जब माहोल उल्लासमय बन्यो

सहभागिहरु खुशी हुँदै रमाए

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ सधैं दौडधुप, व्यस्तता, एउटै तालिका, एउटै कर्म यसरीनैं बितिरहेका हुन्छन् दिनहरु ।

दिउसोको ३.०० बजेको थियो, फेसबुक म्यासेन्जर ग्रुपमा सन्देश आयो आज मित्रता दिवस, दिवसको अवसरमा ५.०० बजे कार्यक्रम छ, सबै जना उपस्थित हुनुहोला, कार्यक्रम ठिक २० मिनेटको मात्र हुनेछ ।

घर जाने समयमा कार्यक्रम, धेरैले निदार खुम्च्याए, धेरैको अनुहार बिग्रियो तर पनि कार्यालय प्रमुखको सन्देश थियो बस्नै पर्यो । प्रसंग, बास नेपालले मनाएको मित्रता दिवसको हो ।

निर्धारित समय भन्दा केही ढिलो गरि शुरु भएको कार्यक्रममा मित्रता दिवसको बारेमा जानकारी दिदैं बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रम शुरु गरे । उनैले २१ वटा गोला टेवलमा राखेर सबैलाई लग्न भने, सबैले गोला लगे, गोलामा एक, एक जनाको नाम थियो, जो कार्यक्रम स्थलमै थिए ।

जसलाई जसको नाम परेको थियो, उसलाई मित्रता दिवसको शुभकामना र हाल सम्म गरेको सहकार्यका लागि धन्यवाद दिनु पर्ने थियो भने अर्काे दिन एक, अर्कालाई मायाको चिनो स्वरुप उपहार दिनु थियो ।

कार्यक्रम शुरु भयो, एक अर्कालाई धन्यवाद दिदै, अँकमाल गर्दै शुभकामना आदान, प्रदान गरियो । एउटै संस्थामा काम गर्ने कर्मचारी, पदाधिकारी बिच भएको सो कार्यक्रममा यसरी पहिलो पटक एक, अर्कालाई धन्यवाद दिईदै थियो, माहोल उल्लासमय बन्यो । अझ एक जनाले सबैलाई हात मिलाउँदै धन्यवाद दिदैं गरेको दृष्य रोचक रह्यो । आफ्नै समकक्षिलाई मात्रै होईन आफु भन्दा अग्रज र आफु भन्दा कनिष्ट कर्मचारीहरुलाई धन्यवाद दिन पाउँदा सबै हर्षित भए ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा र कार्यकारी निर्देशक नमस्कार शाहले सबैलाई धन्यवाद दिदै शुभकामना दिँदा माहोल झन उल्लासमय बन्यो । एकाएक स्वस्फुर्त रुपमा कर्मचारीहरु कम्मर मर्काउन थाले । कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, जनसम्पर्क अधिकृत माधव कार्की नृत्यमा उत्रिहाले ।

असल शासन मिडियाका प्रबन्धक तपेन्द्र मलाती, कार्यक्रम संयोजक शोभा थापा मगर लगायतको टिम ह्याप्पी फ्रेण्डसिप डे भन्दै हुटिंग गर्न थाले । हाँस्य कलाकारको छबि समेत बनाएका कार्यक्रम प्रबन्धक मन भण्डारीलाई काँधमा बोक्न समेत कर्मचारीहरुले भ्याए, निर्देशक हेमराज भट्ट लगाएतको टिम मुस्कुराउन थाल्यो, कर्मचारीहरु रमिता शाह, ज्योती बुढा, राष्टि बुढालाई दृष्य कैद गर्नै हम्मे, हम्मे पर्यो ।

शोभा भण्डारी, जमुना थारु, मिना घर्ति, सुमिता कुमाल, प्रदिप बोहरा, दिनेश चौधरी, शोभा चौधरी, पुष्पा देबकोटा लगायत ससाना झुण्ड बनाएर रमाईरहेका थिए । माहोल यस्तो बन्यो कि २० मिनेटका लागि निदार बिगारेका सहभागिहरुले डेढ घण्टा बितेको पत्तै पाएनन्, सहभागिहरु यसरी हाँसे, रमाए कि जसको लेखाजोखानै गरिएन ।

केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा र बाँके शाखा अध्यक्ष रामु चिडिमार पनि निकै रमाए । यसरी पहिलो दिनको कार्यक्रम सकियो । पछिल्लो दिन बिहान १०.०० बजे सबै जना पुरस्कार सहित कार्यालयमा हाजिर भए ।

पुरस्कार दिँदा पहिले अनुमान गर्नुपर्ने अनि दिनु पर्ने नियम थियो । सोही बमोजिम कसैले फ्रेम, कपडा, कप, डायरी, अण्डा आदि उपहार एक, अर्कालाई प्रदान गरे ।

अघिल्लो दिनको कार्यक्रममा सहभागि हुन नपाएका हंश शाही र जानकी बिकले दुःख प्रकट गरे तथापी उपहार एक, अर्कालाई प्रदान गरे ।

यसरी एक, अर्कालाई धन्यवाद, उपहार दिएर मित्रता दिवस भव्यताका साथ मनाईयो ।

कर्मचारीहरुले पहिलो पटक खुलेर एक, अर्कालाई धन्यवाद ज्ञापन गर्न पाएको भन्दै खुशी व्यक्त गरे । केन्द्रीय अध्यक्ष बर्माले कार्यक्रमबाट आफु निकै खुशी भएको उल्लेख गर्दै कार्यक्रम समापन गरेका थिए ।

मित्रता दिवस के हो ?

अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो ।

अधिकांस देशहरुले अगस्टको पहिलो आइतबार यो दिवस मनाउने गर्दछन् । मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले शुरू गरेका हुन् । उनले नै पहिलो पटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने आइडिया निकालेका थिए, तर ग्रीटिङ कार्डस इन्डष्ट्रीले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि गरिएको थियो ।

सन् १९५८ को ३० जुलाईमा पराग्वेमा संसारको पहिलोपटक डा. रामोन आर्टेमियो ब्राचोले  मित्रता दिवस मनाएका थिए । वल्र्ड फ्रेन्डशिप क्रुसेड नामक संस्थाले त्यही मितिमा फ्रेन्डशिप डे मनाउने प्रस्ताव गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा ३० जुलाईलाई फ्रेन्डशिप डेका रूपमा मनाइने घोषणा गरेको थियो । त्यसपछि फ्रेन्डशिप डे अर्थात मित्रता दिवसलाई आधिकारिक मान्यता दिइयो ।

प्रसंग मित्रता दिवसकै

सुदामाले कृष्णलाई सोधे

कृष्ण, मित्रताको मतलब के हो

कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौँ स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुन कालागि निस्वार्थ हुन जरुरी छ ।

गीतहरूमा मित्रता

नारायण गोपालले पनि बडो गज्जबले गाएका छन्, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जिन्दगीमा भनेर । त्यसपछि पनि धेरै गीतहरू मित्रताको भावना अनि मर्म बोकेकै भरमा चर्चित र कालजयी बनेका छन् । दुना र टपरी देखी माटो र ढुगांसम्मको मित्रताका गाँथाहरु अनि फुल र काँढाका पनि मित्रताका गाँथाहरु हामीले जानेका र बुझेका छौं, हैन र ?

सुगम पोखरेलको मेरो एउटा साथी छ देखि दीपेश पोखरेलको के म तिम्रो साथी बन्न सक्छु लगायत अन्य थुप्रै छन् मित्रताका गीतहरू । घर देखि स्कुलसम्म, बस्तुभाउ चराउन देखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि विभिन्न देशबिदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैव हुने गर्दछ । वास्तवमा संसारले प्रेमलाई झैँ मित्रतालाई पनि आफ्ना साहित्य, कला अनि कथनहरूमा उत्तिकै महत्त्व दिएको छ, मित्रताका बारेमा धेरै चलचित्र, गीत, कथा अनि कविता कथिएका छन् ।

गाँस छाड्नु तर साथ नछाड्नु

आज सम्झना गरौँ न, कक्षाकोठामा सिसा कलम समाएको बेला इरेजर र सार्पनर सापट माग्दादेखि पछि ठूलाठूला खनखाँचोमा भावना र श्रीसम्पत्ति साट्दासम्म साथ दिएका लिएका मित्रहरूलाई । इजार या इलास्टिक खुकुलो भएको कट्टु समाउँदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पतालका कुरासम्मको साथको आज चर्चा गर्न चाह्यौँ । गाँस छाड्नु तर साथ नछाड्नु भन्ने उखान त्यसै कथिएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरूमा सहृदय र सद्भाव भएका मित्रहरूको पाइलाका डोबहरू यादगार रहने गर्दछ । लुकामारी खेल्दा ढ्याप्पा गरेका साथीहरू देखी भागेर फिल्म हेर्न गएकाहरू सम्म, लुगा साटासाट गरेका जिग्रीहरूदेखि कपी साटेका पढन्तेहरू सम्म, अनेक रूप र स्वरूपका मित्रहरू हाम्रो बाल्यकाल, वयस्क अनि बुढेसकाल गर्दै जीवनैभरि गाँसिएका हुन्छन् ।

मदर टेरेसाका शब्दमा भन्न चाह्यौँ

आफ्ना मित्रलाई सिद्ध हुन भनेर आस नराख बरु आफ्ना मित्रका कमीकमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर । यस अर्थमा हामीहरूले मित्र अनि सङ्गतबाट पनि धेरै कुराहरू सिकेका हुन्छौ । अर्कोतर्फ सत्य अनि सही मित्रहरू छान्न नसक्दा हुने पथभ्रमता पनि आफ्नो ठाउँमा छ, सही मित्र अनि सत्य मित्रता छान्न सक्नु हाम्रो भागको दायित्व पनि त हो ।

  • १९ श्रावण २०८२, आईतवार प्रकाशित

  • Nabintech