देखाउनलाई हो ट्राफिक लाईट ?

असल शासन प्रतिनिधि

नेपालगञ्जमा राखिएका ट्राफिक लाईटहरु सर्वसाधारणलाई देखाउने हात्तीको दाँत साबित भएका छन् ।

बढ्दो सहरिकरणसँगै दिनादिनु समस्याको बिषय बनेको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि जडान गरिएका ट्राफिक लाईटहरु जडान भएको लामो समय सम्म सञ्चालनमा आउन सकेका छैनन् ।

ट्राफिक लाईट जडान भएपछि चौक, चौकमा रहेका ट्राफिक लाईट बल्ने र सोही ट्राफिक लाईटका कारण ट्राफिक व्यवस्थापन भई दुर्घटना न्यूनीकरण हुने आम अपेक्षा हात्ति आयो, हात्ति आयो फुस्साझैं भएको छ ।

२०७९ भदौ २९ गते शिलान्यास भएको ट्राफिक लाईट जडान कार्य पुरा भई गत माघमा परीक्षण भैसक्दा पनि हाल सम्म सञ्चालनमा आउन सकेका छैनन् ।

सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक महाशाखा काठमाडौंसँग ठेकेदार कम्पनी डिभिजन इन्जिनियरिङ कन्ट्रक्सन, पिभिजन इन्जिनियरिङ सोलुशन काठमाडौंले एक करोड ५९ लाख लागतमा नेपालगञ्जको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थित गराउन बढी भिडभाड हुने रत्न राजमार्गअन्तर्गत जमुनाहा–कोहलपुर सडक खण्डका पाँच मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको थियो । तर लाईटहरु जडान गरिएको ६ महिना बढि बित्दा पनि ट्राफिक लाईट बलेनन् ।

नेपालगञ्जको राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोकमा ट्राफिक लाइट जडान सम्पन्न गरि झण्डै १ महिना उक्त लाईटहरुको परीक्षण गरिएता पनि हालसम्म ति लाईटहरु सञ्चालनमा आएनन् बरु हावा हुरीले ट्राफिक लाइटलाई यता र उता फर्काईदिएको छ ।

करोडौको लगानीमा योजना बनाउने र कार्य सम्पन्न नहुँदै उक्त योजना अलपत्र पार्ने रबैयाका कारण सरकारी बजेट पचाउने काम मात्र भईरहेको छैन, आम नागरिकहरुको आशा माथि खेलबहाड गरिएको छ ।

  • १ मंसिर २०८१, शनिबार प्रकाशित

  • Nabintech