आमाको निधन पछि बिक्षिप्त बनेका जगन्नाथ

उनी भन्थे - त्यहाँ गन्ध आउँछ आमाको चिहानको

असल शासन प्रतिनिधि

मंगलसेन बजारका भित्ताहरू उसकै पाइला र पसिनाले चिनिएका थिए। नाम थिएन ठूला मान्छेहरूजस्तो, न कुनै सरकारी पद। तर बजारमा बिहान सिउँदोमै उभिने मान्छेहरू भन्थे- “पहिला उसको पाइला खस्छ, अनि मात्र बजार खुल्छ।” उसकै भनेको नाम हो – जगन्नाथ खनाल।

जगन्नाथको दिनचर्या सरल थियो । बिहान उठ्ने, बजार डुल्ने र जसले जे काम लगायो, त्यही गर्ने । पछिल्लो समय उनी लक्षीप्रसाद भाटको ग्यास पसलमा काम गर्थे । ‘उहाँ मेरो पसलमा आउनुहुन्थ्यो, ग्यास सिलिन्डर घर–घरमा पुर्‍याइदिनु हुन्थ्यो । एउटा सिलिन्डर पुर्‍याएबापत सय रुपैयाँ लिनुहुन्थ्यो । कहिलेकाहीँ पैसाभन्दा पनि खानाकै भरमा काम गरिदिने । जगन्नाथले भारी बोकेकै भरमा हुने कमाइबाट जीवन गुजारा गरे । प्रहरी जवान खेम बोगटीका अनुसार जगन्नाथको एउटा अनौठो बानी थियो– उनी महिलाको कपडा लगाउँथे, तर यो उनको लैङ्गिक पहिचानको कारणले थिएन ।

उनका भतिजा ताराप्रसादले यसको कारण खोल्दै भने, ‘उहाँ कहिलेकाहीँ अलिअलि मदिरा पिउनुहुन्थ्यो । केटाहरूले पैसा माग्ने, दुःख दिने गर्न थालेपछि त्यसबाट बच्न उहाँले महिलाको लुगा लगाउन थाल्नुभएको हो । महिलाको भेषमा हिँडेपछि कसैले जिस्काउँदैन, पैसा माग्दैन भन्ने उहाँको सोच थियो ।’ उनी जीतेन्द्र शाहको खाली घरमा एक्लै बस्थे । दिनभरि काममा नदेखिएपछि र घरबाहिर ननिस्किएपछि स्थानीयले खोजखबर गर्दा उनी अन्तिम सास फेर्दै थिए । अस्पताल पुरर्‍याउने तयारी गर्दागर्दै उनले प्राण त्यागे ।

६५ वर्षको थियो जब मृत भेटियो, एउटा खाली घरको कुनामा। शरीर चिसिएको थियो, तर अनुहारमा शान्त मुस्कान झल्किँदै थियो- जस्तो भनिरहेझैँ : “जीवन यही हो, पसिनाको तापले न्यानो, आत्मसम्मानको छाताले ओढिएको।” उनी ठाडो थिए, शब्दहरू चर्का थिएनन् तर आत्मा काँप्ने गरी गहिरा थिए। १२–१३ वर्षको उमेरमै आमा बितिन्। त्यो शोक यति गहिरो भयो कि उनले गाउँ छाडे, दाजुभाइ, अंश, बारी सबै छोडे। कहिल्यै फर्किएनन्।

आफ्ना दाइ बित्दा, आफ्नै भाइ मरे पनि फर्किएनन्। भतिजाहरूले कर गरे, गाउँ डाके- तर उनले आँखा फर्काएनन्। उनि सधैं गाउँ फर्किन् भन्ने गर्थे “त्यहाँ गन्ध आउँछ आमाको चिहानको”। त्यो सानो वाक्यभित्र एउटा जिन्दगीको घाउ बाँधिएको थियो, जुन उनले कहिल्यै देखाउन चाहेनन्।

नगरपालिकाको कर्मचारी आए, पत्रकार आए, भतिजा आए- “हजुरलाई नागरिकता बनाइदिन्छौँ, सरकारको वृद्धभत्ता आउँछ”, भनेर। उनले सुनिरहे, मुस्काए अनि भने, “म सित्तैको पैसा खाँदिन। मेरो बुवाआमा लेखिएको कागज देख्न सक्दिन म। मलाई मेरो पसिनाको मोल चाहिन्छ, अनुदान होइन।” ‘मैले सरकारको सित्तैको पैसा किन खाने ? म आफ्नो पसिनाले कमाएर खान्छु । उनलाई थाहा थियो– नागरिकता भएमा वृद्धभत्ता आउँछ, तर उनलाई त्यो सित्तैको धनको कुनै लालच थिएन ।

उनको लागि आत्मसम्मानभन्दा ठुलो अरू केही थिएन र त्यो आत्मसम्मान उनले आफ्नो पसिनाले किनेका थिए । कसैको विश्वास नलाग्ने कुरा हो- जब हजारौंले किर्ते गरेर पैसा लिइरहेका छन्, तब एउटाले आफ्ना आँखा र आत्मा दुबै टोलाउँछ भन्ने। बिहीबार उनको शव भेटिँदा, एकैछिनमा खबर फैलियो। पसल बन्द भए, ग्राहक फर्किए, घण्टाघर चुप लाग्यो।

उनी जसको घरमा सिलिन्डर बोक्थे, जोसँग भारी बोक्थे- सबैका आँखामा आँसु टिलपिलाए। सपना नदेख्ने मान्छेको मृत्युले सपना देख्ने बजारलाई रुवायो। उनका लागि सिंगो बजारले ४५ हजार संकलन गर्‍यो। जसले जीवनभर मागेनन्, उनको अन्तिम यात्राका लागि सबै आए। “हामी सबै उहाँका परिवार हौं”, लक्षीप्रसाद भाटले भने। “उहाँले हामीलाई जीवनभर एकपटक पनि कर गरेनन्। हामीले कर्जा तिर्‍यौँ आज।” उनको शरीर चितामा गयो। खरानीले फेरि सम्झायो- नामले होइन, आत्माले चिनिन्छ मान्छे।

कसैले राष्ट्रको पहिचान बनाउँछ भनेर झूठ बोल्छ, कसैले नागरिकता लिन्छ भनेर खुट्टा चुम्छ। तर एक जना बुढो मजदुरले भने- “मलाई आत्मसम्मान चाहिन्छ, कागज होइन।” ‘हामीले उहाँको सम्मानमा चार घण्टा बजार बन्द गर्‍यौँ,’ भाटले भने, ‘उहाँ लामो समयदेखि हामीसँगै हुनुहुन्थ्यो । उहाँको कोही छैन भन्ने हामीलाई थाहा थियो । त्यसैले हामी सबै मिलेर उहाँको काजकिरियाका लागि सहयोग जुटाएका छौँ ।’ बजारवासीले करिब ४०–४५ हजार रुपैयाँ संकलन गरेर उनको अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गर्ने तयारी गरेका छन् । जो मान्छेले जीवनभर कसैसँग केही मागेनन्, उनको अन्तिम यात्राका लागि आज सिंगो बजारले स्वतःस्फूर्त सहयोग गरिरहेको छ ।

योभन्दा ठुलो सम्मान र कमाइ एउटा मानिसका लागि अरु के हुन सक्छ ? जगन्नाथ खनालको कथा सकिएको जस्तो लाग्छ, तर त्यो कथा हरेक नेपाली मनमा प्रश्न बनेर बाँकी छ- “के हामीले हाम्रो आत्मसम्मानको मूल्य थाहा पाएका छौं?” “के अझै पनि जीवनको मूल्य पैसाले मात्र नापिन्छ?” जगन्नाथको खरानी आकाशमा उड्यो, तर त्यो खरानीले अहिले पनि सास फेर्दैछ- साँचो इमान, निष्कलंक जीवन र नझुक्ने स्वाभिमानको गन्ध लिएर।

bpkhabar बाट

  • २५ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech