सार्वजनिक स्थानमा धूम्रपान गरे ५ सय जरिवाना

असल शासन प्रतिनिधि

काठमाडौं / महानगरपालिका भित्रका सार्वजनिक स्थानमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । महानगरले यो नयाँ नियम ल्याएको भने होइन।

सूर्तिजन्य पदार्थ (नियन्‍त्रण र नियमन गर्ने) ऐन २०६८ लाई महानगरले कार्यान्वयन मात्र गर्न लागेको सहप्रवक्ता ध्रुव काफ्लेले बताए ।

ऐनमा नै सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा प्रयोग गर्न हुँदैन भनेर उल्लेख छ, उनले भने, सोही ऐन महानगरले कार्यानवयन मात्र गर्न लागेको हो । सार्वजनिक स्थानमा धूम्रपान गर्दा अन्य व्यक्ति र बालबालिकालाई पनि असर पर्ने हुँदा नियमन र नियन्त्रणको काम गरिरहेका हौं । उनले सुर्तीजन्य पदार्थ सेवन गर्नेले नियम पालना गर्नुपर्ने बताए ।

सबै कुरा प्रयोग गर्दा विधि पालना गर्नुपर्ने हुन्छ । अहिले हामीले विधि मात्र अपनाउन खोजेका हौं, उनले भने, हामीले खान पाइँदैन भनेका छैनौं तर तोकिएको ठाउँमा मात्र खानुस् । सार्वजनिक स्थानमा नखानू भनेका हौं । सुरूमा सम्झाउने बुझाउने गरिरहेका छौं ।

विदेशमा सार्वजनिक स्थानहरूमा स्मोकिङ रूमु हुने गरे पनि नेपालमा भने विमानस्थलमा मात्रै छ। उनले तत्काल महानगरले स्मोकिङ रूमु वा जोनको व्यवस्था भने नगर्ने बताए ।

उनले आउँदो भदौदेखि सार्वजनिक स्थानमा ध्रुम्रपान वा सुर्तीजन्य पदार्थ सेवन गरेको भेटिए प्रत्येक पटक पाँच सय रूपैयाँका दरले जरिवाना तिर्नुपर्ने बताए।

  • १५ श्रावण २०८२, बुधबार प्रकाशित

  • Nabintech