महेन्द्रनगर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल र जेनजी आन्दोलनका क्रममा क्षति संकलन गर्न धनगढी पुगेका जाँचबुझ आयोगका सदस्य बिच भनाभन भएकोछ ।
भीमदत्त नगरपालिका आज आयोजित एक कार्यक्रममा पूर्व मुख्यमन्त्री रावल र आयोग सदस्य विश्वेश्वर प्रसाद भण्डारी बीच विवाद भएको हो ।
श्रोतले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख र अन्य सरोकारवालासँग छलफल आयोजना गरिएकोमा उक्त कार्यक्रमको पूर्व मुख्यमन्त्रीलाई निमन्त्रणा गरिएको थिएन । कार्यक्रम भइरहेको जानकारी पाएपछि पूर्व मुख्यमन्त्री रावल कार्यक्रममा पुगेका थिए । कार्यक्रममा पुगेपछि पूर्व मुख्यमन्त्री रावलले जेनजी आन्दोलनमा आफ्नो घर जलेको, बालबच्चा प्रभावित भएको र आयोगका सदस्यले उचित सूचना नदिएको भन्दै आक्रोश व्यक्त गरेपछि भनाभन भएको कार्यक्रममा सहभागिहरुले बताए । सरोकारवालासँग छलफल भनीएको कार्यक्रममा खास सरोकारवाला को हुन हामीलाई नै खबर छैन भन्दै आक्रोशित देखिएको बुझिएको छ ।
पूर्व मुख्यमन्त्रीसँग जाँचबुझ आयोगका सदस्य बिच बिवाद र भनाभन भएपछि कार्यक्रम रोकिएको बताईएको छ । अहिले जाँचबुझ आयोगका पदाधिकारीहरु जेनजी आन्दोलनको क्षतिबारे सूचना संकलन गर्न देश ब्यापी रुपमा रहेका छन् ।









