ठाटीकाँधमा बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

६१३ जनाले सेवा लिए

असल शासन प्रतिनिधि

नेपालगञ्ज/दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका–१ स्थित लकालन्द प्राथमिक स्वास्थ्य केन्द्रमा दुइ दिने बृहत विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । २०८२ चैत १५ र १६ गते सञ्चालन गरिएको उक्त शिविरबाट जम्मा ६१३ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन् ।

शिविरमा स्त्रीरोग, नाक, कान, घाँटी सम्बन्धी रोग, दन्तरोग तथा जनरल फिजिसियन सेवा उपलब्ध गराइएको ठाटीकाँध गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र भण्डारीले बताए । दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो ।
शिविर बहुउद्देश्यीय सामुदायिक सेवा केन्द्र (MCDS) को आयोजना, ठाटीकाँध गाउँपालिका, बास नेपाल र वागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्रको सहयोग/समन्वयमा र प्राथमिक स्वास्थ्य सेवा केन्द्र, लकान्द्राको संयोजनमा सम्पन्न भएको हो ।

स्त्रीरोग सम्बन्धि बिशेषज्ञ सेवा प्रदेश अस्पताल सुर्खेतका डाक्टर धर्मराज रेग्मी, कान सम्बन्धि बिशेषज्ञ सेवा वागेश्वरी कान उपचार केन्द्र नेपालगन्जका डाक्टर पुरन थारु, दन्तराेग सम्बन्धि बिशेषज्ञ सेवा दुल्लु अस्पतालका डाक्टर सुरज ज्ञवाली र जनरल फिजिसियन सेवा लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मनाेज कुमार साह र डाक्टर राजकमल कार्की द्वारा प्रदान गरिएको थियो ।

उक्त शिबिर उद्घाटनमा ठाटीकाँध गाउँपालिकाका कार्यवाहक अध्यक्ष  देविराम बडुवाल, प्रमुख प्रशासकीय अधिकृत  तुलसी प्रसाद उपाध्याय, वडा नं. का अध्यक्ष  प्रेम बहादुर मगर, वडा नं. ३  का अध्यक्ष भरत बहादुर बम र वडा नं. ४  का अध्यक्ष केहेरसिह कठायत तथा स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारी लगायत स्वास्थ्यकर्मी तथा अन्य साझेदार संघसंस्थाका प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।

शिविरमा आएका अधिकांश बिरामीहरूले कानसम्बन्धी समस्या, दाँतसम्बन्धी समस्या तथा महिला स्वास्थ्यसम्बन्धी समस्या लिएर सेवा लिएको आयोजकले जनाएको छ । विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क जाँच, परामर्श तथा औषधि वितरण समेत गरिएको थियो । स्थानीय स्तरमै यस्ता शिविर सञ्चालन हुँदा उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम भएको र समय तथा खर्च दुबै बचत भएको सेवाग्राहीहरूले बताएका छन् । साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता स्थानीयवासीले औंल्याएका छन् ।

आयोजक संस्थाले शिविर सफल बनाउन सहयोग गर्ने सबै निकाय तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

  • १७ चैत्र २०८२, मंगलवार प्रकाशित

  • Nabintech