कुरा २०६१ फाल्गुण २९ गते को हो । म त्यति बेला असल शासन क्लब जिल्ला समन्वय समिति, बाँके र बागेश्वरी असल शासन क्लबको अध्यक्ष थिएँ । असल शासन जिल्ला क्लब जिल्ला समन्वय समिति, बाँकेमा आबद्ध जनमुखि असल शासन क्लब नौवस्ता बाँकेले मलाई असल शासनका लागि दिएको योगदानको कदर गर्दै सम्मान ग्रहणका लागि आमन्त्रण गरेको थियो ।
बिहान ११.०० बजे कार्यक्रम शुरु हुने समय थियो, हामी बिहान अन्य काममा व्यस्त भएका कारण नौबस्ता जान बिलम्व भयो, बि.पी. चौकमा गाडी पर्खदा, पर्खदा झन बिलम्व भयो । सिधै नौबस्ता जाने गाडी पाईँदैनथ्यो, यहाँबाट कोहलपुर, कोहलपुरबाट चिसापानी जाने गाडीमा जानु परथ्यो नौवस्ताका लागि ।
२०६१ सालमा आयोजित सम्मान कार्यक्रमको तस्वीर ।
यसरी जाँदा हामी दिउसो १.०० बजे पनि नपुग्ने देखिए पछि मोटरशाईकलको खोजीमा लाग्यौं । हामी तीन जना थियौं म, सहकर्मी बिबेक पराजुली र रमेश सिटौला । हामीलाई दुई वटा मोटरशाईकलको आवश्यकता थियो । मित्र कृष्ण बहादुर बिष्टले आफ्नो मोटरशाईकल दिए, अर्को मोटरशाईकलको व्यवस्था हुन सकेन र त्यहि बिष्टजीको मोटरशाईकलमा हामी तीन जना जान बाध्य भयौं । घरवारीटोलबाट उनको बाईक लिएर हामी तीन जना हिँड्यौं ।
सम्मान भएको बिद्यालयमा हाल खिचिएको तस्वीर ।
मैले चलाएको थिएँ बाईक पुष्पलाल चौक नजिक पुगेपछि एउटा कुकुरले बाटो काटेर अगाडी बढ्यो र फेरी फर्कियो । त्यहि कुकुरलाई बचाउने क्रममा मोटरशाईकल असन्तुलित भएर, एक्सलेटर बटारिएर उफ्रिएर सडकमा बजारियो । म र बिचमा रहेको बिबेक सख्त घाईत भयौं । पछाडी रहेको रमेशलाई सामान्य चौट लाग्यो उनले बाईक उठाएर अलि अगाडी राखेर आए ।
सम्मान भएको बिद्यालयमा हाल खिचिएको तस्वीर ।
मेरो भन्दा बढि चौट बिबेकलाई लागेको थियो । बिबेकलाई उपचार गराउन जान भन्दै हामी दुई नौबस्ता तर्फ लाग्यौं । कोहलपुरमा मेरो प्राथमिक उपचार भयो । नौबस्ता कार्यक्रम स्थल नजिक मोटरशाईकल जान नसक्ने भएका कारण अलिकति उकालोमा हिँड्नु पथ्र्यो । खुट्टामा लागेको गम्भिर चोटका कारण मुस्किलले कार्यक्रम स्थलमा म पूगें, त्यतिञ्जेल दिउसो १।०० बजिसकेको थियो । मेरै पर्खाईमा कार्यक्रम शुरु भएको थिएन । हामी पूग्ने बित्तिकै कार्यक्रम शुरु भयो ।
मैले सम्मान ग्रहण गरें, मैले गरेको सानो योगदानको कदर हुँदा खपि नसक्नुको मेरो पीडाको मलाई कुनै प्रबाह भएन । मैले बोल्ने क्रममा उक्त दिन भएको घटनाको बेलिबिस्तार लगाउँदा सहभागि सबै भावुक भए । यसरी दुर्घटनका बाबजुत भएको सम्मान मेरो जीवनकालको अविश्मरणिय क्षणको रुपमा रहेको छ ।
मैले जीवनमा पहिलो पटक सम्मान प्राप्त गरेको नौबस्ता स्थित बिपी मेमोरियल स्कुलमा २० बर्ष पछि पुग्ने अवसर प्राप्त भयो । २०६१ साल फाल्गुण २३ गते जनमुखी असल शासन क्लव नौबस्ता बाँकेद्वारा असल समाज निर्माण सम्मान प्राप्त गरेको थिए ।
यहाँ २०६१ सालमा सो बिधालयको कोठामा सम्मान प्राप्त हुँदाको तस्वीर र सो बिधालयको कोठा बाहिर हालै खिचेको यहाँ राखिएको छ । संयोगले सो सम्मान ग्रहण गर्दा म सङ्ग मेरा मित्र रमेश सिटौला थिए भने हिजो संस्थागत काममा सो बिधालय जाँदा पनि म सङ्गै थिए । यो सम्मान मेरो पहिलो सम्मान मात्र नभई अबिष्मरणिय सम्मान थियो ।
नेपालगन्जबाट सो ठाउँमा सम्मान कार्यक्रममा सहभागी हुन जाँदा नेपालगन्जको पुष्पलाल चौकमा मोटरसाइकल दुर्घटना भएको थियो । घाइते अवस्थामै उक्त सम्मान ग्रहण गरेको थिएँ । आज भन्दा २० बर्ष अघि सम्मानको हकदार बनाउने बहिनी शिबा शाहलाई हार्दिक धन्यवाद ।