संस्कृति संरक्षणमा जीवन समर्पण गरेका उपाध्याय सम्मानित

असल शासन प्रतिनिधि

नेपालगन्ज/ धर्म, संस्कृति, साहित्य, कला, इतिहास, पर्यटन तथा लेखनका माध्यमबाट समाजमा चेतना विस्तार गर्दै मौलिक लोकसंस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका दिपचन्द्र उपाध्याय हिमाली गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सम्मानित हुनुभएको छ ।

लोकवार्ता परिषद् नेपालको आयोजनामा बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा सम्पन्न १५औँ राष्ट्रिय लोकवार्ता सङ्गोष्ठीका अवसरमा उपाध्यायलाई धर्म, संस्कृति, साहित्य तथा मौलिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो ।

नेपाली लोकसंस्कृति, लोकसाहित्य, परम्परागत ज्ञान, सीप, कला तथा मौलिक सम्पदाहरूको अध्ययन, अनुसन्धान, संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित उक्त राष्ट्रिय सङ्गोष्ठीमा देशभरका प्रतिष्ठित लोकसंस्कृतिविद्, प्राज्ञिक व्यक्तित्व तथा अनुसन्धाताहरूको सहभागिता रहेको थियो ।

सङ्गोष्ठीमा बाजुराको ऐतिहासिक तथा मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेका मागल, चाचरी, मुजेरा खेल, दमाहा नाच, बालो नाच, छैट, श्रीपञ्चमी लगायतका परम्परागत संस्कृति र लोकपरम्पराको संरक्षणका विषयमा विशेष चर्चा गरिएको थियो ।

लामो समयदेखि शिक्षा, साहित्य, लेखन, सामाजिक चेतना र नेपाली मौलिक संस्कृतिको संरक्षणमा सक्रिय रहँदै आउनुभएका उपाध्यायले स्थानीय भाषा, संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको छ ।

उहाँको सम्मानले बाजुराको मौलिक संस्कृति संरक्षणमा क्रियाशील व्यक्तित्वहरूको योगदानको कदर हुनुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, कला, साहित्य र संस्कृतिप्रति जागरुक बनाउन प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

  • ७ मंसिर २०८३, आईतवार प्रकाशित

  • Nabintech