नेता आलमको अवस्था नाजुक

असल शासन प्रतिनिधि

काठमाडौँ/ नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको जनाइएको छ ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका अनुसार उनको अहिले भेन्टिलेटरमा उपचार भइरहेको र अवस्था अत्यन्तै नाजुक रहेको छ।

आलमलाई रौतहटको राजापुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घाइते पिन्टु भनिने त्रिलोकप्रताप सिंह राजपुत र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जिल्ला अदालतले २०८१ वैशाख १३ गते आलम र अन्य तीनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

त्यसविरुद्ध आलमले गरेको पुनरावेदनमा गत १४ जेठमा सुनुवाइ गर्दै वीरगञ्ज उच्च अदालतका न्यायाधीशद्वय खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएपछि त्यसैदिन नख्खु कारागारबाट छुटेका थिए ।

कारागारबाट छुटेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या देखिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
एक साता बढी उपचारपछि डिस्चार्ज भएका आलमलाई फेरि त्यही समस्या बल्झिएपछि दसैँ अगाडि केएमसी अस्पतालमा भर्ना गरिएको थियो । केही दिन राखेर डिस्चार्ज भएका आलमलाई फेरी समस्या बल्झिएपछि तिहारअघि पुनः भर्ना गरिएको हो ।
उपचारकै क्रममा थप समस्या भएपनि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको हो।

  • १४ कार्तिक २०८२, बिहीबार प्रकाशित

  • Nabintech