घोडाघोडी (कैलाली)/ कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधिन नगर अस्पतालको भवन अलपत्र परेको छ ।
निर्माण सम्झौताको अवधि सम्पन्न भईसक्दा पनि भवन निर्माण भने हुन सकेको छैन ।
नेपाल सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका लागि १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने कार्यको थालनी गरेको थियो ।
२०७७ मंसिर १५ गते देशभरका ३ सय ९६ अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक साथ शिलान्यास गरेका थिए । सोहि अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं. २ साडेपानीमा १५ शैयाको नगर अस्पताल बनाउने निर्णय गरेको थियो ।
नगर अस्पताल निर्माणको सम्झौता राजेन्द्र निर्माण सेवा प्रा. लि डडेलधुरासँग गरिएको थियो । कम्पनीले ९ करोड ८६ लाख ५ हजार ५ सय ७० मा दुई वर्ष भित्र भवन निर्माण गर्ने भन्दै २०७८ बैशाख २९ गते ठेक्का सम्झौता गरेको थियो ।
निर्माण सम्पन्न गरिसक्नुपर्ने अवधि २०८० बैशाख २८ गते सकिसकेको छ । तर अवधि सकिदा सम्म भवनको जग मात्रै बनेको छ ।
घोडाघोडी नगपालिका प्रमुख खडक बहादुर रावतले बजेट अभावका कारण भवन निर्माण कार्य सम्पन्न गर्न नसकेको बताउनु भयो । रावतका अनुसार निर्मााण सुरुको अवधिमा १ करोड आएको थियो त्यसपछि बजेट आएको छैन ।
नगर अस्पताल भवन बनाउन लागिएको जमिन भोगाधिकार नभएकाले बजेट दिन नसकेको भन्ने छ रावतले भन्नुभयो, “भोगाधिकारको फाईल तयार गरि संघिय मामिलामा पठाएका छौ हेरौ अब के हुन्छ ।”
रावतका अनुसार ठेक्का पाएको निर्माण कम्पनी पनि सम्पर्क विहिन रहेको छ ।
भवन निर्माणको कार्य सम्पन्न नभएपछि यता पालिकाले स्वास्थ्य चौकिको भवन मार्फत नगर अस्पताल सञ्चालन गरेको छ । वडा न २ स्थित साडेपानी स्थास्थ्य चौकि मार्फत नगर अस्पताल सञ्चालन गरि सेवा प्रवाह गरिरहेको नगर प्रमुख रावतले बताउनुभयो ।