भेरी अस्पतालको चरम लापरवाही

जिवित शिशुलाई मृत घोषणा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ पश्चिम नेपालको आशाको केन्द्र भेरी अस्पतालले जिवित नवजात शिशुलाई मृत घोषणा गरिदिएको छ ।

बाँकेको डुडुवा गाउँपालिका डलैपुरका कमल ददेल र तारा कसेराको नवजात शिशुलाई अस्पतालले मृत घोषणा गरेको हो ।

घटना मंसिर २८ गतेको हो, बिहान ८.१५ बजे भेरी अस्पतालको प्रशुति कक्षमा ताराले छोरी जन्माएकि थिईन् ।

जानकारी अनुसार, छोरी जन्मिएको केही समयमैं अस्पतालले छोरी मृत जन्मिएको बतायो, मृत छोरी दिन उनीहरुका आफन्तले भनेपनि अस्पतालले दिएन, १२.३० बजे उनीहरुले छोरी पाए, छोरी लिएर संस्कार अनुसार घर लगि जंगलमा गाड्न खोज्दा छोरी चिच्याएपछि छोरी जिवित रहेको उनीहरुले थाहा पाएर उपचारका लागि नसिंड. होम भर्ना गरेका थिए । तथापी उनीहरुको प्रयास सफल हुन सकेन, भेरी अस्पतालको चरम लापरवाहीका कारण स्वास्थ्य अवस्था बिग्रिदैगयो र अन्ततः मंसिर २९ गते साँझ ५.०० बजे उनले अन्तिम सास फेरिन् ।

शिशुका

अभिभावकहरुले नेपाल सम्बाद क्लब नेपालगञ्जद्वारा आयोजित पत्रकार भेटघाटमा घटना बारे जानकारी गराएका थिए ।

शिशुका बुवा कमल ददेलले अस्पतालको चरम लापरवाहीका कारण आफुले आफ्नो पहिलो सन्तान गुमाउनु परेको बताए । उनका अनुसार, श्रीमतीलाई प्रशब पीडाले च्यापेपछि तारालाई भेरी अस्पताल पुर्याईएको थियो । उनलाई अस्पतालले त्यहिँ राख्यो, बच्चाको घड्कन ठिक छ, बच्चा सानो छ भन्यो ।

कमलले भने – जब बच्चा जन्मियो, बच्चा ६०० ग्रामको छ, बच्चा मृत छ, भनियो, कसैलाई हेर्न दिईएन, जवरजस्ति मेरो सन्तानलाई मृत भनियो । अन्तिम दाह संस्कार गर्दा आवाज निकालेको, हात खुट्टा चलाएको देख्यौं, थाहा पायौं, त्यतिबेला धेरै ढिलो भईसकेको थियो, यसरी मेरो पहिलो सन्तान, पहिलो खुशी भेरी अस्पतालले चुँडिदियो ।
शिशुका हजुर बुवा मन बहादुर सुनारका अनुसार बुहारीलाई अस्पताल भर्ना भएको ३ दिन सम्म अवस्था नबताएपछि आफुले डाक्टरलाई भेट्न खोज्दा डाक्टरलाई मुस्किलले भेटाए, वहाँलाई अवस्था सोध्दा अवस्था राम्रो छ भन्नु भयो ।

बच्चा हुनु भन्दा अगाडी अस्पतालले सहि सूचना दिएन– मन बहादुरले भने – बच्चा जन्मिईसकेपछि बच्चा मृत जन्मिएको बताईयो, त्यसो भए बच्चा दिनुहोस भन्दा हामीलाई दिईएन, उल्टै किचकिच नगर्नुहोस्, तपाईंहरु सबैलाई बोलाएर सम्झाऔं कि भनियो । बिहान ८ बजेको समयमा जन्मिएको बच्चा दिन चरम ढिलाई भयो ।

उनले थपे – अवेर गरेर एउटा कागजातमा हस्ताक्षर गराईयो, उक्त कागजको एक प्रतिन दिनुहोस् भन्दा दिईएन, कागज गराईसक्दा पनि बच्चा दिईएन, बल्ल, बल्ल पटक, पटकको अनुरोध पश्चात दिउसो १२.०० बजे बच्चा दिईयो ।

नातिनी गुमाउँदाको पीडामा रहेका मन बहादुरले घटना बारे थपे– आफ्नो संस्कार अनुसार सेतो कपडाले बेरेर लिपपोत गरेर घरमा राख्यौं, जंगलमा लगेर अन्तिम संस्कार गर्नुपूर्ब बच्चालाई दूध हिरन हाल्दा च्याँ च्याँ गरेपछि हामीले बच्चा जिवित भएको थाहा पायौं, यो भन्दा ठूलो हामी माथिको बज्रपात, धोका अरु के होला ?

उनीहरुकी आफन्त मिना सुनारका अनुसार, बच्चा जन्मिएको थाहा पाउने बित्तिकै आफु हेर्न जाँदा बच्चाको अवस्था ठिक थियो । बच्चालाई कतै नलगेर भुईंमै देखेपछि तहाँ रहेको एक स्वास्थ्यकर्मीलाई भन्दा ६ महिनाको यति सानो बच्च्चा बाँच्छ सोच्नु भएको छ, १ करोड खर्च गरे पनि बाँच्दैन भनेको सुन्दा असाध्यैं दुःख लाग्यो ।
परिवारका अनुसार, भेरी अस्पतालले हाल सम्म बच्चाको मृत्यु प्रमाणपत्र दिएको छैन ।

बच्चालाई नर्सिङ होममा भर्ना गरिसकेपछि भेरी अस्पतालमैं भर्ना रहेकी तारालाई डिस्चार्ज गरेर लैजान खोज्दा अस्पतालले डिस्चार्ज गर्न नमानेर अनावश्यक दुःख दिएको परिवारले बताएको छ ।

यस बारे भेरी अस्पताल गोलमटोल जवाफ दिएर जवाफदेहिताबाट पन्छिन खोजिरहेको छ ।

नेपाल सम्बाद क्लब नेपालगञ्जद्वारा आयोजित पत्रकार भेटघाटमा मृतकका आफन्त र सरोकारवालाहरुले घटनाको भत्र्सना गरेका छन् । अध्यक्ष आशिष मल्लले सहजिकरण गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले घटनाका दोषिलाई कानुन बमोजिम कडा कार्वाही गर्न माग गरेका छन् ।

अस्पताल जस्तो समबेदनशिल क्षेत्रबाट भएको यस प्रकारको चरम लापरबाही अक्षम्य छ, यो लापरवाही मानव जीवन माथिको खेलबाड मात्रै  होईन, जघन्य अपराध हो । यस घटनाका दोषिलाई हदै सम्मको कार्वाही गरि पीडितलाई उचित न्याय दिन जरुरी छ ।

  • २ पुष २०८२, बुधबार प्रकाशित

  • Nabintech