समाज परिवर्तका लागी संघर्षरत सुनिता चिडिमार

असल शासन प्रतिनिधि

पश्चिम तराईको बाके जिल्ला नेपालगन्ज उपमहानगरपालिका १२ निबासी मधेसी समुदायमा जन्मेकी सुनिता चिडिमार युवतीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन् । जसले समाजका परम्परागत बेडामा बाँधिएको जीवनबाट स्वतन्त्र सोच्न थालेका छन्। उनी अहिले बाल विवाहविरुद्धको अभियानमा सक्रिय सामाजिक अभियन्ता हुनुका साथै स्वास्थ्य स्वयंसेविका र महिला सशक्तीकरण कार्यक्रमकी सशक्त अगुवा हुन्।

सुनिताले बाल्यकालमा आफ्नै वरिपरि धेरै छोरीहरूले कम उमेरमै विवाह गर्नुपरेको देखेकी थिइन्। परिवार र समाजले “परम्परा” भनेर बाल विवाहलाई सामान्य ठानेको अवस्था उनका लागि पीडादायी अनुभव थियो। यही अनुभूति नै उनका लागि परिवर्तनको प्रेरणा बन्यो। अहिले सुनिता विभिन्न गाउँ–टोलमा पुगेर घरदैलो कार्यक्रम, विद्यालयमा सचेतना कक्षा, धार्मिक स्थलमा संवाद, र किशोरी समूहहरूसँग छलफल गर्दै समाजमा नयाँ चेतना जगाइरहेकी छन्। उनको मुख्य सन्देश छ। “छोरीहरूलाई पनि शिक्षा, स्वास्थ्य र समान अवसर चाहिन्छ। उनीहरूको भविष्य विवाहको उमेरले होइन, सपनाले निर्धारण गर्नुपर्छ।

मधेसी र मुस्लिम समुदायमा बाल विवाह अझै पनि ठूलो सामाजिक चुनौतीका्े रुपमा रहेको छ। धेरै परिवारहरूमा गरिबी, अशिक्षा र परम्परागत सोचका कारण बाल विवाह हुने गर्छ। तर पछिल्ला वर्षहरूमा सुनिता जस्ता अभियन्ताहरूको निरन्तर प्रयासले समाजको सोचमा परिवर्तन आउन थालेको छ। अब धेरै अभिभावकहरूले छोरीहरूको पढाइलाई प्राथमिकता दिन थालेका छन्, । किशोरीहरू पनि आफ्ना अधिकार र स्वतन्त्रताबारे खुलेर बोल्न थालेका छन्।

सुनिता जीले आफ्नो अभियानलाई सरकारी निकाय, स्थानीय विद्यालय र सामुदायिक समूहहरूसँग सहकार्य गरेर अझ प्रभावकारी बनाएकी छन्। उनी भन्छन्
परिवर्तन एक दिनमा आउँदैन, तर जब हामी प्रत्येक घर, प्रत्येक आमाबाबुसम्म पुग्छौं र उनीहरूलाई आफ्ना छोरीहरूको भविष्य देखाउन सक्छौं, तब समाज आफैं परिवर्तन हुन्छ। सुनिता चिडिमार मधेसी समाजमा मात्र होइन, सम्पूर्ण देशका महिलाहरूका लागि एक उदाहरण बनेकी छन। साहस, समर्पण र सकारात्मक सोचकै कारण समाज बदलिन्छ भन्ने सन्देशको प्रतीक हुन्।

  • २४ कार्तिक २०८२, आईतवार प्रकाशित

  • Nabintech