अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले आर्थिक बर्ष २०८१/८२ मा ९ सय ३ उजुरी दर्ता भएको बताएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोग तथा समन्वयमा बिहिबार सम्पन्न भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबन्द्र्धन विषयक अन्तरक्रिया कार्यक्रम सो तथ्याँक प्रस्तुत गरिएको हो । दर्ता भएका उजुरी मध्ये अधिकांश स्थानीय तहका रहेको आयोगले जनाएको छ । ’तथ्यांकगत रुपमा हेर्ने हो भने स्थानीय तहमा विकास निर्माण र शिक्षा सम्बन्धि उजुरी सबै भन्दा धेरै छन् ।

बाँके जिल्लामा गत आर्थिक बर्ष २०८१/८२ मा जिम्मेवारी सरेर आएका १० उजुरी सहित सबैभन्दा बढी ३४ वटा उजुरी कोहलपुर नगरपालिकाको परेको आयोगको कार्यालय नेपालगन्जका प्रमुख शम्भु प्रसाद रेग्मीले बताए । यस्तै नेपालगन्जको २९, डुडुवा २८ र नरैनापुर गाउँपालिकाको २३, राप्तीसोनारी गाउँपालिकाका १८, जानकी गाउँपालिकाका ८, बैजनाथ गाउँपालिकाका ६ र खजुरा गाउँपालिकाका ७ वटा उजुरी परेको उनले बताए । सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दा पनि स्थानीय सरकारविरुद्ध अख्तियारमा उजुरी धेरै परेको रेग्मीले बताए । उनले सार्वजनिक खरिद ऐनलाई पूर्णरुपमा पालना गरेर काम गर्न आग्रह समेत गरे ।
२०८१/८२ मा परेका उजुरीहरुमध्ये ८७.२६ प्रतिशत उजुरी फछ्र्यौट गरेको प्रमुख रेग्मीले बताए । आर्थिक बर्ष २०८१÷८२ मा आयोगको कार्यालय नेपालगन्जमा कुल ९ सय ३ उजुरी परेकोमा ७ सय ८८ उजुरी फछ्र्यौट गरेको रेग्मीले भनाइ छ । कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख रेग्मीले ८७.२६ प्रतिशत उजुरी फछ्र्यौट भएको बताएका हुन् । प्रमुख रेग्मीका अनुसार गत आ.व. मा १ सय १५ वटा उजुरी जिम्मेवारी सरेको छ । आयोगका देशभरका ७ वटा कार्यालयहरुको तुलनामा नेपालगन्ज सबैभन्दा धेरै उजुरी फछ्र्यौट गर्ने कार्यालय रहेको उन्को भनाइ छ । बाँके, बर्दिया, दाङ र रोल्पा गरी चार जिल्ला कार्य क्षेत्र रहेको आयोगको नेपालगञ्ज कार्यालयमा गत वर्ष सबै भन्दा बढी दाङ जिल्लाबाट ३ सय ५६, बाँके बाट ३ सय ११, बर्दियाबाट १ सय ४४ र रोल्पा जिल्लाबाट ९२ उजुरी परेको रेग्मीलेको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सुशासन प्रबद्र्धनका लागि प्रतिबद्ध रहेको बताउँदै सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुको नियत सफा र आचरण शुद्ध हुनुपर्नेमा बताए । सबैले आफ्नो पदिय दायित्व र जिम्मेवारी इमान्दारीतापुर्वक पुरा गर्ने हो भने भ्रष्टाचार नियन्त्रण हुने बताउदै यो कार्यमा सार्वजनिक पद धारण गरेका ब्यक्तिहरु सचेत भएर लाग्नुपर्ने प्रमुख विष्टको भनाइ थियो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सुशासनलाई मूल मन्त्र मानेर कार्य सम्पादन गरे भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्ने बताए । कार्यक्रममा कार्यक्रम अख्तियार नेपालगञ्ज कार्यालय प्रमुख रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले आयोगलाइ बिभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, गैरसरकारी संस्था महासंघ नेपालका बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना र बिभिन्न नागरिक समाजका प्रतिनिधि, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायत पत्रकारहरु, नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न शाखा प्रमुख, वडा सचिव, नेपालगन्जस्थित क्याम्पसका प्रमुख, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, लगायतको सहभागिता रहेको थियो ।









