बरिष्ठ कलाकार निर्माेहीको उपचार सहयोगार्थ समिति गठन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/बरिष्ठ बरिष्ठ कलाकार कमल बि.के निर्माेहीको उपचार सहयोगार्थ समिति गठन भएको छ ।

मृगौला रोगबाट पीडित निर्माेहीको उपचार सहयोगका लागि समिति गठन भएको हो ।

बास नेपालको संयोजनमा आज नेपालगञ्जमा भएको भेलाले बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा ७ सदस्सिय समिति गठन गरेको छ ।
गठित समितिको सदस्यमा नेपालगञ्ज उपमहानगरपालिकाकी निबर्तमान उपप्रमुख उमा थापा मगर, बरिष्ठ कलाकार सुन्दर गुरुंग, जित बहादुर थापा, सञ्चारकर्मी शुक्रऋषि चौलागाईं, नेपाल उद्योग बाणिज्य संघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ र साहित्यकार दिला शाह रहेका छन् ।

समिति मार्फत सहयोग संकलन गर्ने र उपचारमा सहयोग पुर्याउने उद्धेश्यले समिति गठन गरिएको हो ।

तीन दशकभन्दा बढी समय नेपाली लोकसंगीत र सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी बिगत डेढ बर्ष देखि अस्वस्थ छन् । अस्वस्थ भएर नेपालगन्जस्थित आफ्नै घरको ओछ्यानमा निर्माेही सीमित बनेका छन् ।

सञ्चार र संगित कर्मका माध्यमबाट दर्शक र श्रोतालाई मनोरञ्जन दिने वरिष्ठ रेडियोकर्मी तथा लोकगायक निर्मोही अहिले जीवनकै कठिन अवस्थासँग मुकाबिला गरिरहेका छन् ।

लामो समय रेडियो नेपालमा काम गरेका निर्माेही र साँस्कृतिक मेला, महोत्सव यस क्षेत्रका लागि कुनै बेला प्रयायबाची जस्तै थिए । निर्माेही बिनाका साँगितिक कार्यक्रम बिरलै हुन्थे । उनी बिनाको स्टेज आयोजकले कल्पना समेत गर्दैनथिए ।

कुनै बेला यस्तो थियो निर्माेहीको आवाज रेडियोमा सुन्न, उनलाई भेट्न मान्छेहरु मरिहत्ते गर्थे, बेला अहिले यस्तो आयो कि बिरामी भएर थला परेका निर्माेही आफुलाई कोही भेट्न आईदिए हुन्थ्यो भन्ने अवस्थामा छन् ।

रेडियो र स्टेज कार्यक्रममा श्वरको जादु चलाउने उनको आवाज यति बेला लर्बरिरहेको छ । रोगले गर्दा एउटा खुट्टा र हात चलाउन असहज भईरहेको छ । आफै उठ्न, बस्न सक्ने अवस्थामा उनी छैनन् ।

लोकप्रिय गितहरु गाएर दुनियाँलाई मनोरञ्जन दिने उनी आफु रोगले थला पर्दा गुमनाम हुनुको पीडामा छन्, पीडाले बेला, बेला भक्कानिन्छन् ।

उनले सयौं स्टेज कार्यक्रममा उद्घोषण गरे भने सयौंको संख्यामा लोकगीतहरु गाए, उनकै कारणले धेरै व्यक्तिहरु कलाकार, सञ्चारकर्मी बने, उनका कैयौं गितहरु गाउँबस्तिमा अहिलेपनि गुञ्जिन्छन् । उनले जीवनभर सञ्चार र कलासँग सम्बन्धित काममै आफुलाई समर्पित गरे ।

प्रेसर र सुगर रोगबाट पीडित उनको मिर्गौला फेल भएपछि उनी पूर्णरुपमा अस्वस्थ बने । अहिले उनको भेरी अस्पतालमा उपचार भईरहेको छ । हाल सम्म उनको उपचार परिवारले गरिरहेको छ । निरन्तर उपचारका लागि आर्थिक अभाव हुन थालेको उनको भनाई छ ।

डायलाइसिस निःशुल्क भएपनि औषधि लगायतको खर्चका लागि सहयोग आवश्यक रहेको उनले बताए । हप्तामा दुई पटक डायलाइसिस गरिरहेका निर्माेहीको दुबै मृर्गाैला फेल भएका कारण नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक छ । जसका लागि मिर्गाैला दान गर्ने दाता र आर्थिक सहयोग गर्ने दाताहरुको आवश्यकता उनलाई छ ।

प्युठान पुर्खाैली घर भई दाँग हुँदै २०३५ साल देखि नेपालगञ्जमा बसोबास गर्दै आएका उनले लामो समय रेडियो नेपाल सुर्खेतमा काम गरे भने नेपालगञ्जका बागेश्वरी, हिमाल, जनआवाज लगायतका एफएम, भिजन, जि नेपाल एचडि टेलिभिजनहरुमा काम गरे ।

दांगमा जन्मिएका निर्माेहीले कोमल ओली लगायतका बरिष्ठ कलाकारहरुसँग बिभिन्न गितहरुमा श्वर दिएका छन् । मोफसलमा रेकर्डिग स्टुडियो नभएको बेला नेपालगञ्जमा वेभ डिजिटल रेकर्डिग स्टुडियो स्थापना गरि यस क्षेत्रका कलाकारहरुलाई सहजन बनाएका उनले नेपाल टेलिभिजन कोहलपुरबाट सप्तरंगि संगित लहर साँगितिक कार्यक्रम लामो समय सम्म सञ्चालन गरेका थिए ।

 

  • १ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech