जानकी गाउँपालिकाको सामाजिक परिक्षण सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/जानकी गाउँपालिका बाँककोे आर्थिक बर्ष २०७९/०८० को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण तथा छलफल सम्पन्न भएको छ ।
जानकी गाउँपालिकाको सहयोग तथा बास नेपालको सहजिकरणमा आज सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले सामाजिक परिक्षण मार्फत पालिकाको बार्षिक कार्य सम्पादनको लेखाजोखा गरी पालिकालाई अगाडी बढ्न महत्वपूर्ण सुझाव प्रदान गरेको बताए । प्रतिबेदनले देखिएका समस्याहरुलाई समाधान गर्दै उत्कृष्ट कार्य सम्पादन गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन गरे ।

कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले सामाजिक परिक्षणको क्रममा देखिएका सुझावहरुलाई योजना सहित कार्यान्वयनमा लैजाने प्रतिबद्धता गरे । पालिकाको सेवा प्रवाहका बिषयमा तेस्रो पक्षको बिष्लेषण महत्वपूर्ण हुने भन्दै सामाजिक परिक्षण जस्ता कार्यक्रमलाई प्राथमिकिकरणमा राख्ने बताए । उनले सामाजिक परिक्षणको प्रतिबेदन पालिकाका लागि उत्कृष्ट दस्ताबेजको रुपमा रहने बताए ।


बासका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका निर्देशक तथा सामाजिक परिक्षक हेमराज भट्टले सामाजिक परिक्षण, प्रक्रिया, जानकी गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा गरेका कार्यहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुसँगको छलफल, लक्षित समुह छलफल, सन्दर्भ सामाग्री अध्ययन, स्थलगत अवलोकन लगायत बाट प्राप्त तथ्यसँगै गाउँपालिकाको राम्रा पक्षहरु सुधार गर्नुपर्ने पक्ष, समस्या, चुनौतीका बिषयमा प्रारम्भिक प्रतिबेदन प्रश्तुतीकरण गरेका थिए । प्रश्तुतीकरण पश्चात खुल्ला छलफल गरिएको थियो । खुल्ला छलफलमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुले बोलेका थिए ।


बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्य माथि प्रकाश गरेको कार्यक्रम गाउपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा भएको थियो । सामाजिक परिक्षण कार्यक्रम अन्तरगत भएको छलफलको क्रममा प्राप्त सुझावलाई समाबेश गरि जानकी गाउँपालिकाको आर्थिक बर्ष २०७९÷०८० को सामाजिक परिक्षण अन्तिम प्रतिबेदन सहजिकरण गर्ने संस्थाका तर्फबाट बास नेपालले पेश गरिनेछ । कार्यक्रमको समापन गाउँपालिका अध्यक्ष छब्बन खाँले गरेका थिए ।

  • २३ असार २०८१, शनिबार प्रकाशित

  • Nabintech