नेपालगञ्ज, साउन १२/ सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तीर्थस्थल बुढीनन्दा माताको मन्दिरमा यस वर्षको धार्मिक मेला श्रावण २० देखि २४ गतेसम्म लाग्ने भएको छ। बाजुराको बुढीनन्दा नगरपालिका बाट ४५०० मिटरको उचाइमा अवस्थित यस मन्दिरमा जनै पूर्णिमाको अघिल्लो दिन विशेष पूजा, अनुष्ठान र भक्तजनहरूको भीड लाग्ने परम्परा रहँदै आएको छ। हिमालि गाउँपालिका वार्ड न ७ बाधु देखि पनि यात्रा शुभारम्भ गर्न सकिन्छ।

बुढीनन्दा माता भगवतीका नौ वहिनीहरूमध्ये जेठी वहिनीको रूपमा पूजिएकी देवी हुन्। यहाँ बर माग्न आउने तीर्थयात्रीहरूको सन्दर्भमा एक प्रसिद्ध भनाइ पनि छ: “बर माग्न बुढीनन्दा जानु, राम हेर्न बडिमालिका जानु।”
प्रत्येक वर्ष साउन महिनामा देशका विभिन्न स्थानबाट श्रद्धालुहरू यहाँ पुग्ने गर्छन्। मन्दिरको धार्मिक महत्त्वसँगै, आसपास रहेका सातवटा हिमताल, पाटन, भेडा–घोडा–भैंसीका बथानहरू, अनि हिमाली भूगोलले पनि पर्यटकहरूलाई आकर्षित गर्दै आएको स्थानीयवासी बताउँछन्।
तीर्थयात्रीको बढ्दो चासो
बुढीनन्दामा पुग्न कोल्टी, मार्तडी, वा पिलुचौरसम्म यातायात सुविधा उपलब्ध भए पनि अन्तिम चरणमा पाँच दिनको पैदल यात्रा गर्नुपर्ने भएकाले यात्राको पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने स्थानीय प्रशासनले जनाएको छ।

बुढीनन्दा पुग्ने प्रमुख रुटहरू :
काठमाडौं–नेपालगञ्ज–कोल्टी → विमान वा गाडीमार्ग → कोल्टीदेखि पैदल
काठमाडौं–धनगढी–मार्तडी → गाडीमार्ग → मार्तडीदेखि पैदल
काठमाडौं–सुर्खेत–पिलुचौर → गाडीमार्ग → पिलुचौरदेखि पैदल
→ सबै मार्गमा जाँदा–आउँदा गरी कम्तीमा ५ दिनको पैदल यात्रा आवश्यक पर्छ।
यात्रामा साथमा लैजानुपर्ने सामग्रीहरू :
यात्रा दुर्गम, चिसो र हिमाली भूगोलमा पर्ने भएकाले यात्रुहरूलाई निम्न सामग्री साथमा लैजान सिफारिस गरिएको छ:
न्यानो लुगा (ज्याकेट, थर्माकोट, टोपी, पञ्जा)
छाता, रेनकोट, लठ्ठी, म्याट, स्लिपिङ ब्याग, टेन्ट
स्पोर्टस् जुत्ता, औषधी, ड्राइफुड, सातु, चकलेट, अचार
देवीका लागि पूजा सामग्री (धातुका पूजासामग्री, धूप–दीप)
स्थानीय सरकार र सुरक्षा निकायको तयारी :
मेला अवधिभर बुढीनन्दा क्षेत्रमा सुरक्षा व्यवस्था, स्वास्थ्य सुविधा र यात्रु व्यवस्थापनका लागि स्थानीय निकाय, प्रहरी प्रशासन र स्वयंसेवी संस्थाहरूको सहकार्यमा आवश्यक तयारी भइरहेको बाजुरा प्रशासनले
जनाएकोछ।











