जव गायकले आफै सुन्न पाएनन् आफ्नो गित

बरिष्ठ गायक निर्माेहीको अन्तिम बिदाई

असल शासन प्रतिनिधि

नेपालगञ्ज
बुधवार दिउसोको समय, बाँकेको सिधनियाघाट राप्तीनदिमा एउटा गित गुञ्जियो ।

गितको बोल यस्तो थियो –लाग्यो माया, लाग्यो माया मोहनि नजरमा बसौं, बसौं, बसौं लाग्यो घोराही बजारमा, गुराँश फुल्यो, गुराँश फुल्यो, मेरो कानमा पिरतिको मात लाग्यो आज यो मनमा ।

बिडम्वना ! उल्लेखित गित त्यहाँ उपस्थित सबैले सुने । तर सोही सुमधुर गितका गायक कमल बिके निर्माेहीले भने सुन्न पाएनन्, किनकि उनी कहिले नसुन्ने गरि यो भौतिक संसारबाट बिदा भईसकेका थिए । दर्जनौं कालजयि गितका गायक निर्माेहीको अन्तिम दाहसंस्कारको क्रममा उनको सम्मानमा उक्त गित बजाईएको थियो ।

बरिष्ठ गायक कमल निर्माेही उपचार सहयोग समितिका संयोजक तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले उनको व्यक्तित्वको बारेमा बालेपछि उनको अन्तिम दाहसंस्कारमा सहभागि हुन पुगेका उनका आफन्त र शुभचिन्तकहरुले मौनधारण गर्दै उन प्रति श्रद्धाञ्जली अर्पण गरेर अन्तिम बिदाई गरे । सधैं गित, संगित र कार्यक्रम सञ्चालनका माध्यमबाट मनोरञ्जन दिने निर्माेहीले सबैलाई रुवाएर गए । भौतिक रुपमा उनी नरहेपनि उनका सयौं कालजयि गित, असल कर्मले उनलाई सधैं अजर, अमर बनाईरहनेछ ।

उनको पार्थिव शरिरमा छोरा शैलेन्द्रले दागबत्ति दिए ।

२०१८ साल भाद्र २३ गते दाङको तत्कालीन फूलबारी मवकटवा गाबिस वडा नम्वर ३ मा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए ।
बुवा डम्मर लाल र आमा मोतिकला देबिको कोखबाट जन्मिएका निर्माेही ४ भाई मध्येका माईलो हुन् ।

निर्माेहीकी धर्मपत्नि हेरमदेबिको माघ २३ गते निधन भएको थियो । पत्निको निधन भएको १९ दिनमा निर्माेहीको फाल्गुण १२ गते साँझ ५.१५ मा सुर्खेतरोड स्थित निवासमा निधन भएको थियो ।

मिर्गौला रोगबाट पीडित निर्मोहीलाई शनिबार एक्कासि बेहोस भएपछि उपचारका लागि भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि निर्मोहीलाई सोमबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

भेरी अस्पतालबाट मंगलबार फाल्गुण १२ गते निवास ल्याइएका निर्मोहीले साँझ अन्तिम सास फेरेका थिए ।

सिधनियाघाट राप्तीनदिमा अन्तिम दाहसंस्कार लैजानु पूर्ब उनको निवासमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

बबईमा उर्लदै मिल्न आयो खोली गुहार, झन हेर्यो, झन माया लाग्छ कान्छिको मुहार, लाग्यो माया मोहनी, सुर्खेतकी नानी, आउँत भने बाटो छ खोलाको, नआउँ भने त्यो तिम्रो झझल्का, सुर्खेतकी नानी लगायत सयौं गितका गायक निर्माेहीले तीन दशकभन्दा बढी समय नेपाली लोकसंगीत र सञ्चार क्षेत्रमा सक्रिय थिए ।

उनी बिगत दुई बर्ष देखि अस्वस्थ थिए । सुगर र प्रेसर रोगबाट पीडित उनको केही बर्ष यता दुवै मिर्गौला फेल भएपछि उनी नेपालगन्जस्थित आफ्नै घरको ओछ्यानमा सीमित बनेका थिए ।

सञ्चार र संगित कर्मका माध्यमबाट दर्शक र श्रोतालाई मनोरञ्जन दिने वरिष्ठ रेडियोकर्मी तथा लोकगायक निर्मोहीले करिव डेढ बर्ष जीवनकै कठिन अवस्थासँग मुकाबिला गरे ।

लामो समय रेडियो नेपालमा काम गरेका निर्माेही र साँस्कृतिक मेला, महोत्सव यस क्षेत्रका लागि कुनै बेला प्रयायबाची जस्तै थिए । निर्माेही बिनाका साँगितिक कार्यक्रम बिरलै हुन्थे । उनी बिनाको स्टेज आयोजकले कल्पना समेत गर्दैनथिए ।

कुनै बेला यस्तो थियो निर्माेहीको आवाज रेडियोमा सुन्न, उनलाई भेट्न मान्छेहरु मरिहत्ते गर्थे, बेला पछि यस्तो आयो कि बिरामी भएर थला परेका निर्माेही आफुलाई कोही भेट्न आईदिए हुन्थ्यो भन्ने अवस्थामा रहन्थे ।

उनले सयौं स्टेज कार्यक्रममा उद्घोषण गरेका थिए भने सयौंको संख्यामा लोकगीतहरु गाएका थिए, उनकै कारणले धेरै व्यक्तिहरु कलाकार, सञ्चारकर्मी बनेका थिए, उनका कैयौं गितहरु गाउँबस्तिमा अहिलेपनि गुञ्जिन्छन् । उनले जीवनभर सञ्चार र कलासँग सम्बन्धित काममै आफुलाई समर्पित गरेका थिए ।

प्युठान पुर्खाैली घर भई दाँग हुँदै २०३५ साल देखि नेपालगञ्जमा बसोबास गर्दै आएका उनले लामो समय रेडियो नेपाल सुर्खेतमा काम गरेका थिए भने नेपालगञ्जका बागेश्वरी, हिमाल, जनआवाज लगायतका एफएम, भिजन, जि नेपाल एचडि टेलिभिजनहरुमा काम गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, बास नेपाल, बाँके कला केन्द्र लागयतमा निर्माेही आबद्ध थिए ।

दांगमा जन्मिएका निर्माेहीले कोमल ओली लगायतका बरिष्ठ कलाकारहरुसँग बिभिन्न गितहरुमा श्वर दिएका छन् । मोफसलमा रेकर्डिग स्टुडियो नभएको बेला नेपालगञ्जमा वेभ डिजिटल रेकर्डिग स्टुडियो स्थापना गरि यस क्षेत्रका कलाकारहरुलाई सहजन बनाएका उनले नेपाल टेलिभिजन कोहलपुरबाट सप्तरंगि संगित लहर साँगितिक कार्यक्रम लामो समय सम्म सञ्चालन गरेका थिए ।

उपचारका लागि उनलाई आर्थिक अभाव भएपछि उनको उपचार सहयोगका लागि नागरिक स्तरबाट समितिनैं गठन गरि सहयोग संकलन गरिएको थियो । संकलित रकम पहिलो चरणमा १ लाख ६ हजार २ सय ११ रुपैया सहयोग र दोश्रो चरणमा ५ लाख ६३ हजार ४ सय ७७ रुपैयाँ सहयोग प्रदान गरिएको थियो । कतिपय संघ, संस्थाहरुले निर्माेही निवासमै गएर प्रत्यक्ष रुपमा पनि सहयोग गरेका थिए ।

मृगौला रोगबाट पीडित निर्मोहीको उपचार सहयोगका लागि गठित समितिले सो रकम बरिष्ठ कलाकार निर्मोहीलाई हस्तान्तरण गरेको हो । बिभिन्न चरणमा उनलाई हस्तान्तण गरिसकिएको थियो । उनको मृगौला प्रत्यारोपणको तयारी भईरहँदा उनको धर्मपत्निको केही दिन अघि निधन भयो भने उपचारकै क्रममा निर्माेहीको निधन भयो ।

उनको निधनबाट सिंगो बाँके स्तव्ध बनेको छ । उनको निधनबाट देशलाई अपुरणिय क्षति भएको छ । यस दुःखद घडिमा असल शासन परिवार दिवंगत गायक निर्माेही प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गर्दछ ।

  • १३ फाल्गुन २०८२, बुधबार प्रकाशित

  • Nabintech