नेपालगञ्ज/ बास नेपालद्धारा नियमित रुपमा सञ्चालित ईन्सपाईरिंग युथको ३१० औं श्रृंखलामा युवा सामाजिक अभियन्ता झविलाल शर्माले उत्प्रेरणात्मक प्रबचन दिएका छन् ।
शर्माले शुक्रवार सम्पन्न्न ३१० औं श्रृंखलामा उत्प्रेरणात्मक प्रबचन दिएका हुन् ।
शर्माले कार्यक्रममा बोल्दै युवाहरुलाई सकारात्मक बन्न आह्वान गरे ।
आफु साइकल चढ्न पनि गार्हो हुने परिवारको व्यक्ति भएको उल्लेख गर्दै शर्माले संघर्ष गर्दै अघि बढेको बताए । निरन्तर रुपमा लाग्ने हो भने सफलताले साथ दिन्छ –शर्माले भने– केही न केही गरिरहे, ब्यस्त जीवन बिताए जीवन जिउन पनि सजिलो हुन्छ ।
मान्छे हेर्छौ तर मान्छेको संघर्ष हेर्दैनौं – शर्माले भने– हरेक व्यक्तिको संघर्षछ, संघर्षको कथा छ ।
नयाँ कुराको शुरुवात कसै न कसैले गर्नै पर्छ, त्यो नयाँ पनले सबैलाई सजिलो बनाउँछ, समाजलाई योगदान दिन्छ –शर्माले भने – त्यसैले सबैले केही नयाँ गरौं ।
समाजमा हिरा खोजे हिरा भेटिन्छ किरा खोजे किरा भेटिन्छ–शर्माको भनाई थियो –तपाईं माहुरी बन्ने कि माखा बन्ने त्यो तपाईंको हातमा छ ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा ६० बढि युवाहरुको सहभागिता रहेको थियो ।
यूवाहरुमा सकारात्मक सोचको विकासगर्न, उनीहरुलाई सफल जीवन तर्फ अग्रसर गराउन, कर्तव्यशिल, बिनयशिल ईमान्दार युवा बन्न उत्प्रेरित गर्न, निराशालाई आशामा बदल्न, सम्भावनालाई वास्तविकतामा रुपान्तरण गराउन भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालले नेपालगञ्जमा साप्ताहिक रुपमा ईन्सपाईरिंग युथ कार्यक्रम सञ्चालन गरिरहेकोछ ।
यूवाहरुलाई कर्तव्यनिष्ठ, जिम्मेवार बनाउन उत्प्रेरित गर्ने उद्धेश्यले यो कार्यक्रमको शुरुवात २०७३ जेष्ठ १ गते देखि भएको थियो ।
यो कार्यक्रम हरेक हप्ताको शुक्रवार नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।
यो कार्यक्रम हरेक हप्ता फरक, फरक गतिविधि गरेर सम्पन्न गरिन्छ । महिनाको पहिलो हप्ता डिबेट, दोश्रो हप्ता मोटिभेसनल स्पिच, तेश्रो हप्ता सफलताको कथा बाचन, चौथो हप्ता नेतृत्व विकास तालिम र पाँचौं हप्ता ज्ञान र क्षमता आदान, प्रदान गर्ने गरिन्छ ।
हाल सम्पन्न बिशेष श्रृंखलाहरुमा चर्चित म्याराथुन धावक बैकुण्ठ मानन्धर, नायक जीवन लुईंटेल, कथाकार महेश बिक्रम शाह, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, पूर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, चर्चित लेखक कर्ण शाक्य, नायिका सञ्चिता लुईंटेल, जीवन लुईंटेल, उत्प्रेरक श्रृष्टि के.सी., उत्प्रेरक रोहित मल्ल, मनोक्रान्ति अभियानका द्रष्टा डा. योगी बिकासानन्द, चर्चित व्यक्तित्व महाबिर पुन, केदार खडका, नायिका केकि अधिकारी लगायतको उपस्थित भईसकेका छन् ।
यस अवधिमा यस क्षेत्रका ख्याती प्राप्त गैससकर्मी, सामाजिक अभियन्ता, चर्चित कलाकार, सरसफाई अभियन्ता, कानुन व्यवसायि, चिकित्सक, साहित्कार, खेलाडी लगायतले आफ्नो अनुभव सुनाई सकेका छन् ।
प्रति हप्ता ४० देखि १५० सम्मको सहभागिता रहने यस कार्यक्रममा हाल सम्म ५ हजार बढि युवाहरुले सहभागिता जनासकेका छन् । यसको प्रभावकारिता र लोकप्रियताबाट धेरै युवाहरु लाभान्वित भएका छन् । यस कार्यक्रमले युवाहरुको व्यक्तित्व, नेतृत्वमा निखारता आएकोछ । कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने प्रयास युवाहरुले गरिरहेका छन् ।
कार्यक्रमको सफलता र प्रभाविकारिताका कारण यो कार्यक्रम हाल देशव्यापी भएकोछ ।