सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिकहरुको हालत खस्ता

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय बाणिज्य बैंकको नेपालगन्ज उपमहानगरपालिका काउन्टरमा पुग्छन् । जहाँ जेष्ठ नागरिकहरु सेवा लिनका सास्ती भोग्दै आएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको सटरमा रहेको उक्त काउन्टरमा कर्मचारीहरु बातानुकुलित अवस्थामा बसेर सेवा दिईरहँदा सेवा लिने जेष्ठ नागरिकहरू चर्को गर्मीमा सडककै छेउमा घण्टौँ उभिन बाध्य छन् । उनीहरुलाई न बस्ने ठाउँ छ न शितल छहारीनै न त पिउने पानीकै व्यवस्था गरिएको छ । सरोकारवालाहरु यस बिषयमा बेखवर जस्तै छन् ।

सामाजिक सुरक्षा भत्ता बितरण कार्यबिधि २०८२ बमोजिम स्थानीय तहले तयार गरेको लाभग्राहीको अद्यावधिक बिबरण र भुक्तानी आदेशको आधारमा कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट सम्बन्धित लाभाग्राहीको बैंक खातामा उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई ब्यवस्थित बनाउनको लागि सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ जारी गरी सोही अनुसार यो कार्यक्रम सञ्चालन भईरहेको छ ।

हरेक चौमासिकमा एक पटक अर्थात् वर्षमा तीन पटक भत्ता वितरण गर्ने कानुनी प्रावधान छ, सोही प्रावधान बमोजिम भत्ता बितरण भईरहेको हुन्छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्ने दिन र समयमा लाभग्राहीहरु स्थानीय तहले तोकेको मिति र स्थानमा परिचयपत्र सहित उपस्थित भई भत्ता लिनु पर्ने कानुनी व्यवस्था बमोजिम कतिपय पालिकाहरुले घरदैलोमैं भत्ता बितरण गर्ने व्यवस्था गरिरहँदा नेपालगञ्जमा भने बैंकमैं जानु पर्ने बाध्यता छ ।

नेपालगञ्जका सबै वडाका जेष्ठ नागरिकहरु नेपालगञ्ज उपमहानगरपालिकाको सटरमा भएको काउण्टरमा सामाजिक सुरक्षा भत्ता लिन आउँछन्, जहाँबाट अपमानपूर्ण तवरले सास्ति भोग्दै आफ्नो भत्ता लिएर जान्छन् ।

अघिल्लो चौमासिकको भत्ता रकम दोश्रो वा तेश्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ तर एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा लिन सकिँदैन । यो प्रावधान पनि धेरै जेष्ठ नागरिकहरुलाई थाहा छैन ।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको नाममा बैङ्कमा व्यक्तिगत बचत खाता खोली सोही खातामा स्थानीय तहले भत्ता वापतको रकम पठाइदिने र सेवाग्राहीले आफ्नो इच्छा अनुसार रकम निकाल्न सजिलो होसे भनेर बैङ्क मार्फत भत्ता वितरण गर्ने गरिन्छ, यसबाट सुबिधा हुनुपर्ने हो, जेष्ठ नागरिकलाई तर उल्टै सास्ति भईरहेको छ ।

बाँकेकै डुडवा लगायतका केही पालिकाहरुले बैंकसँग समन्वय गरेर घर, घरमा सामाजिक सुरक्षा भत्ता बितरण गरिरहँदा नेपालगञ्ज उपमहानगरपालिकाले बैंक मार्फत बिरतण गरेर जेष्ठ नागरिकहरुलाई सास्ति दिईरहेको छ ।

चर्काे गर्मीमा लाईन लागेर भत्ता लिने जेष्ठ नागरिकहरु आफुलाई धेरै दुःख भएको बताउँछन् ।

यस बिषयमा बास नेपाल र ईन्प्रोकको संयुक्त टोलीले स्थलगत अवलोकन, अनुगमन गरि सो बिषयमा राष्ट्रिय बाणिज्य बैंकका प्रबन्धक सरोज आचार्यको ध्यानाकर्षण गराएको छ । उनले तत्काल सामाजिक सुरक्षा भत्ता बुझ्न आउने जेष्ठ नागरिकलाई पानी उपलब्ध गराउने र १ महिना भित्र पानी र घाम बाट सुरक्षित गराउन ट्रसको ब्यबस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसबाट केही हदसम्म भएपनि राहत त होला तर यो दिगो बिकल्प होईन, यस बिषयमा तत्काल सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

  • २१ श्रावण २०८२, मंगलवार प्रकाशित

  • Nabintech