आज मनमा धेरै कुराहरू खेलिरहेका छन् । सानो छँदा हामीलाई आमाले हिलोमा पसिना बगाएर, घाँस दाउरा गर्दा कसैले दिएको मीठो खानेकुरा आफैं नखाई “मेरो नानीले खान्छ” भनेर आफ्नो पोल्टामा लुकाएर ल्याउनुहुन्थ्यो होला ? ती पुराना दिनहरू सम्झँदा आज पनि आमाको मुहार अगाडि आउँछ ।
आफैंले भोकै रहेर, आफूले दुःख सहेर हामीलाई हुर्काउने ती आमाबुवा आज हामी ठूला भएपछि, आफ्नै संसारमा व्यस्त भएपछि कति एक्लो महसुस गरिरहनुभएको होला ?
आजभोलि कामको व्यस्तता वा पढाइको सिलसिलाले होला, छोराछोरी टाढा भए । तर टाढा हुनु भनेको मनबाट टाढिनु त होइन नि आमाबुवालाई पैसा वा ठूलो सुखभन्दा पनि एउटा मीठो बोली र स्नेहको खाँचो हुन्छ । दिनभरिको भागदौडपछि जब छोराछोरीले फोन गरेर “बुवा/आमा, सन्चै हुनुहुन्छ ? के खाजा खानुभयो ? केही चाहियो कि ?” भनी सोधिदिन्छन्, तब उहाँहरूको अनुहारमा जुन खुसी छाउँछ, त्यसको कुनै मूल्य छैन ।
तर दुःखको कुरा, आजको व्यस्त संसारमा कतिपय घरहरूमा आफ्नै सन्तानले अलि नबुझ्ने भईदिदा ती बुढाबुढी सासू-ससुराको मनमा कति ठूलो चोट पुग्छ होला कतिपय ठाउँमा त एउटा मीठो बचन सुन्न नपाएर, दिनभरि कुनामा थन्किएर आँसु खसाल्न बाध्य हुनुपरेको छ । अरू केही दिन नसके पनि, कम्तीमा एउटा राम्रो बोली र आदर त उहाँहरूको अधिकार होइन र ?
तपाईं जनसुकै ठाउँमा हुनुहोस्, जतिसुकै व्यस्त हुनुहोस्, हप्तामा कम्तीमा एक वा दुई पटक आफ्ना बुवाआमालाई फोन गर्नुहोस् । उहाँहरूको हालखबर बुझ्नुहोस् ।
ती आमाले आफ्नो मुखको गाँस काटेर पोल्टामा हालेर ल्याएका दिनहरूलाई सम्झनुहोस् । जसरी उहाँहरूले हामीलाई सानोमा आँखाको नानी बनाएर राख्नुभयो, आज उहाँहरूको बुढेसकालमा हामीले पनि त्यही माया र सहारा दिनु हाम्रो परम धर्म हो।
आमाबुवा जिउँदो देवता हुन् । उहाँहरूलाई रुवाएर पाइने सुखले कहिल्यै शान्ति दिन सक्दैन।









