शारदा नगरपालिकाले सञ्चालनमा ल्यायो नगरबस

असल शासन प्रतिनिधि

सल्याकाे शारदा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएकाे छ । जिल्लाकाे सदरमुकाम समेत रहेकाे शारदा नगरपालिकाले जिल्लामै पहिलोपटक नगरबस सञ्चालनमा ल्याएको हो ।

शुक्रबार नगरपालिकाकाे श्रीनगरस्थित बसपार्कमा मेयर प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता साप्काेटा र प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले नगरबसको सेवा शुभारम्भ गरेका हुन् ।

हिन्दुहरूको महान् पर्व बडादशैंकाे समयमा पूजाआजा गर्न खैरावाङ भगवती मन्दिरसम्म पुग्न भक्तजनलाई लक्षित गरी शुक्रबारबाट श्रीनगरदेखि खैरावाङसम्म नगरबस सञ्चालन गरिएको शारदा नगरपालिकाका प्रवक्ता राजेशकुमार शर्माले बताए । मन्दिरसम्म पुग्ने भक्तजनको भिड र यातायातको सहजताका लागि श्रीनगर खैरावाङ नगरबस सञ्चालनमा आएको शर्माको भनाइ छ ।

दसैँपश्चात् श्रीनगरदेखि सदरमुकाम खलंगा नगरबस सञ्चालन गरिने मेयर प्रकाश भण्डारीको भनाइ छ । नगरबस नियमित रूपमा चलाएर जनतालाई सेवा दिनु आफ्नो पहिलो कर्तव्य भएको उनको भनाइ छ । बडादसैँ अवधिभर न्यूनतम भाडादर रु. ५० मा श्रीनगरदेखि खैरावाङ मन्दिरसम्मको निर्धारण गरिएको छ । विगतमा नगरपालिकाको आन्तरिक राजस्वबाट बस खरिद गरी ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको प्रमुख भण्डारीकाे भनाइ छ ।
दसैँमा मन्दिरसम्म पुग्न महँगोमा अन्य सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यतामा नगरपालिकाले सस्तो दरमा नै मन्दिरसम्म पुग्न बस सञ्चालन गरेकोमा निकै खुसी लागेको स्थानीयहरुकाे भनाइ छ।

 

  • १० आश्विन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech