कागजातमा हस्ताक्षर नगर्दा हैरान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/कार्यालयका पत्रहरुमा कार्यालय प्रमुखलेनैं  हस्ताक्षर गर्दैनन् भन्दा तपाईंहरु पत्यार नलाग्ला ? तर नपत्यारै धरै छैन । बाँके स्थित एक सरकारी कार्यालयका प्रमुखले चिठि, चपेटामैं हस्ताक्षर नगरेर दिन बिताईरहेका छन् । पाठकहरु अझैं पत्यार लागेन यो कुरा ? लागेन भने एक पटक बाँके स्थित जिल्ला समन्वय समितिको कार्यालय पुग्नुहोस् आफै थाहा पाउनु हुनेछ यो कुरा ।

जानकारी अनुसार, जिल्ला समन्वय समिति, बाँकेका कार्यालय प्रमुख जिल्ला समन्वय अधिकारी ओम बहादुर खड्काले कार्यालयमा हाजिर भए यता पत्र लगाएत कुनै पनि कागजातमा हस्ताक्षर नगरिदिँदा समस्या सृजना भएको छ ।

जिल्ला स्थित स्थानीय तहहरुलाई समन्वय गर्ने निकाय जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारीले कार्यालयका पत्र तथा कागजातहरुमा हस्ताक्षर नगरिदिंदा कार्यालयको काममा ढिलाई हुने गरेको गुनासो छ ।

जिल्ला स्थित समन्वयको जिम्मेवारीमा रहेको समन्वय समितिमा सेवाग्राहीहरुको चाप निकै कम हुन्छ तथापी कमै मात्रामा हुने कामहरु समेत समयमा नगरि अल्झाईदिँदा समस्या सिर्जना भएको बताईएको छ ।

दैनिक प्रशासनिक कामहरु गर्ने जिम्मेवारी पाएका जिल्ला समन्वय अधिकारी ओम बहादुर खड्काले पत्रहरुमा हस्ताक्षर नगरिदिदा दैनिक कामहरु गर्न समस्या परेको बताईन्छ । प्राप्त जानकारी अनुसार कार्यालय प्रयोजनमा प्रयोग भएका पत्रहरुमा समन्वय अधिकारीले हस्ताक्षर नगरिदिने, गर्न ढिलाई गर्ने र सानो सानो कुरामा समेत अनकनाउने गरेको बताईन्छ । हस्ताक्षरनैं गर्न नमान्ने, हस्ताक्षर नगर्नुको कारण पनि नभन्ने समन्वय अधिकारीको रवैयाले जिसस पदाधिकारीहरु हैरान छन् ।

जिल्ला समन्वय अधिकारीले हस्ताक्षरनैं नगर्दा उनले के गरेर समय बिताईरहेका छन् भन्ने प्रश्न उनी माथि तेर्सिएको छ । प्राप्त जानकारी अनुसार हाल जिल्ला समन्वय अधिकारीले हस्ताक्षर गर्नुपर्ने पत्रहरुमा समन्वय समिति प्रमुख अजय कुमार श्रीवास्तबले हस्ताक्षर गरि काम चलाईरहेका छन् ।

तत्कालीन जिल्ला विकास समितिको संरचना फेरिए पछि जिल्ला समन्वय समिति बाँकेमा तेस्रो समन्वय अधिकारीको रुपमा असार २८ गते देखि हाजिर भएका खड्का हाजिर भए देखिनैं समन्वयको काममा समस्या देखिएको जिल्ला समन्वय समितिका पदाधिकारीहरु बताउँछन् । जिल्ला सम्वन्वय समितिका एक पदाधिकारीले समन्वय अधिकारी आफै समन्वयमा कमजोर भएको बताए । उनले भने–समन्वय समितिमा खासै केही काम नै हुँदैन दिनमा केही पत्रहरुमा हस्ताक्षर गर्न पनि अप्ठेरो मान्ने समन्वय अधिकारीबाट के आशा गर्ने ? शुरु का दिनहरुमा नयाँ भएका कारण यस्तो भएको होला भन्ने लागेको थियो तर अहिले सम्म समेत सुधार नभएपछि बिकल्पमा समन्वय समिति प्रमुखलेनैँ हस्ताक्षर गरिरहेका छन् । कार्यालयका केही पत्रहरुमा हस्ताक्षर गर्ने जिम्मेवारी समेत कार्यालयका अर्का कर्मचारीलाई दिएको बताउँदै १० बजेदेखि ५ बजेसम्म समन्वय अधिकारीले के काम गर्छन् भन्ने बारेमा कार्यालयमै टिका टिप्पणी हुने गरेको एक अधिकारीले बताए । समन्वय अधिकारीको पहलमा कुनै पनि काम नभएको एक सदस्यले   बताए ।

यस बारेमा जिल्ला समन्वय समिति प्रमुख अजय कुमार श्रीवास्तबले समितिमा समस्या रहेको स्विकार गरेका छन्। उनले समन्वय अधिकारीले हस्ताक्षर नगर्दा कतिपय पत्रहरुमा आफै हस्ताक्षर गरेर पठाउने गरेको बताए । कार्यालयको दैनिक काम कार्वाहीलाई सहज रुपमा संचालन गर्ने तर्फ काम गरिरहेको प्रमुख श्रीवास्तबको भनाई थियो । समन्वय अधिकारीले हस्ताक्षर नगरिदिँदा धेरै कामहरु रोकिएको उनले प्रतिकृया दिए । यस समस्याको समाधानका तत्काल पहल गर्ने उनको भनाई छ ।

जिल्ला समन्वय समिति उपप्रमुख ज्ञानेन्द्र चौधरीले समन्वय अधिकारीका कारण कार्यालयको काममा असर परेको बताए । उनले चाडै सुधारको अपेक्षा समेत गरेका छन् । यस बिषयमा जिल्ला समन्वय अधिकारी ओम बहादुर खड्कालाई सम्पर्क गर्दा कार्यालयको काम रोकिने गरी कुनै पनि काम आफुबाट नभएको बताए । उनले आर्थिक प्रशासनसँग सम्बन्धीत कामहरुमा ऐन नियम र कानुनको परिधि भित्र रहेर हस्ताक्षर गर्नुपर्ने भएकाले केही ढिलाई हुन सक्ने प्रतिक्रिया दिएका     छन् । कार्यालयका केही पत्रहरुमा हस्ताक्षर गर्ने जिम्मेवारी एक जना अधिकृत स्तरको कर्मचारीलाई दिएको उनको भनाई छ।

 

  • २९ भाद्र २०७६, आईतवार प्रकाशित

  • Nabintech