गुड बाई बाँके-बर्दिया

सुष्मा चाम्लिङ

जीवनको सबैभन्दा उर्जाशील, उत्पादनशील उमेर र समय मैले बाँके र बर्दियामा बिताएँ । साढे आठ वर्ष बाँके बेस भएर बाँके र बर्दिया गर्दै बिताएँ । यो अवधिमा निकै मिठा सम्बन्धहरू गाँसिएछ। मिठा पलहरू बिताइएछ। मेहनत पनि टन्नै गरियो । उपलब्धि पनि अपेक्षा गरिए अनुरूप हासिल गरियो । त्यसैले त होला गुड बाई भन्न पनि मन भारी भएको छ ।

यो निर्णयमा मानसिक रुपले तयारी हुन निकै दिन लाग्यो । निकै गाह्रो भयो मलाई । बाँके प्रबेश गर्दा एकजना मान्छे चिनेको थिइन । अहिले यति धेरैलाई आफ्नो बनाउन पुगेछु । छुट्नु पर्दा हरेक दिन जसो भावुक भएर समय बिताइयो ।

हरेक स्थान, घुम्ती, गल्ली, चौक आदिसँग सम्बन्ध गाँसिएछ। व्यक्तिसँग मायालु र सम्मानजनक नाता गाँसिएछ। सम्झिदै आनन्द लाग्ने ।

हरेक पल र यात्रा सम्झिदै मिठो अनुभूति हुन्छ। हरेक अन्तरक्रिया अर्थपूर्ण र सम्झना लायक छन् । अब भने लुम्बिनी प्रदेशको बाँके र बर्दियाको पेशागत बसाईलाई यहि बिट मार्नु पर्ने भयो । काउन्ट डाउन शुरु भो । आजभोलि गर्दा गर्दै बाँकेबाट बिदाई हुने दिन कति चाडैं आइसकेछ ।

५००० भन्दा बढी बहिनीहरूसँग अन्तरक्रिया गरियो । थोरै सहयोग, थोरै उत्प्रेरणा, थोरै मार्गदर्शन गर्दै अघि बढाइयो ।

हजारौं बहिनीहरूको भविष्य उज्ज्वल र गुणस्तरीय जीवन बाँच्न सकोस भन्नको खातिर निकै मेहनत गरियो । गाउँ वस्ती घुमियो । समुदाय देखियो, बुझियो । प्रत्येक विद्यालय र पालिकासँग सहकार्य गरियो ।

बर्दियामा २००० बढी बालिका, ३६ विद्यालय, आठै पालिकासँग नजिकमा बसेर काम गरियो । बाँकेमा साढे पैतिसय बालिका, १९ विद्यालय, चार पालिकासँग काम गरियो ।

१५०० बालिकाहरूलाई माध्यमिक शिक्षा पूरा गराउन सफल भईयो । म सहित ६१ जना बालिका शिक्षा कार्यक्रमको टिमसँग सँगसँगै काम गरियो । ६० जनाको टिमलाई परिचालन, सुपरिवेक्षण र सहयोग गरियो ।

कैयौं चुनौतीपूर्ण परिस्थितिहरू सामना गरियो । चुनौतीसँग लडियो । हरेक चुनौतीलाई असवरमा बदल्न सकियो । कार्यक्रमसँग सन्बन्धित निर्णय पनि टन्नै गरियो । गएको साढे आठ वर्षमा धेरै कुरा सिकियो र अरूलाई पनि सिकाइयो । फलस्वरूप परिपक्क पनि भइयो ।

ठूलो टिममा काम गरियो । टिमको व्यवस्थापन गर्न पनि निकै चुनौतीपूर्ण कार्य रहेछ । टिमको नेतृत्व गर्ने र व्यवस्थापन गर्ने कला पनि सिकियो । पेशागत क्षमता र दक्षता बढाइयो । ज्ञान र सीपलाई तिखार्न मदत पुग्यो ।

बाँके र बर्दियाको बसाईलाई यहि बिट मार्दै अबको यात्रा गण्डकी प्रदेश केन्द्रित हुनेछ मेरो । बालिकाहरूको उज्ज्वल भविष्यको सुनिश्चितताको लागि नै मेरो प्रयास निरन्तर अघि बढ्नेछ ।

बाँके, बर्दियाको माया र सहयोगलाई कहिले भुल्ने छैन । मेरो टिम, सहकर्मी, सुपरभाइजर, रूम टु रिड, साझेदार संस्था बास नेपाल लगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।

टिमको माया र साथ सधैं मिस गर्नेछु । प्यारा प्यारा बहिनीहरूलाई सधैं माया छ र उज्ज्वल भविष्यको कामना छ । प्रअ, विद्यालय परिवार, अभिभावक, पालिका प्रमुख- उपप्रमुख, शिक्षा, महिला बालबालिका शाखाका टिम, र सरोकारवाला सबैप्रती हार्दिक सम्मानका साथ आभार प्रटक गर्न चाहन्छु।

बिगत ८.५ वर्षमा बाँके र बर्दियामा लेखिएको जीवन कथाको मेरा पृय पात्रहरू, मुटुभरी यहाँहरूको मीठो माया र सम्झना सधैंलाई लिएर अबका केही दिनमा जाँदैछु । सबैलाई धेरै मिस गर्नेछु । बाई बाँके, बाई बर्दिया । बाई बाई सबैजनालाई ।

  • १६ आश्विन २०८१, बुधबार प्रकाशित

  • Nabintech