घरेलुको चुनावमा लफडा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके नयाँ नेतृत्व चयनमा लफडा भएको छ ।

मंसिर ११ गते शुरु भएको महासंघको २५ औं साधारण सभा तथा १३ औं अधिबेशनबाट नयाँ नेतृत्व छनौट गर्ने क्रममा समस्या सृजना भएको हो ।

बिबादै बिबादको भुमरीमा रहेको महासंघको साधारण सभा उद्घाटन शत्र सकिए सँगै बन्दशत्रबाट शुरु भएको बिबाद अधिबेशन शुरु भएको तीन दिन बितिसक्दा समेत समाधान हुन सकेको छैन ।

मंगलबार उद्घाटन सकिएसँगै शुरु भएको बन्द शत्रमा पेश भएको लेखापरीक्षण प्रतिबेदनका बिषयमा चर्काे आलोचना भएको थियो । उक्त प्रतिबेदन मान्यता प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण नगराई अध्यक्ष, कोषाध्यक्ष, लेखापरीक्षकको हस्ताक्षर बिनाको प्रतिबेदन बितरण गरिएको भन्दै कार्यक्रममा बिरोध भएपछि निर्वाचन प्रकृया र बन्दशत्र अवरुद्ध भएको थियो ।

पहिलो दिन लेखापरीक्षण प्रतिबेदनको बिबादसँगै बर्तमान अध्यक्ष मधु खड्कालाई कोहलपुर उपशाखाले प्रतिनिधि नपठाएपछि खड्काले उपशाखाको नविकरणनैं हुन नदिएपछि अर्काे समस्या सृजना भएको थियो । प्रतिनिधि बिबादसँगै पहिलो दिनको निर्वाचन स्थगित गरि पछिल्लो दिन बुधबार बिहान ११.०० बजेका लागि निर्वाचन तोकिएको थियो ।

नेतृत्व चयनमा चरम राजनीति हुँदा बुधबार पनि निर्वाचन प्रभावित भयो । नेपाली काँग्रेस, एमाले र माओवादीका जिल्ला स्तर नेताहरु आआफ्ना कार्यकर्ता र समर्थकलाई जिताउन कसरत गरिरहेकोमा एमाले र नेपाली काँग्रेसले गठबन्धन बनाएका थिए । यद्यपी उम्मेद्धारी पर्दा सो गठबन्धनको सहमति बमोजिम हुन सकेन ।

बर्तमान नेतृत्व र माओवादीको समर्थनमा बर्तमान महासचिव जिआर भुसाल अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् भने एमाले नेता महासंघका पूर्ब कार्यबाहक अध्यक्ष समर बहादुर खत्री अध्यक्ष पदका लागि चुनाबमा होमिएका छन् । उनलाई नेपाली काँग्रेसको समर्थन छ, अध्यक्ष एमालेलाई दिएको काँग्रेसले अन्य पद बार्गेनिंग गरेर लिएको छ ।

मंसिर १३ गते बिहिवार पनि सहमतिको प्रयास नभएपछि निर्वाचनको कार्यक्रम अघि बढ्यो तथापी निर्बाचन भने बिहिवार पनि हुन सकेन । निर्वाचनलाई शुक्रवार सारिएको छ ।

प्रमुख निर्वाचन अधिकृत बिकाश आचार्यका अनुसार, उपाध्यक्ष पदका उम्मेद्धार सन्त बहादुर खत्री, महासचिव पदका उम्मेद्धार फहिमुद्धिन खाँ र सचिव पदकी उम्मेद्धार सुजाता खरेल बिरुद्ध उजुरी परेपछि उनीहरुको उम्मेद्धारी खारेज भएको छ । यद्यपी उनीहरुले सो कुराको बिरोध गर्दै सूचना च्यातिदिएका छन् ।

समितिका अनुसार, अध्यक्ष पदका लागि समर बहादुर खत्री र गिरिराज भुसाल (जिआर) बिच चुनावी प्रतिष्पर्धा हुने भएको छ भने बरिष्ठ उपाध्यक्ष पदका लागि किरण कुमार कार्की र ज्योतीलाल भण्डारी बिच प्रतिष्पर्धा हुने भएको छ । अन्य सबै पदमा निर्वाचन नहुने भएको छ । अधिबेशनबाट उपाध्यक्षमा राजु लम्साल, महासचिवमा दिपकराज भण्डारी, सचिवमा नन्दकली कँडेल (खरेल), कोषाध्यक्षमा हुमाशंकर ओली निर्विरोध निर्वाचित भएका छन् । यसै गरि निर्विरोध निर्वाचित हुने सदस्यहरुमा सफि मोहम्मद गुजर, डिलाराम शर्मा पौडेल, सलिल खड्का, सुमन धिमाल, जित प्रसाद कँडेल, मोहन रिजाल, रुद्र बहादुर कँडेल, ईन्द्र बहादुर खत्री, अर्जुन कुमार चौधरी, माधव प्रसाद रिजाल, अजय कुमार बर्मा, बिधान न्यौपाने, सिमिता राणा र अर्चना घिसिङ रहेका छन् ।

बिद्यान बिपरित गैर उद्योगि, व्यापारीहरुलाई सदस्यता बितरण गरि प्रतिनिधि पठाएको भन्दै बिहिवार अवेर सम्म निर्वाचन स्थलमा बिबाद भईरहेको थियो ।

  • १३ मंसिर २०८१, बिहीबार प्रकाशित

  • Nabintech