– दिला शाह –
भनिन्छ साहित्य समाजको दर्पण हो भने युवा यो देशको संवाहक । साहित्य त्यो मसी हो जसले सजिलै देश काल परिस्थिति र समाजको बस्तु स्थितीको बारेमा लेखेर उजागर गर्न सक्छ भने युवा पुस्तानै विश्व जनसंख्याको सर्वाधिक सक्रिय उर्जावान र गतिशील समूह हो । युवानै मानव संसाधन बिकासको प्रमुख माध्यम हुन् । साहित्यले देश काल परिस्थिति त्यहाँको भौगोलिक बिबिधता, साहित्य कला, समाजशास्त्र र संस्कृति बारे जानकारी दिलाउन ठूलो भुमिका खेलेको हुन्छ । साहित्यकार अर्थात लेखकले लेखिएका कुराहरूले पाठकहरुको मनमा उत्पन्न गर्ने तरंग र मनोभावनाले धेरै ठूलो भुमिका खेल्नसक्छ । तसर्थ साहित्यले युवा बर्गमा धेरै ठूलो महत्व राख्दछ भन्ने कुरा निश्चित छ ।
विश्व साहित्यको दाँजोमा अहिले पनि नेपालमा त्यति उत्कृष्ट युवा वा किशोरकिशोरी प्रति लक्षित साहित्य लेखिएको छैन भन्ने गुनासो यदाकदा सुनिन्छ । युवा पाठकहरुले राम्रो साहित्य अध्ययन गर्नको लागि अझैपनि अंग्रेजी साहित्य र अन्य भाषामा लेखिएका किताबहरुको खोजि गर्नुपर्छ भन्ने गुनासो पनि सुनिन्छ । पछिल्लो समयमा केही युवा लेखकहरुले युवा लक्षित साहित्य श्रृजना गरेता पनि ती, पुस्तकहरु क्षणिक आनन्द र मनोरञ्जनमा केन्द्रीत भएका छन् भन्ने केही साहित्य अनुरागीहरुको भाव छ । यो देशमा बिधमान बेरोजगार, बढ्दो बैदेशिक रोजगारी, राजनीति, सामाजिक, मनोबैज्ञानिक, धर्म संस्कृति जस्ता अत्यन्तै महत्वपूर्ण बिषयहरुलाई समेटेर साहित्य लेखिन जरुरी छ । कति लेखिएका बिषय बस्तुहरु पनि गहिराइ सम्म पुग्न सकेका छन् कि छैनन् अब सोच्न जरुरी छ ।
भनिन्छ पुस्तक नै मानिसको सबैभन्दा प्रिय साथी हो । जसले बिना कुनै स्वार्थ निर्वाध रुपमा ज्ञान हाँसिल गराईरहन्छ । जुन साथीसँग कहिल्यै नराम्रो हुदैन । पुस्तक एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण गर्ने गतिलो माध्यम पनि हो । मानव सभ्यतालाई जिवित राख्न र परिस्कृत गर्न पुस्तकलेनै ठूलो भुमिका खेलेको हुन्छ । युवाहरुलाई लक्षित गरेर एकदमै उर्जावान साहित्यहरु लेखिन जरुरी छ । एकथरी युवा जमात गलत बाटो तर्फ लम्किरहेको यो भयावह स्थितिमा साहित्य, कला, भाषा, संस्कृति रहनशहन, पुर्खाको योगदान, भौगोलिक अवस्थाको बारेमा जानकारीमुलुक राम्रा साहित्यहरु लेखिनुपर्छ । अझ भनौ युवाहरुलाई नै साहित्य श्रृजना गर्ने बाटो तर्फ अग्रसर गराउन अत्यन्तै आवश्य छ ।
युवा र बर्तमान समयलाई केलाएर लेखिएका साहित्यहरुले मात्रै युवाहरूको मनलाई तान्न सक्छन् । कतिपय पुस्तकहरुमा प्रेम र यौवनलाई मात्रै प्रमुख एजेन्डा बनाएर लेखिदा युवाहरूको मनस्थितिलाई यौनजन्य क्रियाकलाप तर्फ प्रेरित गरेको पनि देखिएको छ तसर्थ साहित्य यस्तो हुनुपर्छ जस्ले समाज संस्कार र एउटा आदर्श कर्तव्य निष्ठ मानव जीवन बोकेको होस् । युवालाई आदर्श र मानवताले भरिपुर्ण भएको नैतिकवान मानव बन्न प्रेरित गरोस् । युवालाई प्रेरित गर्नको लागि युवा साहित्यकारले नै कलम चलाउनु पर्छ भन्ने छैन । जुनसुकै उमेर समुहका लेखकले पनि र साठीको नजिकै पुगेका लेखकहरुले पनि युवाका भावनात्मक अवस्थाहरुलाई समावेश गरेर बेजोड साहित्य श्रृजना गर्न सक्छन्, गरिरहेका पनि छन् । साहित्य लेखनमा अझ त्यो जुझारु युवा स्वयंले केही श्रृजना गर्छ भने त्यो धेरै ओजपुर्ण हुन्छ जस्तो मलाई लाग्छ ।
साहित्यकारहरुसँग मात्रै त्यो कला हन्छ जसले आकासको जुनलाई धर्तीमा झारेर नदिका छालहरुसँग समाहित गर्न सक्छन् । हरेक मानिस र प्राणीको मनभित्र पसेर कुना कुना छान मार्न सक्छ । हावाको सितलतालाई महसुस गरेर सँगसँगै आकासमा पुगेर सारा संसार सयर गर्नसक्छ । एक साहित्यक मन भएको मानिसले अरुका भावना र जीवन माथि कुठाराघात कहिल्यै गर्नसक्दैन । अरुको दुख र दर्द महशुस गर्न सक्ने एक कोमल मुटु हुन्छ उसको भित्र, जुन मुटुले कहिल्यै पनि गलत गर्न दिदैन । किनकि साहित्यकारहरु भावुक हुन्छन्, कोमल हुन्छन् । अरुको भावना दुःख पीडालाई सहजै महसुस गर्न सक्छन् । इतिहासमा कैयौं साहित्यकारहरुले आफुले लगाएको कपडा फुकालेर अरुलाई दिएर आफु नाङ्गै फर्किएका उदाहरण पनि छन् । हो यस्ता कोमल भावले ओतप्रोत भएका युवाहरू निर्माण गर्न सक्यौं भने शायद कोही पनि बालिका या नारीले बलात्कृत हुन पर्थेन होला, किनकि त्यो नारकीय, पशुवत बिचार मनमा आउनुभन्दा पहिले उसले एक नारीमा आफ्नी आमाको स्वरुप देख्छ । एक बालिकामा एक प्यारी बहिनी र छोरीको आकृति देख्छ र उसको मनमा कहिल्यै पनि त्यस्तो बिचारहरु उत्पन्न हुदैनन् । मान्छेको मनमा नेगेटिभ बिचारहरु उत्पन्न नभए सम्म नकारात्मक कर्म पनि हुँदैन ।
नयाँ पुस्ताले भोग्दै गरेको बर्तमान समयको त्रासदीपुर्ण अवस्था देश काल परिस्थिति र दवावले युवाहरुलाई दिनानुदिन गलत बाटो तर्फबाट अग्रसर गरेको छ । कति युवाहरु डिप्रेसनको अवस्था सम्ममा पुगेका छन् । धेरै युवाहरुले आत्महत्या गर्ने सम्मका अपराधिक क्रियाकलापहरु पनि गरेका छन् । बिश्वलाई त्रसित पार्ने यो कोभिडको समयमा साहित्य श्रृजना गर्ने र साहित्यमा रुचिकर युवाहरुले यो समयलाई अत्यन्तै श्रृजनशिल बनाएका छन् । साहित्य श्रृजना गर्न र आफुलाई अध्यनमा ब्यस्त राखेर यो कठिनाइलाई पनि अवसरको रुपमा लिएका छन् भने अन्य युवाहरुलाई यो समय अत्यन्तै कष्टकर भएको छ ।
यस्तो महत्वपूर्ण विषयमा सिङ्गो राष्ट्र र सरकारको ध्यान जान जरुरी छ । हरेक युवाहरुलाई साहित्य अध्ययन लेखन र लेखनमा प्रोत्साहन गर्न जरुरी छ । हरेक युवाले हरेक भिन्न भिन्न पाटोलाई अंगालेर साहित्य श्रृजनाहरु गर्नसक्छन् । यस्ता लेखक साहित्यकारहरुलाई राज्यले सम्मान र संरक्षण गर्न अत्यन्तै जरुरी छ । हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण हतियार भनेको शिक्षा हो । शिक्षा बिना सारा संसार अन्धकार जस्तै छ र जीवन शून्य जस्तै हुन्छ । शिक्षा हाँसिल गर्न हामी स्कुल, कलेज धाउँछौ, जीवनको उर्जावान सबैभन्दा महत्वपूर्ण समय हामी अध्ययनमा बिताउँछौ तर कुनै ब्यक्तिले लेखेका किताब साहित्यिक रचनाहरु साहित्य र साहित्य सर्जकहरुलाई राष्ट्रले त्यति सम्मान नगरेको जस्तो अनुभुती हुन्छ ।
स्थानीय सरकार र विभिन्न पालिकाका निकायहरुसँग यो बिषयमा कुरा गर्दा कतिपय ठाउँमा नाक खुम्च्याइएको अवस्था देखेको छु । यो राम्रो होइन । प्रत्येक युवाले आफ्नो चैतन्यले केही लेख्छ भने केही श्रृजना गर्छ भने त्यो धेरै ठूलो गर्वको कुरा हो । उनिहरुलाई हमेसा प्रोत्साहन गर्नसक्नुपर्छ । लेखन कलाले कृषिलाई माथि उठाउन सक्छ । समाजमा ब्याप्त भ्रष्टाचार खबरदारी बिषयमा कलम चलाएर सशक्त आवाज उठाउन सक्छ । आफ्ना जादुमय शब्द शैलीले सबैलाई लठ्याउन सक्छ । मदिराको भन्दा पनि खतरनाक नशा लेखनमा हुन्छ साहित्यमा हुन्छ । साहित्यकारले आफ्नो कलमको माध्यमबाट समाजका हरेका पाटोहरुलाई माथि उठाउन सक्छ । एक लेखन कलाले हरेक मानिसको जीवनमा परिवर्तन ल्याउन सक्छ । साहित्यले नयाँ नयाँ प्रबिधि समस्या र समाधानका बिषयमा कलात्मक ढंगले उजागर गर्नसक्छ ।
असली साहित्य श्रृजना गर्ने ब्यक्ति सैयौ पटक घोत्लिएको हुन्छ । हजारौं पटक मौनतामा डुबेको हुन्छ । मनको आँखाले सुष्म पाटोहरुलाई बडो मेहनतका साथ केलाएको हुन्छ । लेख्दा उसले आफुलाई आफैले बिर्सेको हुन्छ । कैयौं रातको निद र भोक बिर्सेको हुन्छ । अत्यन्तै कडा मेहनतसँगै आर्थिक लगानी समेत गरेर एउटा लेखकले किताब प्रकाशन गर्दछ । अथवा साहित्यकारले साहित्य श्रृजना गर्छ तर राष्ट्र र समाजले साहित्यकार प्रति गरिने ब्यवहारले लेखकहरुलाई साहित्यकारहरुलाई निराशा उत्पन्न भएको छ र उसले बिस्तारै लेख्न छोडेका धेरै उदाहरणहरु छन् । यति राम्रो गहन बिषयमा सिङ्गो राष्ट्र नै संवेदनशील हुन जरुरी छ । अझ बढी गरेर युवाहरुलाई लक्षित गरेर साहित्यलाई माथि उठाउन सक्यौं भने यो देश अझ धेरै सुन्दर बन्ने छ र सबैका सोचाइ र कर्महरु सुन्दर हुनेछन् ।