नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ आज हुने भएको छ । संसद् सचिवालयका अनुसार दिउँसो २ बजेका लागि सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमापद तथा सपथ ग्रहणको समय तय गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउने छन् ।
राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको थियो । उक्त निर्वाचनबाट १८ जना सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई भनेको छ ।
यही २० फागुनमा कार्यकाल सकिएका १९ मध्ये १८ पदका लागि गत ११ माघमा निर्वाचन भएको हो । एक जना राष्ट्रपतिबाट मनोनित सांसद थिए । उनको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले नै मनोनीत गर्नेछन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन् ।









