हिन्दू नेपाली नारिहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको श्री स्वस्थानी व्रतकथा यस बर्ष पौष १९ गते देखि शुरु भएको छ ।
माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।

विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल प्राप्त होस् भन्ने प्रार्थनास्वरूप यो व्रत बस्ने गरिन्छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत बस्ने गरिन्छ । उक्त अवधिभरि श्रद्दाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने सुनाउने प्रचलन रहेको छ । माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुहरूले एकछाक चोखो खाई १०८ पान, त्यत्तिनै संख्यामा कुड्का सुपारीलगायतका सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ । स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन् । प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ । यो कथा एक महिनामा सक्नुपर्छ । नसकिएमा कुनै दिन २–२ अध्याय भनेर पनि सक्नुपर्छ ।

व्रत समाप्तिको दिन आठ रोटी, आठ पान, आठ सुपारी आदि आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी एक सय प्रसादको रुपमा आफूले खाने चलन छ । स्वस्थानीको व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ ।
काठमान्डौ स्थित गुह्वेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, किरांतेश्वर, गौरीघाट, वाग्मती नदी, शालीनदीजस्ता क्षेत्रहरुको स्वस्थानीको कथामा उल्लेख गरिएका स्थानहरु हुन् । निरन्तर प्रयास र लगनशीलता देखाउने हो भने सफलता हात पार्न सकिन्छ र आफ्नो लक्ष्यमा पुग्न सकिन्छ भन्ने पाठस्वस्थानी बर्तकथाबाट पाउन सकिन्छ ।









