नेपालगन्ज/लुम्बिनी प्राविधिक विश्वविद्यालयले सरकारी भवन प्राप्त गरेको छ । खजुरा गाउँपालिकाले भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपसंगै नेपालगन्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ ।
स्थापना भएको झण्डै पाँच वर्षपछि खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि अब विश्वविद्यालयको प्रशासनिक कामकाज खजुराबाट सञ्चालन हुने भएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद ढकाललाई भवन र जग्गाको स्वामित्वसम्बन्धी कागजात हस्तान्तरण गरेका छन् ।
गाउँपालिका अध्यक्ष विकले खजुरालाई शैक्षिक र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । दक्ष प्राविधिक जनशक्ति उत्पादन गरी देशको समृद्धिमा यो विश्वविद्यालय कोशेढुङ्गा सावित हुने उनको भनाइ थियो । उपकुलपति प्रा. डा. विनोद ढकालले अब छिट्टै खजुराबाटै विश्वविद्यालयका प्रशासनिक र प्राज्ञिक गतिविधि अगाडि बढ्ने जानकारी दिए ।
विश्वविद्यालयका रजिष्टार रेगबहादुर भण्डारीले जग्गा प्राप्तिको कानुनी अल्झनका कारण प्रदेश सरकारले विनियोजन गरेको बजेट बर्सेनि फ्रिज हुने गरेको बताए । सुरुमा ९४ बिघा जग्गाको प्रस्ताव गरिए पनि हाल ५० बिघामा झारिएको र सो फाइल सङ्घीय मन्त्रिपरिषद्मा निर्णयको पर्खाइमा रहेको उनले बताए ।
प्रदेश सरकारले २०७८ सालमा ‘विश्वविद्यालय ऐन’ जारी गरी यसलाई कानुनी रूपमा स्थापित गरेको थियो । खजुरामा भवन प्राप्त भएसँगै अब विश्वविद्यालयको स्थायी उपस्थितिको सुनिश्चितता भएको छ । हाल यो विश्वविद्यालयले नेपालगञ्जमा अस्थायी मुकाम बनाएर प्राविधिक, सूचना प्रविधि र इञ्जिनियरिङका कक्षा सञ्चालन गरिरहेको छ ।









