कृषि नारामा मात्रै होइन, बजेटमा पनि सम्बोधन गर्छौं : मुख्यमन्त्री आचार्य

असल शासन प्रतिनिधि

दाङ /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखबीच साझा सवालहरू विषयक अन्तरक्रिया कार्यक्रमलाई बिहीबार लमहीमा सम्बोधन गर्दै उनले कृषि नीतिमा प्राथमिकता पाउने तर बजेटमा नपर्ने समस्यालाई अब समाधान गर्दै आगामी वर्षदेखि सुनिश्चित बजेट व्यवस्था गरिने बताए हुन् ।

मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। तीन तहका सरकारको ध्यान पूर्वाधारमै सीमित भएको् बताउदै जनतालाई उत्पादनसँग जोड्ने गरी कार्यक्रम बनाउनपर्नेमा आचार्यले जोड दिए । मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ नजिक बनाउने प्रयास भइरहेको बताउँदै साझा कार्यक्रमको विकासमार्फत अघि बढ्ने लक्ष्य रहेको बताए ।

मुख्यमन्त्री आचार्यले प्राथमिकताको आधार निर्धारण गरेर प्रदेश सरकार अघि बढेको जानकारी जानकारी दिदै छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय सरकारसँग साझेदारी गर्ने, पातपतिङ्गरबाट कम्पोस्ट मल उत्पादन गर्ने, अर्गानिक उत्पादनमा जोड दिए ।

मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख सचिव ईश्वरराज पौडेलले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्य र समन्वयलाई नयाँ उचाइमा पुर्याइने बताए ।

  • २६ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • Nabintech