बाँके । कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुसंग समन्वय बैठक गरेको छ । संस्थागत सहकार्यलाई प्रभावकारी बनाउने उद्धेश्यका साथ आयोजना गरिएको समन्वय बैठक नगरपालिकाको सभाहलमा गरिएको थियो ।
कोहलपुर नगरपालिका सामाजिक विकास समितिको आयोजनामा भएको समन्वय बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको उपस्थिती रहेको थियो । बैठकको उद्धेश्यमाथि प्रकाश पार्दै कार्यक्रमका फोकल पर्सन तथा नगरपालिका रोजगार शाखा प्रमुख आशिष बर्माले पालिकामा साझेदार संस्थाहरुको साझेदारीका लागि साझा पहल गर्ने प्रयास प्रारम्भ गरेको बताए । उनले सबै मिलेर कोहलपुर नगरपालिका सामाजिक मुद्दामा पैरवी गर्ने योजनका साथ बैठक गरिएको बताए । समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गैरसरकारी संस्थाको बजेटलाई अब एकद्वार प्रणाली कायम गर्न जरुरी भएको बताए ।
सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिकको अध्यक्षतामा भएको बैठकमा विभिन्न संघसंस्थाहरुले आ–आफ्नो संस्थाले गर्दै आएको कामहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए । सामाजिक विकास तथा दर्ता शाखा प्रमुख वीरबहादुर बिकले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष गौरा भट्टराई, कार्यपालिका सदस्य भुप बहादुर दर्जी लगायतको सहभागिता रहेको थियो ।