नेपालगन्ज/ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन हुने भएको छ ।
डिसेम्वर ९ (मंसिर २४ गते) नेपालगन्जमा नेपालगञ्ज वाकाथन हुने भएको हो ।
बिगत चार बर्ष देखि भईरहेको वाकाथन भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा हुनेछ ।
भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना हुने नेपालगन्ज वाकाथन सफल पार्न बास नेपालले आह्वान गरेको छ ।
वाकाथन मंसिर २४ गते बिहान ७.०० बजे नेपालगन्जको गणेशमान चौकबाट शुरु भई चारबाहिनि, सदरलाई हँुदै नेपालगञ्जको बीपि चौकमा गएर समापन हुनेछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन लगायतका गतिविधिहरु हुने छन् ।
कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझा कार्यक्रमको रुपमा सफल पार्न आयोजकले सबैलाई आग्रह गरेकोे छ ।
कार्यक्रमको भव्यताका लागि बिभिन्न समितिहरु गठन गरिएको छ, समितिहरुले तयारीका सम्पूर्ण कार्यहरु पुरा गरेको आयोजक संस्था बास नेपालले जनाएको छ ।
कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा आयोजकले अपिल गरेको छ ।
चौथो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहँदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ ।
पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।
पहिलो बर्ष २०२१ मा नेपालगञ्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लागयतले सहभागिता जनाएका थिए ।
दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो ।
तेश्रो बर्ष २०२३ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुँदै धम्बोझिमा गएर समापन भएको थियो ।
यसैगरी मंसिर २४ गते बास नेपालले बासको २४ औं बार्षिकोत्सव मनाईने भएको छ । दिउसो १२ बजे सिएसटि होटल एण्ड पार्टी प्यालेसमा एक समारोहको आयोजना गरि बार्षिकोत्सव मनाईनेछ ।
समिति, उपसमिति गठन :
भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन र बासको २४ औं बार्षिकोत्सव सफल पार्न बिभिन्न समितिहरु गठन गरिएको छ ।
बास नेपालका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा आज सम्पन्न तयारी बैठकले निबर्तमान अध्यक्ष रमेश सिटौलाको संयोजकत्वमा बार्षिकोत्सव तयारी समिति र सचिव दिला शाहको संयोजकत्वमा नेपालगञ्ज वाकाथनको तयारी समिति गठन गरिएको छ ।
यसैगरी ८ वटा उपसमिति गठन गरिएको छ । कार्यक्रम प्रबन्धक मन भण्डारीको संयोजकत्वमा संघ, संस्था समन्वय उपसमिति, कार्यक्रम अधिकृत रबिन्द्र बोहराको संयोजकत्वमा शैक्षिक संस्था समन्वय उपसमिति, केन्द्रीय सदस्य तपेन्द्र मलातीको संयोजकत्वमा स्वयंसेवक समन्वय उपसमिति, केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीको संयोजकत्वमा आर्थिक उपसमिति, बास नेपालका निर्देशक हेमराज भट्टको संयोजकत्वमा प्रचार, प्रसार समन्वय उपसमिति, जनसम्पर्क अधिकृत माधव कार्कीको संयोजकत्वमा सुरक्षा, सरकारी निकाय समन्वय उपसमिति र प्रशासन प्रमुख शुद्ध चौधरीको संयोजकत्वमा सचिवालय उपसमिति गठन गरिएको छ ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।