बाँके/ अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा बाँकेको नेपालगन्जमा बाँके युथ कनक्लेभ गरिएको छ ।
कार्यक्रमको संयोजन गर्ने संस्था बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गैर सरकारी संस्था महासँघ बाँके शाखाको आयोजना, बास नेपालको संयोजन, बाँकेका आठ ओटै स्थानीय तहहरुको सहकार्य र विभिन्न संसघसंघ संस्थाहरुको समन्वयमा सो कार्यक्रम भएको हो ।
दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार भन्ने मुल नाराका साथ भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख चौधरीले युवा बर्ग देश विकास र समृद्धिको आधार रहेको बताए । युवाहरुका लागि प्रयाप्त कार्यक्रम नहुदा युवाहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण हुन नसकेको बताउदै सबैले यसमा गम्भिर हुनुपर्नेमा जोड दिए । उनले युवा दिवसलाई साझाँ कार्यक्रमको रुपमा बनाउनुले सकारात्मक सन्देस प्रवाह भएको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले युवाहरुलाई स्वदेशमा नै काम गर्ने वातावरण सिर्जना गर्न पालिकाले योजना गरिरहेको बताए । उनले युवा स्वरोजगार, शिप विकास र स्वरोजगारका कार्यक्रमलाई पालिकाले बढावा दिने बताए । युवा र स्थानीय सरकार बिचको समन्वयले मात्रै स्थानीय तहमा समृद्धी सम्भव हुने भन्दै त्यसका लागि सबै युवाहरु अग्रसर हुनुपर्नेमा उनको जोड थियो ।

यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षण ले समाजमा सकारात्मक सन्देस प्रवाह गर्न र शान्ति सुव्यवस्था कायम गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताए । खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले युवाहरुका लागि नीति धेरै भएपनि कार्यान्वयन पक्ष कमजोर हुदा युवाहरुका लागि अपेक्षा अनुरुप काम हुन नसकेको बताए । उनले स्थानीय तहको नीति निर्माणको प्रक्रियामा युवाहरुलाई अग्रसर भएर लाग्न अनुरोध गरे ।
कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले युवा दिवस, युवाका सवाल र युवा सहभागिताका बिषयमा छलफल पत्र प्रश्तुत गरेका थिए । गैसस महासँघ नेपाल बाँके शाखाका सदस्य राजन बर्माले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश जिल्ला युवा क्लब सञ्जाल बाँकेका अध्यक्ष आशिष बर्माले गरेका थिए । कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले गरेका थिए । कार्यक्रममा बास ब्राइटल्याण्ड युवा पुरस्कारको घोषणा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।









