नेपालगन्ज/ बाघले भैँसी मार्नु कुनै नयाँ कुरा भएन, भैसीले बाघ मार्नु नयाँ कुरा मात्र भएन, अचम्मै भयो ।
घटना मकवानपुर मनहरीको हो । मनहरी गाउँपालिका ६ प्रतापपुरमा बिहिबार राति २ बजेतिर आएको एउटा बाघलाई भैँसीले मारिदिएको छ ।
गोठमै भैँसीलाई आक्रमण गर्न आएको बाघ भैँसीको प्रतिकारमा मरेको छ भने बाघको आक्रमणमा परेको भैंसी अझै जीवित नै छ ।
जानकारी अनुसार स्थानीय बलबहादुर राईको गोठमा आएको बाघले भैंसीको गर्दनमा आक्रमण गरेको थियो ।
केहि समयअघि मात्रै व्याएको र पाडो मरेको पीडामा रहेको भैँसी अलि छुच्छो स्वभावको थियो । मुन्टो हल्लाएर बाघको प्रतिकार गर्यो । बाघलाई झट्कालेर गर्दनबाट हटाएपछि पुन झम्टन सकेन । भैँसीले बाघलाई लात्तीले हान्ने र झम्टिने गरिरह्यो । यद्यपि, भैँसी दाम्लोको बन्धनबाट मुक्त थिएन । भैँसीको प्रतिकारमा परेको बाघले गोठमै ज्यान फाल्यो ।
खासमा बाघको स्वास्थ्य अबस्था अत्यन्तै दर्दनाक थियो । ऊ मुश्किलले मात्रै हिँड्न सक्ने अनुमान लगाउन सकिन्छ । टाउको र पछाडिको फिला भागमा घाउ भएर किरा परेको अबस्थामा थियो बाघ । बिरामी भएपछि कैयौँ दिनदेखि खान नपाएको बाघ शिकार खोज्दै पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रबाट गाउँ पसेको अनु्मान गरिन्छ । भैँसीको प्रतिकारबाट बाघको शरीरमा रहेको घाउहरुमा दख्खल पर्दा बाघ मरेको अनुमान गरिन्छ । दाम्लोले बाँधिएको भैँसीको गर्दनमा चोटहरु छन । जानकारी अनुसार भैँसी जीवितै रहे पनि बाँच्ने अबस्था नरहेको बताए ।
चितवन राष्ट्रिय निकुन्जबाट आएको सुरक्षाकर्मी, प्रशासन तथा मेडिकल टिमले घटनास्थल अवलोकन गरी मुचुल्का उठाएर मृत बाघलाई चितवन लगेको छ ।
राति २ बजेतिर बाघ मरेको खबर पाएसँगै पर्सा राष्ट्रिय निकुन्ज, चितवन राष्ट्रिय निकुन्ज दुबैतर्फका प्रशासन र सेनाका अधिकारीहरु घटनास्थलमा पुगेका थिए ।
मनहरी गाउँपालिका ६ नं वडाध्यक्ष युवराज थपलियाले कालगतिले नै मर्ने अबस्थामा रहेको बाघ घरपालुवा भैँसीलाई खान आएका बेला मरेको कुरामा सबै पक्ष सहमत भएपछि सोही बमोजिम मुचुल्का उठाइएको बताए । यद्यपि, उक्त बाघ केही दिनदेखि नै त्यस क्षेत्रमा हिँडिरहेको थियो ।
केही दिनअघि मात्रै गोठालाहरुलाई बाघले आक्रमण गरेको सुनेपछि हात्ती चढेर बाघको खोजी भएकामा उक्त बाघ खोला तरेर निकुन्जतर्फ नै गएको जानकारी प्राप्त भएपछि बाघ खोज्ने नियन्त्रणमा लिने कार्य स्थगन भएको थियो ।