शारदा नगरपालिकाले गरयो सार्वजनिक सुनुवाइ

असल शासन प्रतिनिधि

सल्यान/शारदा नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
शारदा नगरपालिका सल्यानको आयोजना तथा बास नेपालको सहजीकरणमा शनिबार सल्यानको श्रीनगर स्थित बसपार्कमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा ८ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता घोषणा गरिएको छ ।

घोषणा गरिएका प्रतिबद्धताहरुमा पेट्रोल पम्पको नियमितताको लागि नगरपालिकाको तर्फबाट अनुगमन भईरहेतापनि समस्या समाधान हुन नसकेकाले पुन अनुगमन गरि सरोकारवाला सँग छलफल गरि समस्या समाधान गर्ने, युवा स्वरोजगार लाई प्रबद्र्धन गर्न सिपमुलक तथा प्राविधिक तालिमहरु सञ्चालन गर्ने, शारदा नगर क्षेत्रलाई हरियाली प्रबद्र्धन गर्दै सरसफाई युक्त नगरपालिका बनाउन सरोकारवाला सहित आम नागरिकहरुका तर्फबाट आ आफ्नो जिम्मेवारी बहन गर्ने, खलंगाबाट साहुटोल हुदै बरला जाने सडकलाई फराकिलो तथा स्तरोन्नोती गर्नका लागि आगामी आ.व. को योजनामा राख्ने, महिला स्वास्थ्य स्वयंसेबिकाहरुलाई यातायातमा छुट दिने ब्यवस्थालाई कार्यन्वयन गर्नका लागि आबश्यक समन्वय गर्ने, रानीकोट पार्कको समग्र विकासका लागि योजना बनाएर लागु गर्ने, शारदा नगरपालिकामा रहेका बिभिन्न बिद्यालयहरुको बिद्यार्थीहरुबाट शुल्क लिईरहेको गुनासो प्राप्त भएकाले सो समस्या समाधानका लागि आबश्यक पहल गर्ने, वडा नम्बर १ चेवाङ्ग जाने बाटोमा रहेको नालाको समस्या समाधान यसै आर्थिक वर्षभित्र गर्ने रहेका छन् ।

झण्डै ३ घण्टा सम्म चलेको सार्वजनिक सुनुवाईको खुल्ला छलफलमा सहभागीहरुले पेट्रोलमा कालोबजारी, आर्थिक बर्षको सुरुवातीमा जुन किसमले बिकास निर्माणको काम अगाडी बढ्नु पर्ने हो सो नभएको, पालिका भित्रका बिद्यालयको शैक्षिक गुणस्तर खस्केको, सामुदायिक बिद्यालयहरुमा बिद्याथीहरुबाट शुल्क लिने गरेको, श्रीनगर बजार लगायतका बिभिन्न क्षेत्रका सडकमा नाली निर्माण नहुँदा समस्या उत्पन्न भएको, छाडा चौपाया नियन्त्रणमा पालिकाले ध्यान दिनुपर्ने लगायताका प्रश्न, गुनासो, तथा सुझावहरु राखेका थिए ।

सहभागीहरुबाट आएका प्रश्नहरुको जवाफ सार्बजनिक सुनुवाई कार्यक्रमका सरोकारवाला ब्यक्तिहरु शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारी, उप प्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा, बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यापालिका सदस्य र शाखा प्रमुखहरुले दिएका थिए ।

बास नेपाल सल्यान शाखा अध्यक्ष योगमाया रेउले स्वागत गरेको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटाले आर्थिक बर्ष २०८१÷०८२ को प्रथम चौमासिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । ३ सय जनाको सहभागिता रहेका कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बहिर्गमन अभिमत र नागरिक प्रतिबेदन पत्र प्रस्तुत गरेका थिए । बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजिकरण गरेको सार्बजनिक सुनुवाईमा बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गरेकी थिईन् ।

  • १ मंसिर २०८१, शनिबार प्रकाशित

  • Nabintech