बासको अभियान र भूमिका :
गैरसरकारी तथा गैरनाफामूलक संस्थाको रुपमा वि.सं.२०५७ मा बाँके जिल्लाको नेपालगन्जमा स्थापित वागेश्वरी अशल शासन क्लब (वास) ले २५ वसन्त पूरा गरेको छ । नेपालगन्जमा प्रधान कार्यालय रहेको यस संस्थाले यो अवधिमा नेपालका सात वटै प्रदेश र ७७ जिल्लामा नै शाखा विस्तार गर्न सफल भएको छ । अझ भनौं, वास नेपालभरी नै फैलिएको छ र जनजनमा सु—परिचित भएको छ ।
तत्कालीन जेन्जी उमेर समूहका नमस्कार शाह समेतको नविनतम् सोच र दृष्टिकोण मुताविक देशमा सुशासन कायम गरी राष्ट्रको सर्वाङ्गिण विकास निर्माणमा टेवा पुर्याउने मूलभुत उद्देश्यले स्थापित भएको यस संस्थाले देशमा विद्यमान असहज परिस्थितिका वावजुद पनि अविचलित र अविरल रुपमा २५ वर्ष सम्म निरन्तरता पाउनु असाधारण अवस्था हो ।
नेपाल सुन्दर, शान्त र विशाल सार्वभौम देश हो । प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले विश्वकै धनी देश नेपाल भ्रष्टाचार, अनियमिता र विभेदकै कारण अझै पनि सुदृढ, समृद्ध हुन सकिरहेको छैन । जसका कारण आम नागरिकहरुले न्याय, स्वतन्त्रता, सुशासन र सुरक्षाको अनुभूति गर्न पाईरहेको अवस्था छैन ।देश निर्माणको बाधक एवं शत्रु अन्याय, अत्याचार, भ्रष्टाचार, अनियमिता, ढिलासुस्ती आदि जस्ता विकृति, विसंगतिको अन्त्य नभए सम्म देशमा शान्ति, सु—व्यवस्था र सुशासन कायम हुन सक्दैन भन्ने पूनित उद्देश्यका साथ स्थापना भएको यस संस्थाले यस क्षेत्रमा निर्वाह गर्दै आएको भूमिका अनुकरणीय रहेको छ । आफ्नो जीवन जोखिममा राखेर भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, अनियमिताको विरुद्धमा नियमित रुपमा वुलन्द आवाज उठाउनु सामान्य विषय होेईन । सूचनाको हक, सेवा प्रदायक निकायमा सार्वजनिक सुनुवाई, गलत र गैरकानूनी कार्यको तत्काल विरोध, सार्वजनिक सरोकारको विषयमा ध्यानाकर्षण, संस्कृति र परम्पराको जर्गेना लगायतका विविध जनमुखी कार्यहरु बास नेपालका विशेषता नै बनीसकेका छन् ।
आफ्नै घरआगनमा वसेर देशको सेवा गर्नुपर्दछ भन्ने देशप्रेम प्रति ओतप्रोत भएका अधिकांश युवाहरु देशमा विद्यमान वेरोजगारी र अनिश्चितताका कारण विदेश पलायन हुन बाध्य छन् । बास नेपालले भने नेपालमा नै वसेर पनि आफ्नो र घर परिवारको जीविकोपार्जनको साथसाथै समाज र राष्ट्रहितमा समेत योगदान गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै युवावर्गमा आशा जगाउने कार्य गर्दै आएको छ । बासले विभिन्न वर्ग, लिङ्ग, क्षेत्र लगायत समावेशी सिद्धान्तलाई अक्षरशः आत्मसाथ गर्दै क्षमता अभिवृद्धि, सकारात्मक सोच, पत्रकारिता, रोजगारीमूलक लगायतका विविध कार्यक्रमको आयोजना र संचालन गर्दै आएको छ । जसका कारण हजारौं युवाहरु यस संस्थाले संचालन गर्ने गरेका कार्यक्रमबाट लाभान्वित हँुदै आएका छन् । यस अर्थमा बास नेपाल युवाहरुको बिश्वबिद्यालय हो । जहाँबाट युवाहरुले नैतिक शिक्षा, जिम्मेवारी र कर्तव्यको शिक्षा लिईरहेका छन् । यसले नगर्ने सामाजिक कार्य कुनै पनि छैनन् । हरेक सामाजिक कार्यमा बास अग्रस्थानमा रहँदै आएको छ । यो नेपालकै एक उत्कृष्ठ नमूना गैरसरकारी संस्था हो ।
लोकतान्त्रिक शासन पद्दतिको माध्ययमबाट नागरिकहरुको स्वतन्त्रता र मौलिक अधिकारको रक्षाको लागि नै नेपाली नागरिकले पटक—पटक वलिदानी गर्दै आएका छन् । नेपाली नागरिकले नागरिक अधिकार र देश विकासका लागि गर्दै आएको आन्दोलन तथा जन—आन्दोलन, विद्रोहलाई आत्मसाथ गर्दै देशमा शान्ति, सु—व्यवस्था कायम गर्नु न्याय र सुशासनको प्रत्याभूति दिलाउनु लोकतान्त्रिक राज्यको परम कर्तव्य हो । नेपालको सन्दर्भमा हेर्दा, लोकतान्त्रिक शासन पद्दति, संवैधानिक एवं कानूनी व्यवस्था नागरिकमूखी भएपनि सत्ता संचालक र सेवा प्रदायक निकायमा पदासीन अधिकारीले आ—आफ्नो पदीय र कानूनी अधिकारको दुरुपयोग गर्ने गरेका कारण सुशासन र नागरिक शासनको प्रत्याभूति हुन सकिरहेको छैन । यस्तो जटिल एवं कठिन परिस्थितिमा समेत सदैव अविचलित र निर्भिक भई सेवाप्रदायक निकाय र पदाधिकारीलाई कानून र नागरिक प्रति जवाफदेही बनाउन तथा नागरिकहरुलाई आफ्नो हक, अधिकार र दायित्व प्रति सजग गराउनका लागि बासले जनस्तरबाट पहरेदारीको भूमिका निर्वाह गर्दै आएको छ ।
बासले आफ्नो वैधानिक उद्देश्य र राष्ट्र प्रतिको उत्तरदायित्वलाई केन्द्रभागमा राखी जनमूखी कार्यक्रम संचालन गदै आएको देखिन्छ । यस संस्थाले अझै नेपाली नागरिकलाई सार्वभौमसत्ता सम्पन्न भएको महसुस गराउन र राजनीति एवं सेवा प्रदायक निकायमा पदासिन हुने पदाधिकारीलाई नागरिक र कानून प्रति उत्तरदायी बनाउका लागि अझै प्रयत्नशील रही प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी छ ।
चुनौती :
नेपाली नागरिकले देशमा सुशासन कायम होस् र नागरिक सार्वभौमिकताको महसुशिकरण गर्न पाईयोस् भन्ने हेतुले वि.सं.२००७ साल देखि यही २०८२ साल भाद्र २३÷२४ (जेन्जी विद्रोह) सम्मको कालखण्ड सम्म आईपुग्दा राज्यशक्ति र सरकारको विरुद्धमा पटक—पटक संघर्ष र बलिदानी गर्दै आएका छन् । नागरिक अधिकार, स्वतन्त्रता, न्याय र सुशासनको लागि नेपाली नागरिक र युवाले यति धेरै वलिदानी गर्दा समेत राजनीतिक दलका नेता तथा कार्यकर्ता र सेवा प्रदायक निकायमा कार्यरत पदाधिकारी÷कर्मचारीको चेत खुलेको व्यवहारतः देखिएको छैन । निरंकुश सोच र परम्परावादी व्यवहार अझै परिवर्तन हुन सकेको देखिदैन । देशको शासन पद्दति नै अन्योलग्रस्त हुन पुगेको छ । राज्यका सवै निकायहरु प्रति नागरिक विश्वास घट्दै गएको छ, जुन कुरा समग्र राष्ट्र र राष्ट्रप्रेमी सवैका लागि दुःखद हो ।
आजको यस संक्रमणकालीन यथासक्य छिटो विदाई गरी देशमा संवैधानिक सर्वोच्चता कायम गर्न, देशमा सुशासन कायम गरी राज्य र राज्यका सवै अंगहरु प्रति नागरिक विश्वास कायम राख्नका लागि नागरिकस्तर बाट निःस्वार्थ पहरेदारी र दवावको आवश्यक्ता छ । देशभरी नै शाखा र सन्जाल भएको युवाहरुको संस्था बासले यसको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छ ।
लोकतान्त्रिक व्यवस्थामा संविधान र कानून भन्दा माथि कोही हुन सक्दैन । संविधान र कानूनको अधिनमा रही सवैले आ—आफ्नो कर्तव्य निर्वाह गर्नु पर्दछ । राज्य संचालनको दृष्यावलोकन गर्दा शन्तोषजनक छैन । नेपाल केही व्यक्ति, समूह वा राजनीतिक दलको मात्रै कम्पनी होईन भन्ने कुरा सम्झाउन आवश्यक छ । दण्डहिनता एवं भ्रष्टाचारको अन्त्य नभए र राजनीतिक दल तथा सार्वजनिक निकायमा कार्यरत पदाधिकारी÷कर्मचारीलाई हामी नागरिक सेवक हौं भन्ने कुराको बोध नभए सम्म नागरिकका गुनासा र अपेक्षा बाँकी नै रहनेछन्, देशको उन्नती र प्रगतिको बाटो पनि अवरुद्ध रहीरहनेछ । यस प्रकारको कठिन परिस्थितिमा जेन्जी विद्रोहको माग, नागरिक र राष्ट्रको आवश्यक्तालाई हृदयङ्गम गर्दै समाज र देशलाई सर्वोपरी ठानी भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नमा यस संस्थाको काँधमा थप जिम्मेवारी आएको छ । यस जिम्मेवारी र चुनौतीको सामना गर्न र आफ्नो जिम्मेवारी प्रति कर्तव्यनिष्ठ बन्न वासलाई सफलता मिलोस् ।
(वरिष्ठ अधिवक्ता शाह बास नेपालका कानुनी सल्लाहकार हुन् ।)









