ओली र लेखकको म्याद थपको बहस सकियो

असल शासन प्रतिनिधि

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपवारेको बहस चलेको थियो ।

उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेको थियो । त्यसपछि बहस सुरु भएको थियो ।
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले ओली–लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

उक्त सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरिएको थियो । आज अदालतमा लेखक आफैँ उपस्थित भएका थिए भने ओली भने बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए । केहीबेरमा म्याद थपको निवेदनमाथि इजलासले निर्णय सुनाउने अदालतले जनाएको छ ।

  • १५ चैत्र २०८२, आईतवार प्रकाशित

  • Nabintech