बरिष्ठ गायक, संगितकार, उद्घोषक कमल बि.के. निर्माेही चिरपरिचित व्यक्ति हुन् । उनको आवाजले भरिएका थुप्रै कालजयि गितहरुले श्रोताहरु माझ उनी सधैं लोकप्रिय रहे ।
उनका सयौं गितहरु मध्येको यो गित निकै चर्चामा रह्यो ।
केटा : त्यो माडी खोलाले छेकेको होइन
मलाई छेक्यो मायालु तिम्रै मायाले
केटी : जाउ माया परदेश फर्केर आउनलाई
रोई बसौँला मायालु तिम्रै मायाले
कमल विके निर्माेहीले संकलन र संगीत संयोजन गरेको र २०४४ सालमा गायिका कोमल ओली र माया ओलीका साथमा गाएको यो गीत कुनैबेला रेडियो नेपालको सुर्खेत प्रशारण केन्द्रबाट निकै बज्यो । दाङका लोक गायक डा. गोविन्द आचार्यले संकलन तथा संगीत संयोजन गरेको ‘राप्तीको झर्ना’ लोकगीत एल्बमका यो गीत संग्रहित छ । यो गीत अहिले एमएन एल्बम्स नामक युट्युब च्यानलमा सुन्न सकिन्छ ।
निर्माेहीले गाएको अर्काे गीत पनि कुनैबेला रेडियोमा बज्ने लोकप्रिय गीतमध्ये एक थियो । भरत लामाको शब्दमा कमल विके निर्माेही र माया गुरुङको आवाजमा रहेको त्यो गीतको बोल छ :
केटा : लाग्यो माया मोहनी नजरमा
बसौँ बसौँ बसौँ लाग्यो घोराही बजारमा
केटी : गुराँस फुल्यो, फुल्यो मेरो तनमा
पिरतीको मात लाग्यो आज यो मनमा
यस्ता स्थानीय माटो र भाकामा आवाज दिएका उनको पहिलो परिचय सुमधुर आवाज हो तर उनको परिचय त्यतिमा मात्र सिमिति रहँदैन । उनी बहुप्रतिभाशाली कलाकार थिए । उनको गायक र रेडियो तथा स्टेज प्रस्तोताको व्यक्तित्व धेरैमाझ परिचित रहेको थियो । निर्माेहीको रेडियो यात्रासँगै नेपालगन्जको रेडियो प्रशारणको इतिहास पनि जोडिएर आउँछ । साविकको मध्य तथा सुदुरपश्चिमको पहिलो व्यवसायिक रेडियो वागेश्वरी एफएमको स्थापनाको अगुवामध्येका एक हुन् निर्माेही ।
उनले आफ्नै वेब मल्टिट्रयाक रेकर्डिङ स्टुडियो र वेब एड्भरटाइजिङ प्रालि सञ्चालन गरेर संगीत तथा विज्ञापनको उत्पादनको व्यावसायिक काम पनि गरेका थिए । अहिले उक्त व्यवसायको जिम्मेवारी उनका छोरा शैलेन्द्र गौतम निर्माेहीले सम्हालिरहेका छन् ।
निर्माेहीको कलाकारिता यात्रा भने रेडियो नेपालबाट शुरु भएको थियो । उनको बहुप्रतिभाकै कारण २०४८ सालतिर रेडियो नेपालमा प्रवेश पाए । त्यहाँ उनले वाद्यवादन, गायन, समाचार वाचनसम्म गरे । पछि २०५० सालमा रेडियो नेपालको सुर्खेत प्रशारण केन्द्र सञ्चालनमा ल्याउँदा उनलाई पनि उक्त केन्द्रमा खटाइयो ।
निर्मोहीको योगदानलाई कदर गर्दै २०७३–०७४ मा नेपाल सरकारले क्षेत्रीय प्रतिभा पुरस्कारसमेत प्रदान गरेको थियो भने दर्जनौँ संघसंस्थाले उनलाई सम्मान पनि गरेका छन् ।
बबईमा उर्लदै मिल्न आयो खोली गुहार, झन हेर्यो, झन माया लाग्छ कान्छिको मुहार, लाग्यो माया मोहनी, सुर्खेतकी नानी, आउँत भने बाटो छ खोलाको, नआउँ भने त्यो तिम्रो झझल्का, सुर्खेतकी नानी, पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल’ लगायतका थुप्रै गीत चर्चित छन् । केही लोकपप र आधुनिक गीतमा समेत उनले स्वर दिएका छन् । सयौं गितका गायक निर्माेहीले तीन दशकभन्दा बढी समय नेपाली लोकसंगीत र सञ्चार क्षेत्रमा सक्रिय थिए । उनले जीवनभर सञ्चार र कलासँग सम्बन्धित काममै आफुलाई समर्पित गरेका थिए ।
२०१८ साल भाद्र २३ गते दाङको तत्कालीन फूलबारी मवकटवा गाबिस वडा नम्वर ३ मा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए ।
बुवा डम्मर लाल र आमा मोतिकला देबिको कोखबाट जन्मिएका निर्माेही ४ भाई मध्येका माईलो हुन् ।
लामो समय रेडियो नेपालमा काम गरेका निर्माेही र साँस्कृतिक मेला, महोत्सव यस क्षेत्रका लागि कुनै बेला प्रयायबाची जस्तै थिए । निर्माेही बिनाका साँगितिक कार्यक्रम बिरलै हुन्थे । उनी बिनाको स्टेज आयोजकले कल्पना समेत गर्दैनथिए ।
कुनै बेला यस्तो थियो निर्माेहीको आवाज रेडियोमा सुन्न, उनलाई भेट्न मान्छेहरु मरिहत्ते गर्थे, बेला पछि यस्तो आयो कि बिरामी भएर थला परेका निर्माेही आफुलाई कोही भेट्न आईदिए हुन्थ्यो भन्ने अवस्थामा रहन्थे ।
उनले सयौं स्टेज कार्यक्रममा उद्घोषण गरेका थिए भने सयौंको संख्यामा लोकगीतहरु गाएका थिए, उनकै कारणले धेरै व्यक्तिहरु कलाकार, सञ्चारकर्मी बनेका थिए, उनका कैयौं गितहरु गाउँबस्तिमा अहिलेपनि गुञ्जिन्छन् ।
प्युठान पुर्खाैली घर भई दाँग हुँदै २०३५ साल देखि नेपालगञ्जमा बसोबास गर्दै आएका उनले लामो समय रेडियो नेपाल सुर्खेतमा काम गरेका थिए भने नेपालगञ्जका बागेश्वरी, हिमाल, जनआवाज लगायतका एफएम, भिजन, जि नेपाल एचडि टेलिभिजनहरुमा काम गरेका थिए ।
सञ्चार र संगित कर्मका माध्यमबाट दर्शक र श्रोतालाई मनोरञ्जन दिने वरिष्ठ रेडियोकर्मी तथा लोकगायक निर्मोहीले करिव डेढ बर्ष जीवनकै कठिन अवस्थासँग मुकाबिला गरे ।
दांगमा जन्मिएका निर्माेहीले कोमल ओली लगायतका बरिष्ठ कलाकारहरुसँग बिभिन्न गितहरुमा श्वर दिएका छन् । मोफसलमा रेकर्डिग स्टुडियो नभएको बेला नेपालगञ्जमा वेभ डिजिटल रेकर्डिग स्टुडियो स्थापना गरि यस क्षेत्रका कलाकारहरुलाई सहजन बनाएका उनले नेपाल टेलिभिजन कोहलपुरबाट सप्तरंगि संगित लहर साँगितिक कार्यक्रम लामो समय सम्म सञ्चालन गरेका थिए ।
निर्माेहीकी धर्मपत्नि हेरमदेबिको माघ २३ गते निधन भएको थियो । पत्निको निधन भएको १९ दिनमा निर्माेहीको फाल्गुण १२ गते साँझ ५.१५ मा सुर्खेतरोड स्थित निवासमा निधन भएको थियो ।
उनको निधनबाट देशलाई अपुरणिय क्षति भएको छ । यस दुःखद घडिमा असल शासन परिवार दिवंगत गायक निर्माेही प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गर्दछ ।









