बागेश्वरी मन्दिर सरसफाईमा पुगेन कसैको आँखा : व्यवस्थापनप्रति गम्भीर प्रश्न

पवनराज उपाध्याय

नेपालगञ्ज, साउन १० गते

नेपालगञ्ज  उपमहानगरपालिका–२ मा अवस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा लामो समयदेखि फोहोर व्यवस्थापन नहुँदा वातावरण दुर्गन्धित हुन थालेको छ। मन्दिर परिसरको सौन्दर्यमा प्रत्यक्ष असर पर्नुका साथै श्रद्धालु तथा साधु–सन्तसमेत असहज अवस्थामा बस्न बाध्य छन्।

मन्दिर परिसरको ऐतिहासिक तलाउमा प्लास्टिकका बोतल, झारपात, काठपात, फलफुलका बोक्रा जथाभावी फालिएकाले पानी प्रदूषित भएको छ। साथै तलाउ वरपर घाँस तथा झार उम्रिएको छ। स्थानीयवासीले बारम्बार सरसफाइको माग गर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको आरोप लगाइएको छ। स्थानीय पण्डित भोजराज खनालका अनुसार, “तलाउ वरिपरि पैदल ओहोर–दोहोरको बाटो बनाइएको छ, तर तलाउ सफा गर्नेमा कसैको ध्यान छैन।

” ज्योतिष गौरीशंकर शर्माले समेत यस विषयमा गुनासो गर्दै भने, “हामीले नेपालगञ्ज उपमहानगरपालिका र मन्दिर गुठी व्यवस्थापन समितिलाई पटक–पटक खबर गर्यौं, तर आश्वासन मात्र पाइयो, कार्य भने हुन सकेन।” मन्दिर गुठी तथा व्यवस्थापन समितिको मौनताका कारण मन्दिरमा आएका श्रद्धालु, पर्यटक र साधु–सन्तहरुले असहज महसुस गरिरहेका छन्। एकजना साधुले दुखेसो पोख्दै भने, “धार्मिक स्थलमा शुद्धता र शान्त वातावरणको अपेक्षा हुन्छ, तर यहाँ दुर्गन्ध र गर्मीले तपस्यामा समेत बाधा आइरहेको छ।”

मन्दिर शक्तिपीठको रूपमा नेपाल मात्र होइन, सम्पूर्ण विश्वका सनातन धर्मावलम्बीका लागि आस्था र श्रद्धाको केन्द्र हो। यस्ता पवित्र स्थलमा फोहोर थुप्रिँदा मन्दिरको धार्मिक गरिमा र पर्यटकीय महत्त्वमा आँच पुग्ने स्थानीयहरूको चिन्ता छ। यस अवस्थाको स्थायी समाधानका लागि नेपालगञ्ज उपमहानगरपालिका, मन्दिर व्यवस्थापन समिति र गुठी संस्थानले समन्वय गर्दै तत्काल सफा, शुद्ध र व्यवस्थीत वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ।

  • १० श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech