बालमैत्री नगर बनाउन दिपायल सिलगढीको ६ बुँदे प्रतिबद्धता

असल शासन प्रतिनिधि

डोटी/ डोटीको दिपायल सिलगढी नगरपालिकालाई बालमैत्री नगर बनाउन ६ बुँदे साझाँ प्रतिबद्धता गरिएको छ । सोमबार युनिसेफ नेपालको सहयोग, दिपायल सिलगढी नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा दिपायल सिलगढी नगरपालिकामा आयोजित स्थानिय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता विषयक अन्तक्र्रिया कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बालबालिका तथा युवाहरुले संयुक्त रुपमा यस्तो प्रतिबद्धता गरेका हुन् ।

अन्तक्र्रियामा भएको छलफल पश्चात जनप्रतिनिधि र कर्मचारीहरुले नगरपालिकालाई बालमैत्री बनाउन आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्ने, बालश्रम मुक्त अभियान सञ्चालन गर्ने, प्रत्येक टोल, वडा र नगर स्तरीय बाल क्लब सञ्जाललाई सक्रिय बनाई परिचालन गर्ने, नगरलाई चाडै कोभिड १९ पूर्ण खोप युक्त नगर घोषणा गर्न तयारी गर्ने, योजना तर्जुमा प्रक्रियामा युवा तथा बालबालिकाहरुको सहभागिता सुनिश्चित गर्ने, बालविवाह, छाउपडी, बहुविवाह लगायतका प्रथाहरुको अन्त्य गर्न नगरपालिकाले आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्थापन गर्ने सहमति भएको छ ।

बालबालिका तथा युवाहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिँदै नगरपालिका उपप्रमुख शिवराज खड्का, प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङ, वडा अध्यक्षहरु, विभिन्न शाखाका शाखा प्रमुखहरुले संयुक्त प्रतिबद्धता गरेका छन् ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै नगर उपप्रमुख शिवराज खड्काले नगरलाई बालमैत्री नगर बनाउन नगरपालिका अगाडि बढ्ने प्रतिबद्ध गरे । उनले बालमैत्री नगर बनाउन आवश्यक नीति, कार्यक्रम र बजेटको आवश्यक व्यस्थापन गर्ने बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले दिपायल सिलगढी नगरपालिकालाई डोटीको पहिलो बालमैत्री नगर बनाउने गरी योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता गरे । कार्यक्रममा वडा अध्यक्षहरु, नगरपालिका युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख शंकर सुचिकार, महिला तथा बालबालिका शाखाका सानुमायाँ लिम्बुलगायतले बोलेका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बालक्लवका पदाधिकारी, युवा सञ्जालका पदाधिकारी र सरोकारवाला गरी ३० बढीको सहभागित रहेको थियो ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech