चौरजहारीमा साप्ताहिक सर्वेक्षण

असल शासन प्रतिनिधि

रुकुम पश्चिम/ सुशासन मापनको औजारमा रुपमा लिन गरिएको सेवाग्राही सन्तुष्टि सर्वेक्षणलाई रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले साप्ताहिक रुपमा पालना गर्ने गरेको छ ।

नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण गरेर साप्ताहिक रुपमा नतिजा समेत सार्वजनिक गर्न थालेको हो ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालका अनुसार गत साता गरिएको सर्वेक्षणमा सेवाग्राहीले जनाएको प्रतिक्रियाका आधारमा अत्यन्त राम्रो प्रतिक्रिया दिने सेवाग्राहीको सङख्या २६ प्रतिशत रहेको छ ।

त्यसैगरी राम्रो भएको प्रतिक्रिया दिने सेवाग्राहीको सङख्या ७० प्रतिशत छ भने ठिकै भएको प्रतिक्रिया दिनेको सङख्या चार प्रतिशत रहेको छ । सेवाप्रवाह नराम्रो र अत्यन्त नराम्रो भएको भनि प्रतिक्रिया दिनेको सङख्या भने शून्य प्रतिशत रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकाले जनाउनुभयो ।

नगर कार्यपालिका र कर्मचारीहरूको उपस्थितिमा नतिजा सार्वजनिक गरिएको हो । कार्यालयबाट प्रवाह हुने सेवामा सेवाग्राहीको सन्तुष्टिको अवस्थाबारे कार्यक्रममा जानकारी गराइएको थियो । सेवाप्रतिको प्रतिक्रियाका लागि पाँच वटा अवस्था जनाउन पाउने व्यवस्था मिलाइएको छ । अत्यन्त राम्रो, राम्रो, ठिकै, नराम्रो र अन्यन्त नराम्रो भनि प्रतिक्रिया जनाउन पाइनेछ ।

लैङ्गिक आधारमा सेवा लिने पुरुषको सङख्या ८३ प्रतिशत रहेको छ भने महिलाको सङख्या १७ प्रतिशत रहेको छ । सेवा प्रवाह हुदा लाग्ने समयको बारेमा समेत सर्वेक्षण गर्ने गरिएको छ । सर्वेक्षणमा सबैभन्दा कम ४ मिनेट देखि सबैभन्दा बढी ३ घण्टा २८ मिनेट समय लागेको पाइएको छ । प्राप्त सर्वेक्षणमा सबैभन्दा कम समयमा महिला तथा बालबालिका उपशाखाबाट सेवा प्रवाह भएको पाइएको छ ।

सेवाग्राहीको प्रतिक्रियाका लागि सेवा पश्चात टोकन खसाल्ने व्यवस्था मिलाइएको छ । प्रत्येक दिन बेलुका टोकनमार्फत दिएको प्रतिक्रियाको अभिलेख राख्ने व्यवस्था मिलाइको ढकालले जानकारी दिनुभयो ।

दैनिक अभिलेखका आधारमा साप्ताहिक, मासिक र वार्षिक विवरण तयार गरिने उहाँले बताउनुभयो । सेवा प्रवाह सन्तुष्टि सर्वेक्षणले सेवा प्रवाहमा सुधार गर्नुपर्ने पक्ष पहिचान हुने र यसले सेवाग्राहीमैत्री सेवाका लागि टेवा पुर्याउने विश्वास नगरपालिकाले लिएको छ ।

  • २८ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech