नेपालगञ्ज/ भेरी अस्पताल नेपालगञ्जसँग सूचना माग गरिएको छ ।
२०८२ मंसिर २८ गते भेरी अस्पतालमा भएको घटनाका बिषयमा सूचना माग गरिएको हो ।
नेपालगञ्ज– १२ बाँके निवासी नमस्कार शाह, नेपालगञ्ज –१० बाँके निवासी हेमराज भट्ट, मन भण्डारी र शुद्ध चौधरीले संयुक्त रुपमा सूचना माग गर्दै आज भेरी अस्पतालमा निवेदन दर्ता गराएका छन् ।
अस्पतालमा भर्ना भएकि तारा कसेराबाट जन्मिएको नवजात शिशुलाई जिवित रहँदै अस्पतालले मृत घोषणा गरेको घटनाका बारेमा सूचना माग गरिएको हो ।
सूचना मागकर्ताहरुले घटनाको बास्तविकताका बारे सूचना माग गरेका छन् । निबेदकहरुले मृत भनेर अभिभावकलाई बुझाईएको शिशुको मृत्यु प्रमाणपत्र नदिनुको कारण, उक्त दिन अस्पतालको प्रशुति कक्षमा रहेका डाक्टर, स्टाफ नर्सको नाम, नामेशी बिबरण र घटना पश्चात भेरी अस्पतालले गरिरहेको कार्य बारे सूचना माग गरेका छन् ।
मंसिर २८ गतेबाँकेको डुडुवा गाउँपालिका डलैपुरका कमल ददेल र तारा कसेराको नवजात शिशुलाई भेरी अस्पतालले मृत घोषणा गरेको थियो । अस्पतालले मृत घोषणा गरेर दिएको शिशुको अन्तिम संस्कार गर्न खोज्दा शिशु चिच्याएपछि उपचारका लागि नसिंड. होम भर्ना गरिएको थियो । भेरीले मृत भनेर दिएको शिशु नर्सिङहोममा उपचारको क्रममा २४ घण्टा पछि निधन भएको थियो ।









