नेपालगन्ज/बढ्दो सवारी दूर्घटना न्यूनीकरण सचेतनाका लागि आयोजित नेपालगन्ज स्लो वाईक प्रतियोगिताको पाचौं संस्करण आज सम्पन्न भएको छ ।
नेपालगन्जको न्यूरोडमा सम्पन्न पाचौं नेपालगन्ज स्लो बाईक प्रतियोगिता २०८१ को उपाधी मुश्रीत खानले हात पारेका छन् ।
खानले निर्धारित १०० मिटरको दुरी ५ मिनेट १८ सेकेन्डमा पुरा गरी प्रथम स्थान हासिल गर्न सफल भएका हुन् । प्रतियोगिताको बिजेता भएसँगै खानले नगद रु. १५ हजार र प्रमाण पत्र हासिल गरेका छन् । यसैगरी प्रतियोगितामा दोश्रो र तेस्रो स्थान क्रमशः दिपक यादब ४ मिनेट ४१ सेकेण्ड र नरेन्द्र कुर्मी ४ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गर्दै हासिल गरेका हुन । भने महिला तर्फ दिक्षा बुढाक्षेत्री ३ मिनेट ५ सेकेण्डमा पार गर्दै हासिल गर्न सफल भएका हुन् । दोश्रो र तेस्रो स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमशः नगद रु. १० हजार, ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् ।
नेपालगन्जको न्यूरोडमा भएको प्रतियोगिताको पुरस्कार तथा प्रमण पत्र वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख कमरुद्धिन राईले सवारी दूर्घटना न्यूनीकरणका लागि गरिएको स्लो बाईक प्रतियोगिताले युवाहरुलाई सचेत र सजग गराउने बताए । उनले नेपालगन्ज उपमहानगरपालिकाले समेत सवारी दूर्घटना न्यूनीकरणका लागि कार्य गरिरहेको बताउदै बासले उक्त अभियानमा सहयोग पुगेको बताए । उनले यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिएका थिए ।
बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीकोे अध्यक्षतामा भएको प्रतियोगितामा निर्णायकको भूमिका ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रबिण आचार्य, एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगन्जका प्रबन्धक माधब अर्याल र बासका निर्देशक हेमराज भट्टले गरेका थिए ।
बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।
बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले सञ्चालन गरेको प्रतियोगिताले पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउदा दूर्घटना जस्तो भयावह अवस्था बाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गरेको छ ।
बासको आयोजनामा भएको कार्यक्रममा प्राविधिक सहयोग जिल्ला ट्राफिक कार्यालय बाँकेले गरेको थियो भने कार्यक्रमको मुख्य प्रायोजकमा एमएस टे«ड इन्टरनेशनल हिरो शोरुम नेपालगन्ज, सह प्रायोजकमा यज्ञलक्ष्मी अटो डिष्टीब्यूटर होण्डा शोरुम नेपालगन्ज, ग्रिस एण्ड ग्लोबल ट्रेडिंग प्रालि (टिभिएस) नेपालगन्ज, ग्लोबल आईएमई बैंक नेपालगन्जले गरेको थियो भने सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज, कोहलपुर डेन्टल हस्पिटल, होटल न्यू इन्द्रेणी न्यूरोड र असल शासन मिडियाको सहकार्य रहेको थियो । प्रतियोगितामा ५४ जनाले सहभागिता जनाएका थिए ।