नेपालगञ्ज/ राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को केन्द्रीय नेतृत्वले बाँकेमा छलफल गरेको छ ।
लुम्बिनी प्रदेश, बाँके लगायत जिल्लाको नेतृत्वसँग आगामी निर्वाचनको प्रभावकारी अनुगमनका विषयमा सहकार्य सुदृढ गर्नेबारे छलफल गरेको हो ।
निर्वाचन पर्यवेक्षण समिति नियोकका केन्द्रिय अध्यक्ष डा गोपालकृष्ण सिवाकोटी, नियोकका कार्यकारी निर्देशक डाक्टर बिकल श्रेष्ठ, नियोकका केन्द्रिय सदस्य सुरेश गौतम, नियोक केन्द्रमा कार्यरत प्राथना थापा क्षेत्री लगायतको टोलीले नियोक प्रदेश र जिल्ला पदाधिकारीसंग छलफल गरेको बताईएको छ ।
भेटघाटका क्रममा नियोकले आफ्नो स्वतन्त्र, निष्पक्ष र नागरिक–केन्द्रित निर्वाचन पर्यवेक्षण दृष्टिकोणबारे जानकारी गराउँदै निर्वाचन प्रक्रियाको विश्वसनीयता, पारदर्शिता र जनविश्वास अभिवृद्धिलाई मुख्य प्राथमिकताका रूपमा अघि बढाइने स्पष्ट पारेको छ । साथै, निर्वाचन पर्यवेक्षकहरूका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
निर्वाचन अवधिमा प्रदेशस्तरीय सरोकारवालासँग आवश्यक समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको जनाइएको छ। नियोकले व्यावसायिक तथा तथ्यमा आधारित निर्वाचन पर्यवेक्षणप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।

प्रदेश नेतृत्वले लोकतान्त्रिक प्रक्रियामा नियोकको निरन्तर योगदानको प्रशंसा गर्दै आगामी निर्वाचनमा पनि सकारात्मक सहकार्य रहने विश्वास व्यक्त गरेका छन। दुवै पक्षले समयमै तयारी, सूचनाको आदान–प्रदान र रचनात्मक सहकार्यको आवश्यकतामा जोड दिँदै लुम्बिनी प्रदेशमा निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचन सुनिश्चित गर्ने साझा संकल्पसहित भेटघाट सम्पन्न भएको जनाएको छ ।
नियोकका लुम्विनी प्रदेश अध्यक्ष बसन्त कुमार गौतमको अध्यक्षतामा भएको छलफलमा नियोकका केन्द्रिय अध्यक्ष डा गोपालकृष्ण सिवाकोटीले बिशेष मन्तव्य व्यक्त गरेका थिए । बाँके अध्यक्ष नमस्कार शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन गैसस अगुवा प्रभात कुमार ठकुरीले गरेका थिए । कार्यक्रममा बाँकेका निबर्तमान अध्यक्ष लोक बहादुर शाह, सचिव हेमराज भट्ट, सदस्य रबिन्द्र कर्ण लगायतले आआफ्नो बिचार राखेका थिए ।









