नेपालगञ्ज÷डुडुवा गाउँपालिका बाँकेले आर्थिक बर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
डुडुवा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा डुडुवा गाउँपालिकाको सभाहलमा भएको सुनुवाईले ४ बुदें साझा प्रतिबद्धता घोषणा गरेको छ । सहभागि र सरोकारवालाबिच झण्डै अढाई घण्टा भएको दोहोर प्रश्नोत्तर प्रश्चात गरिएका प्रतिबद्धताहरुमा डुडुवा गाउँपालिका वडा नम्बर ४ मा रहेको उचिमशेहा मज्जिद जाने सडक निर्माणकालागि तत्काल प्राविधिक पठाउने र नयाँ आबमा नाला सहितको सडक निर्माण गर्ने, वडा नम्बर ६ हिरमिनिया गाउँमा पिसिसि सडक निर्माण गर्ने, बिद्युत लाईन नहुदा कृषकहरुलाई समस्या भईरहेको गुनासो आएकाले आवश्यकता सहितको निबेदन कृषि शाखामा पेश भईआएमा समस्या समाधानको पहल गर्ने, गाउँपालिकामा मसानघाट आवश्यक भएकोमा उपयुक्त स्थानमा जग्गा प्राप्त भएमा नयाँ आर्थिक बर्ष भित्र मसानघाट निर्माण कार्य अगाडी बढाउने र गाउँपालिकाको सेवा प्रवाहलाई थप पारदर्शि बनाउने तथा प्रभावकारी अनुगमनमा जोड दिने प्रतिबद्धता गरिएको छ ।
बासका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । सुनुवाईको सुरुवातमा गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१मा गरेका कार्यहरुको प्रगति प्रतिबेदन गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गरेका थिए । सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र तथा बर्हिगमन अभिमतको नतिजा घोषण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए भने सुनुवाईको साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । सुनुवाईमा सरोकारवालाको रुपमा गाउपालिका अध्यक्ष, उपाध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।