ? प्रकृती ले पनि ठगेर गयो, हामी दुखेको मनलाई सम्हाल्दै आफूले सकेसम्म सबै तिरको जानकारी लियौं । घाइते बिरामी लाई अन्य चिकित्सक संग मिलेर उपचार गर्याैं । भुकम्पको केन्द्रविन्दु धेरै टाढा भएको र स्वास्थ्यकर्मी तथा राहत नपुगेको जानकारी पायौं । उक्त स्थानमा जानलाई ढिला भैसकेको थियो । हामी खलङ्गा बजार तिर लाग्यौ ।

पुराना कच्ची माटाका घरहरु लगभग पुरै भत्केका थिए । बाटामा धेरै घाइतेहरुलाई भेट्यौ र अस्पतालको सहकार्यमा उपचार गर्याैं। अवस्था धेरै नाजुक थियो । धेरै मानिसका आ—आफना गुनासाहरु थिए । कसैले राहत पाएनौं, कसैले सरकार कहाँ छ भनिरहेका थिए त कसैले घरभित्रका सामान कसरी झिक्ने भनेर गुनासो गर्दै हुनुहुन्थ्यो । मर्ने मरेर गैसके बाँचेकाहरुको अवस्था ह्रदय बिदारक थियो । उनिहरुमा आक्रोस सँगै रोधन प्रस्ट देख्न सकिन्थ्यो । सम्मालिएर बस्नुपर्छ, भाग्यले तपाईहरु बाँच्नु भयो ।

आफुलाई मन दह्रो गरेर बस्नुहोस हामि छौँ नि भनेर सम्झायौं अनि अस्पताल फर्कियौं । भुकम्प प्रभावित क्षेत्रमा हामिले गर्न सक्ने कार्यहरुको योजना बनायौं । साथसाथै विभिन्न स्थानबाट राहत बोकेर आउनेहरुलाई आफुले देखेका र सुनेका अनुभवहरु प्रदान गर्याैं। अनि भोलीपल्ट प्रत्यक्ष पिडित संग भेटेर दुखेको मनमा मलम पट्टी लगाउने उद्देश्यका साथ हामी गाँऊ तिर लाग्यौँ । गाँउको अवस्था बाहिरबाट सुनेको भन्दा फरक थियो । मानिसहरु सबै घर बाहिर बसेका थिए । कोही त्रीपाल मुनी त कोही कपडा बेरेर कोही खुल्ला आकाश मुनी क्षतीग्रस्त थिए । शौचालयको ब्यवस्था पनि थिएन । कोही ट्याक्टरमा त कोही काँधमा बोकेर दाउरा ओसार्दै थिए । लास जलाउनका लागि युवाहरु त खोजेर पाउनै मुस्किल ।

सबैका आ–आफ्ना दुख ब्यथा अनि बाध्यता थिए । धेरैका हात खुट्टा र ढाडमा चोटपटक लागेका थिए त कसैको अनुहार भरी चोट लागेको थियो । हामीले आफुले लगेका औषधीहरु सहयोग गर्याैं । घाउहरु सफा गर्याैं । मलम पट्टी लागायौँ, दुखाई कम गर्ने औषधी दियौँ । सिकिस्त बिरामीहरुलाई जिल्ला अस्पतालमा उपचारका लागि पठायौँ । रोगहरु नफैलियोस् भनेर सरसफाई सम्बन्धी जनचेतना फैलायौं । बिद्यालय वरपर शौचालयका लागि शिक्षकहरु संग समन्वय गरेर प्रयोग गर्न लगायौँ । अन्य क्षेत्रमा शौचालय निर्माणका लागि समन्वय गर्याैं ।

आमा समुह, शिक्षक, स्थानीय बासिन्दा र नेताहरुसंग भेटघाट गरेर स्वास्थ्य सम्बन्धी तत्काल गर्न सक्ने कार्यहरुको बारेमा जानकारी गरायौं । बिशेषत बच्चाहरु र बृद्धाहरुलाई निमोनिया नहोस् र अन्य रोगहरु नफैलीयोस् भनेर सचेत गरायौं । हामीले हामीसंग जे स्वास्थ्य सामाग्री थियो, प्रदान गर्याैं । जे सीप सिकेका थियौं , सहयोग  । यसरी लामो बसाई पछि आफ्नो कार्यक्षेत्र फक्र्यौं ।

कता कता मन भारी भएको थियो । भुकम्पले थला परेको त्यो गाँऊबस्तीमा गएर फेरी पनि सहयोग गर्न पाएको भए हुने थियो भनेर मनमनै सोच्ने गर्थें । संयोगले भनौं या संजोगले फेरी पनि जाजरकोट जाने मौका मिल्यो । ९ दिन लामो यात्रामा हामी फेरी स्वास्थ्य सामाग्री बोकेर बिशेषज्ञ चिकित्सकहरुको टोली सहित जाजरकोट लाग्यौं । बिशेषज्ञ चिकित्सकहरुको टोलीमा हाडजोर्नी रोग बिशेषज्ञ, फिजिसियन, मनोचिकित्सक र प्रसुती तथा स्त्री रोग बिशेषज्ञ सामेल थियौं, साथै एकजना मेडीकल अधिकृतका साथसाथै ३२ जनाको टिम सामेल थियो ।

हामीले पहिलो दिन पिपेमा शिबिर राख्यौँ लगभग ५०० जनालाई सेवा गर्याैं  । धेरै अपाङ्गता अंगभङ्ग भएकालाई ह्वील चिएर, लठ्ठीहरु प्रदान  गर्याैं । महिलाहरुको चेक जाँच गर्याैं, उपचार गर्याैं । धेरै व्यक्तिहरुलाई मनोपरामर्श दियौं । चिसो मौसम पालको बसाई, सरसफाईको कमिले र धुलो धुवाँले गर्दा निमोनिया दम र रुघाखोकीका बिरामीहरु धेरै थिए । उपचार परामर्श दियौं ।

दोस्रो दिन नलगाढको दल्लिमा स्वास्थ्य शिविरका लागि प्रस्थान गयौं । नलगाढको शिविरमा पनि आफ्ना सिपहरुको माध्यमबाट लगभग ४०० जना लाई सेवा दिएर तेस्रो दिनको शिविरकालागि बारेकोट तिर लाग्यौं । जहाँ भुकम्पको उद्गम थलो थियो । बारेकोटको शिविर अन्य शिविर भन्दा फरक रह्यो । लगभग एक हजार जनाले स्वास्थ्य सेवा लिनु भयो । अन्य शिविर भन्दा लगभग दोब्बरको संख्यामा उपस्थिति थियो । सबैका आआफना दुःख पिर मर्काहरु थिए । भुकम्पले घरहरु क्षतिग्रस्त थिए ।

टेन्टको बसाई थियो । जंगल नजिकको बसाईले रातमा जंगली जनावरको डर थियो । युवा शक्तिको खडेरी परेको उक्त ठाउँमा अन्य ठाउँ जस्तै केटाकेटी, महिला र जेष्ठ नागरिकहरु धेरै देख्यौँ । भुकम्पमा भाग्ने क्रममा अपांग भएका व्यक्ति धेरै भेट्यौं । साथसाथै कोही रुखाबाट लडेका त कोहि भिरबाट अनि कोहि जन्मजात अपाङगता भएका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री प्रदान ग¥यौं । उच्च पहाडि भेग भएकोले होला चिसो धेरै थियो । चिसोले धेरै व्यक्तिहरु बिरामी भएको थिए ।

हामिलाई भेटनाका लागि ८/९ घण्टा टाढाबाट आएको देख्दा मन भारी भयो । हामिले सक्ने जति सहयोग, सल्लाह दियौं । त्यो रात विद्यालयमै बस्ने निर्णय गर्यौ । शरीर थाकेको थियो । त्यहाँको गाँउले जिवन दुःख कष्टको अवस्थाले मन भारी भएर आयो । गरिबले सधै झेलिरहने जाजरकोटका दुर्गम ग्रामिण बस्तिहरु हामीले बाहिरबाट सुनेका, देखेका भन्दा धेरै फरक पायौं । दुई छाक खान पनि मुस्किल पर्ने यहाँका मानिसहरुलाई ५ देखि ६ घण्टा टाढा सदरमुकाम सम्म आउन पनि गाह्रो छ । अशिक्षा, बेरोजगार, चेतनाको कमि र गरिबिले थला परेका बारेकोट बासीलाई भुकम्पले पिडाको घाउमा नुनखुर्सानी थपेको छ । हामिले अरु के नै पो दिन सक्थ्यौं र आफुसँग भएका स्वास्थ्य सामग्री वितरण गर्ने, सम्झाउन र सल्लाहा सुझाव दिन बाहेक !!! अर्काे दिन हामी रुकुम पश्चिमको आठविसकोटको राडि जिउलामा एक दिनको शिविर सञ्चालन ग¥यौं । दल्लिको हाराहारीमा सेवा प्रदान गर्याैं । जिल्ला फरक भएता पनि कला संस्कृति, रहन सहन, भेषभुषा समान थिए ।

जीवन स्तर बारेकोट भन्दा अलि माथि रहेको पायौं । उक्त स्थानमा पनि धेरै मानिसहरु भुकम्प बाट पिडित थिए । धेरै मानिसहरुको मृत्यु भएको रहेछ । कसैकसैको हात खुट्टा त कसैको काँधमा चोटपटक लागेको थियो त कसैको टाउकोमा चोट लागेको थियो । ज्वरो, रुघाखोकी, निमोनिया र दमका धेरै विरामी थिए र उहाँहरुको उपचार पनि ग¥यौं । उपचारको क्रममा एकजना सुत्केरी आमासँग भेट भयो । उहाँले आँखाबाट पिलपिल आशु झार्दै आफना दुःख सुनाउनु भयो । उहाँको दुई वटा छोरी र श्रीमान भुकम्पबाट वित्नु भएछ । पेटमा ८ महिनाको बच्चा भएको र सोही बेला भाग्ने क्रममा पेटमा चोट लागेर मृत्यु भएछ । घर पनि भुकम्पले भत्काएको थियो । ब्यथा सुनेर मन निकै भारी भयो । हामीेले सम्झायौ , मनोपरामर्श दियौं । खुट्टामा घाउ पनि थियो । उहाँको घाउ सफा गर्याैं मलमपट्टी लगायौं र औषधी दिएर पठायौं ।

यस्ता थुप्रै घटना घटेका हुन जुन शब्दमा प्रस्तुत गर्न निकै कठिन हुन्छ । त्यसपछि अर्को दिन सानीभरीमा एक दिनको स्वास्थ्य शिविर गर्याैं र भोलीपल्ट गाडीको यात्रा गरेर कुसे गएर बस्ने अनि अर्को दिन कुशे गा.पा.को छरंगामा शिविर राख्ने निर्णय थियो । रुकुम पश्चिमको सानीभरी गा.पा.बाट छेडाघाट पुग्यौँ । १०–१५ जना बिरामीको उपचार गरेर कच्ची धुलाग्ने बाटो देखी थलाह पुग्यौँ । अनि छेडाघाटको पुल तरेर उकालो लाग्यौं । हिलाम्मे सडकमा औषधी बोकेको ट्रक फस्यो । लगभग ३ घण्टा पछि ट्रक निकालेर यात्रामा लाग्यौं । रातीको ११ बजि सकेको थियो । कच्ची बाटो खराब भएका कारण बाटोमा बास बस्नुको बिकल्प थिएन अनि एउटा सानो घरमा गएर बास माग्यौं । हामी सबैजना थाकीसकेका थियौँ ।

धुलाम्मे सडकको लामो यात्रा र चिसोले शरिर थाकेको थियो । रुघाखोकी र ज्वरोले शरीर सिथिल भइसकेकोे पत्तै भएन । जे भएपनि त्यो रात कटाउनुको बिकल्प थिएन । चिसो अत्यधिक थियो । पानी झनै चिसो थियो जसोतसो खाना खायौँ ।

थाकेको शरिर लाई आराम दिनुप¥यो, सुत्नका लागि ब्यवस्था थिएन, पुरानो कुखुराको खोर अनि वरपर खुल्ला दिशा पिसाब गर्ने ठाँउ रहेछ हामी त्यसैमा सिलिपिङ ब्याग लिएर रात कटायौं । भोलीपल्ट बिहान रुघाखोकी र ज्वरोले झन झन च्याप्दै गयो यो अवस्थामा घर फर्कौ भने सयौं बिरामीले मलाई कुरेर बसेका छन् कसरी फर्कौं ! ! ! अन्तत घरङगा पुग्यौं । सकीनसकी स्वास्थ्य शिबिर सकियो २/३ हप्ता देखी पोस्ट ट्रमाटीक स्ट्रेस डिशअडर (PTSD) ले पात खसेपनी पात हल्लीएपनि भूकम्प गएको आभाष भैइरहेको थियो । कार्यक्रम समापन भयो । समापन को क्रममा २ वटा कुरा राखेर बिदा भएँ । पहिलो हाम्रो मुटु बलियो थियो र पो हिम्मत, साहस र धैर्य भएर यति लामो स्वास्थ्य सिबिर सम्पन्न भयो । दोश्रो हामी संग मन थियो र त पो हामीले तिँ भाँचीएका, ढलेका,दुखेका मनहरुलाई मलमपट्टी लगाएर उठाउने प्रयास गर्याैं ।

(डा.राम बिष्ट प्रसुती तथा स्त्री रोग बिशेषज्ञका साथै बास नेपाल का सक्रिय सदस्य हुन् ।)

 

 

  • ५ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech