कमल बिके निर्मोहीः एउटा आवाज जसले पुस्ता जोड्यो, जीवनभर सम्झना बन्यो

आज जब रेडियोको आवाज सुन्छु, कहिलेकाहीँ मन फेरि बाल्यकालतिर फर्किन्छ । त्यो सानो गाउँ, त्यो पुरानो रेडियो र त्यही परिचित आवाज—कमल बिके निर्मोहीको आवाज । उहाँ शारीरिक रूपमा हामीबीच नभए पनि उहाँका गीतहरू, उहाँका शब्दहरू र उहाँका सम्झनाहरू सधैं जीवित रहनेछन् ।

मन भण्डारी

मेरो जन्मभूमि दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिकामा बितेको बाल्यकाल सरल, शान्त र प्राकृतिक वातावरणले भरिएको थियो । त्यो समय गाउँघरमा मनोरञ्जनका साधन धेरै थिएनन् । त्यो समयमा टेलिभिजन कसैको घरमा थिएन, मोबाइलको प्रयोग त कल्पनाभन्दा बाहिरको कुरा थियो । हाम्रो लागि संसार बुझ्ने, देशबिदेशको समाचार थाहा पउने, गीत सुन्ने र सूचना पाउने मुख्य माध्यम भनेकै रेडियो थियो त्यतिबेला । अहिले हातहामा मोबाइल भएजस्तै त्यो समयमा सञ्चार माध्यामको रुपमा रेडियो थियो । त्यो पनी सििमत ब्यक्तिको घरमा घरमा । हरेक साँझ रेडियो सुन्नका लागी सबै जना एक ठाउँमा जम्मा हुन्थ्यौँ, रेडियो भएको घरमा ।

मेरो बाल्यकालका धेरै सम्झनाहरू रेडियोको आवाजसँग जोडिएका छन् । दैलेखको ठाटीकाँध गाउँपालिकाको शान्त परिवेशमा हुर्कदै गर्दा साँझपख रेडियोबाट बज्ने गीत र कार्यक्रमहरू हाम्रो दैनिक जीवनको हिस्सा जस्तै बनेका थिए । त्यही आवाजहरूबीच एक सुमधुर, आत्मीय र परिचित आवाज बारम्बार कानमा गुञ्जिन्थ्यो । रेडियो नेपालमा केहिले गितका माध्यामबाट त कहिले कार्यक्रम प्रस्तोताको माध्यामबाट गुञ्जिने त्यो आवाज थियो कमल बिके निर्मोहीको । रेडियो नेपालबाट सुनिने त्यो स्वर, पछि नेपालगन्जस्थित रेडियो बागेश्वरी एफएमबाट पनि निरन्तर सुनिन्थ्यो ।

मानिसको जीवनमा केही आवाजहरू यस्ता हुन्छन्, जसले समयसँगै केवल कानमा मात्र होइन, मनभित्र पनि बसाइँ सरेका हुन्छन् । त्यस्ता आवाजहरू सुन्दा पुराना सम्झनाहरू एकाएक जाग्छन्, बाल्यकालको संसार आँखाअगाडि आइपुग्छ, अनि मन अनायासै भावुक बनिदिन्छ । मेरा लागि त्यस्तै एउटा आवाज बन्यो कमल बिके निर्मोहीको आवाज । उहाँको आवाजमा एउटा अनौठो मिठास थियो, जसले श्रोतालाई तुरुन्तै आकर्षित गथ्र्यो । त्यो बेला उमेर सानो थियो, बुझाइ पनि परिपक्क थिएन । रेडियो कसरी काम गर्छ भन्ने कुरा समेत राम्रोसँग थाहा थिएन । कहिलेकाहीँ त मेरो मनमा यस्तो पनि लाग्थ्यो—सायद रेडियोभित्रै मान्छे बसेर बोलिरहेका होलान् । रेडियो खोलेर हेरे मान्छे देखिन्छ कि जस्तो लाग्ने त्यो बालसुलभ कल्पना अहिले सम्झिँदा हाँसो उठ्छ । त्यही आवाजको मालिकलाई कहिल्यै भेट्न पाइएला कि नपाइएला भन्ने कल्पनाले मनमा अनौठो उत्सुकता जगाइरहन्थ्यो । त्यो आवाज यति आत्मीय लाग्थ्यो कि मानौँ घरकै कोही सदस्यले बोलिरहेको जस्तो ।

तर जीवनको यात्रा सधैं एउटै ठाउँमा रोकिन्दैन । समयसँगै नयाँ मोडहरू आउँछन् ।समयसँगै जीवनको यात्रा अगाडि बढ्यो । २०६३ सालतिर एसएलसी पास भएपछि उच्च शिक्षा अध्ययनका लागि म नेपालगन्ज आएँ । गाउँबाट शहरमा आउँदा धेरै नयाँ अनुभवहरू प्राप्त भए । नेपालगन्जको चहलपहल, यहाँ लाग्ने मेला–महोत्सव, सांस्कृतिक कार्यक्रमहरू—यी सबै मेरो लागि नौलो संसार जस्तै थिए । त्यही क्रममा नेपालगन्जमा सञ्चालित एउटा महोत्सवमा पुगेको बेला फेरि त्यही परिचित आवाज सुनियो । तर यसपटक त्यो आवाज रेडियोबाट होइन, मञ्चबाट गुञ्जिरहेको थियो । म एकछिन स्तब्ध भएँ । रेडियोमा मात्रै सुनेको त्यो आवाज अहिले मेरो अगाडि प्रत्यक्ष थियो । भीडको बीचमा उभिएर म त्यो आवाजलाई ध्यानपूर्वक सुन्दै थिएँ । कार्यक्रम सञ्चालन गरिरहेका व्यक्ति अरू कोही नभएर कमल बिके निर्मोही नै हुनुहुन्थ्यो । त्यो क्षण मेरो लागि अत्यन्तै विशेष बन्यो । बाल्यकालदेखि सुन्दै आएको आवाजलाई प्रत्यक्ष देख्ने अवसर पाउनु वास्तवमै अविस्मरणीय अनुभव थियो । त्यतिबेला पश्चिम नेपालका मेला–महोत्सवहरूमा कमल बिके निर्मोहीको उपस्थिति लगभग अपरिहार्य जस्तै हुन्थ्यो । उद्घोषकका रूपमा उहाँको विकल्प नै थिएन भन्नु अतिशयोक्ति हुँदैन । उहाँको प्रस्तुति, आवाजको मिठास, शब्द चयन र दर्शकसँग जोडिने शैलीले कार्यक्रमलाई जीवन्त बनाइदिन्थ्यो । कतिपयलाई त कमल बिके निर्मोहीबिनाको मेला–महोत्सव अधुरो जस्तो लाग्थ्यो ।

समयसँगै केवल उहाँको आवाज सुन्ने श्रोता मात्र भएर बस्ने अवस्था रहेन । भाग्यले अर्को सुन्दर अवसर पनि दियो—कमल बिके निर्मोहीबाट उद्घोषण तालिम लिने अवसर । रेडियोमा सुनेको, मेला–महोत्सवमा देखेको त्यो व्यक्तित्वबाट प्रत्यक्ष रूपमा सिक्ने मौका पाउनु मेरो जीवनको एउटा महत्वपूर्ण क्षण थियो । उहाँबाट उद्घोषणका आधारभूत सीपहरू सिक्दै जाँदा मैले केवल कार्यक्रम सञ्चालन गर्ने कला मात्र होइन, सञ्चारकर्मीले बोक्नुपर्ने जिम्मेवारी, भाषा प्रयोगको संवेदनशीलता र दर्शक–श्रोतासँग जोडिने शैली पनि बुझ्ने अवसर पाएँ । उहाँको प्रशिक्षण शैली अत्यन्तै सरल र प्रेरणादायी थियो । कठिन कुरालाई पनि सहज ढंगले बुझाउने उहाँको तरिका विशेष लाग्थ्यो ।

पछि विभिन्न उद्घोषण तालिमहरूमा उहाँसँगै तालिम सहजीकरण गर्ने अवसर पनि मिल्यो । एक समय रेडियोमा सुनेको आवाजका पछि दौडिने जस्तो लाग्थ्यो, तर समयले यस्तो मोड लियो कि त्यही व्यक्तिसँगै एउटै मञ्चमा बसेर सिक्ने र सिकाउने दुवै काम गर्ने अवसर प्राप्त भयो । त्यो अनुभव वास्तवमै अविस्मरणीय छ । कमल बिके निर्मोही केवल एउटा कलाकार वा उद्घोषक मात्र हुनुहुन्नथ्यो, उहाँ एउटा मार्गदर्शक पनि हुनुहुन्थ्यो । नयाँ पुस्तालाई अवसर दिने, हौसला बढाउने र सिकेका कुराहरू खुलेर बाँड्ने उहाँको स्वभावले धेरै युवाहरूलाई प्रेरित गरेको थियो । उहाँसँग नजिक भएर विभिन्न सामाजिक तथा सञ्चार सम्बन्धी अभियानहरूमा जोडिएर काम गर्ने अवसर पनि प्राप्त भयो । ती दिनहरू सम्झिँदा अझै पनि उहाँको सरलता, मिलनसार व्यवहार र कामप्रतिको समर्पण आँखाअगाडि आउँछ । उहाँसँग काम गर्दा कहिल्यै दूरीको अनुभूति भएन, बरु एउटा अग्रज, मार्गदर्शक र अभिभावक जस्तै आत्मीयता महसुस हुन्थ्यो ।

आज उहाँ हामीबीच नभए पनि उहाँबाट सिकेका शब्दहरू, शैली, प्रेरणा र सम्झनाहरू भने संधैं साथमा रहनेछन् । जीवनमा कहिलेकाहीँ भेटिएका केही व्यक्तित्वहरूले हाम्रो यात्रामा गहिरो प्रभाव पार्छन् । कमल बिके निर्मोही त्यस्तै व्यक्तित्व हुनुहुन्थ्यो, जसले धेरैको जीवनमा प्रेरणाको ज्योति बालेर जानुभयो । उहाँ सफल लोकगायक, चर्चित सञ्चारकर्मी र कला क्षेत्रका एक समर्पित साधकका रूपमा स्थापित भइसक्नुभएको थियो । नेपाली लोकसंगीतमा उहाँले दिएको योगदान अत्यन्तै महत्वपूर्ण छ । दशकौँसम्म लोकसंगीतमा निरन्तर समर्पित रहँदै उहाँले दुई सयभन्दा बढी गीतहरू नेपाली संगीत क्षेत्रमा अर्पण गर्नुभएको थियो ।

उहाँका गीतहरू केवल मनोरञ्जनका लागि मात्र थिएनन् । ती गीतहरूमा नेपाली समाजको भावना, माया, पीडा, संघर्ष र यथार्थको गहिरो अभिव्यक्ति पाइन्थ्यो । माटोको सुगन्ध बोकेका ती गीतहरूले गाउँघरको जीवन, समाजका कथा र मान्छेका संवेदनाहरूलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरेका छन् । त्यसैले होला, उहाँका गीतहरू श्रोता–दर्शकको मनमा सजिलै बस्न सफल भएका छन् । कमल बिके निर्मोहीको अर्को महत्वपूर्ण पहिचान असल सञ्चारकर्मी पनि हो । रेडियो, टेलिभिजन तथा विभिन्न सञ्चार माध्यममार्फत उहाँले पत्रकारितामा पनि उल्लेखनीय योगदान दिनुभयो । निष्पक्ष, जिम्मेवार र समाजप्रति प्रतिबद्ध पत्रकारिताको अभ्यास उहाँको विशेषता थियो । समाचार र कार्यक्रममार्फत उहाँले सकारात्मक सन्देश प्रवाह गर्न सधैं प्रयासरत रहनुभयो ।

अत्यन्तै सरल, मृदुभाषी र मिलनसार जो कोहीसँग पनि सहज रूपमा घुलमिल हुने उहाँको व्यवहारले धेरैलाई प्रभावित बनाएको थियो । सहकर्मीहरूका लागि उहाँ प्रेरणाको स्रोत हुनुहुन्थ्यो भने नयाँ पुस्ताका युवाहरूका लागि मार्गदर्शक हुनहुन्थ्यो । नेपालगन्जमा उहाँसँग पत्रकारिता तथा उद्घोषण तालिम लिने र उहाँका गतिविधिहरू नजिकबाट नियाल्ने अवसर पाएकाहरूले उहाँको योगदानलाई आज पनि गर्वका साथ सम्झिरहेका छन् । उहाँले सिकाएका सीप, दिएका सुझाव र देखाएको मार्गदर्शनले धेरै युवाहरूलाई कलाकारिता र सञ्चार क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिएको छ ।

तर जीवन सधैं एउटै गतिमा अघि बढ्दैन । समयसँगै संघर्षहरू पनि थपिँदै जान्छन् । कमल बिके निर्मोही पनि लामो समयदेखि मृगौला रोगसँग संघर्षरत हुनुहुन्थ्यो । रोगसँग जुध्दै गर्दा पनि उहाँको कला, समर्पण र सकारात्मक सोच कहिल्यै कमजोर भएन । तर अन्ततः उपचारकै क्रममा उहाँ हामीबाट सधैंका लागि टाढा हुनुभयो । उहाँको निधनको खबर सुन्दा मन निकै भारी भएको थियो । एउटा आवाज, जसले वर्षौँसम्म रेडियोमार्फत र मञ्चमार्फत हजारौँ मानिसहरूको मन छोयो, आज सधैंका लागि मौन भएको छ । नेपाली संगीत र सञ्चार क्षेत्रका लागि यो क्षति वास्तवमै अपूरणीय छ ।

आज जब रेडियोको आवाज सुन्छु, कहिलेकाहीँ मन फेरि बाल्यकालतिर फर्किन्छ । त्यो सानो गाउँ, त्यो पुरानो रेडियो र त्यही परिचित आवाज—कमल बिके निर्मोहीको आवाज । उहाँ शारीरिक रूपमा हामीबीच नभए पनि उहाँका गीतहरू, उहाँका शब्दहरू र उहाँका सम्झनाहरू सधैं जीवित रहनेछन् । कमल बिके निर्मोही त्यस्तै एउटा आवाज हुनुहुन्थ्यो—जसले पुस्ता जोड्यो, संस्कृतिलाई जीवन्त बनायो र धेरै मानिसहरूको मनमा अमिट छाप छोडेर गयो ।
कमल दाइप्रति भावपुर्ण श्रद्धाञ्जली ।

  • २७ फाल्गुन २०८२, बुधबार प्रकाशित

  • Nabintech