नेपालगञ्ज /प्रधानमन्त्रीको आसन्न भारत भ्रमणलाई पश्चिम नेपालको आर्थिक तथा व्यापारिक विकाससँग जोड्न नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणको विषयलाई उच्च प्राथमिकताका साथ उठाउन माग गरिएको छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा नेपालगञ्जमा आयोजित सर्वपक्षीय बैठकले यी दुई महत्वपूर्ण पूर्वाधार विकासका विषयलाई प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा समावेश गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो।
बैठकले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई सेवा सञ्चालनका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक पहल अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। सिधा हवाई उडान सञ्चालन हुन सके पश्चिम नेपालका नागरिकलाई आवतजावतमा सहज हुनुका साथै पर्यटन, व्यापार, स्वास्थ्य सेवा र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बैठकको ठहर छ।
त्यसैगरी, नेपालगञ्जलाई पश्चिम नेपालको प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा स्थापित गर्न सुख्खा बन्दरगाह निर्माण अपरिहार्य रहेको भन्दै यस विषयलाई पनि भारतसँगको उच्चस्तरीय द्विपक्षीय छलफलमा समावेश गर्न माग गरिएको छ। सुख्खा बन्दरगाह निर्माणले आयात–निर्यात प्रक्रिया सहज बनाउनुका साथै व्यापारिक लागत घटाउन र सीमापार व्यापार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका बाँके जिल्ला सभापति विवेककुमार श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुधांशु कोइराला, नेकपा एमालेका प्रतिनिधि मिनबहादुर मल्ल, नेकपाका केन्द्रीय सदस्य गेहराज शर्मा (नवीन), श्रम संस्कृति पार्टीका राजन रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष अरुणप्रताप सिंह, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाह, जिल्ला अध्यक्ष मन भण्डारी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य झलक गैरे, जिल्ला अध्यक्ष नविन गिरी, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पुर्व अध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य, अब्दुल वाहिद मन्सुरी , उद्योगी, कानुन ब्यवसायीहरु, नागरिक समाज तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकले गरेको निर्णय अनुसार मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने भएको छ। ज्ञापनपत्रमा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन र सुख्खा बन्दरगाह निर्माणलाई प्रधानमन्त्रीको भारत भ्रमणका प्राथमिकताप्राप्त एजेण्डाका रूपमा समावेश गरी आवश्यक पहल गर्न औपचारिक आग्रह गरिनेछ।
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनको माग यसअघि पनि पटक–पटक उठ्दै आएको छ। निजी क्षेत्र, उद्योगी व्यवसायी, राजनीतिक दल तथा विभिन्न सरोकारवालाले निरन्तर आवाज उठाउँदै आए पनि उक्त माग अझै कार्यान्वयनमा आउन सकेको छैन। यसपटक प्रधानमन्त्रीको भारत भ्रमणलाई अवसरका रूपमा उपयोग गर्दै पश्चिम नेपालको दीर्घकालीन आर्थिक हितसँग जोडिएका यी विषयलाई ठोस निष्कर्षमा पुर्याउनुपर्नेमा बैठकका सहभागीहरूले जोड दिएका छन्।









