लाश र माफी

प्रिय इनिशा

असल शासन प्रतिनिधि

तिम्रो पार्थिव शरिर खरानी भयो
ठिक त्यसै गरी खरानी बनोस्,
जात व्यवस्था, पितृसत्ता अनि
राजनीतिको फोहोरी खेलसमेत ।

म निदाउन सकेकी छैन त्यो दिन देखि

जुन दिन जवरजस्ती करणी गरी ज्यान मार्ने
चारसंगै रंगेहात जंगलमै भेट्टियो तिम्रो शव
सोही दिन विजयी जुलुस थियो नव दलालको त्यो क्षेत्रको
तर मलामीको अभाव थियो सायद तिम्रो शवको

भोलीपल्ट श्रमिक महिला दिवश थ्यो
कतै कुरा उठेन तिम्रो लाशको न्यायको
प्रमाण मेटाउन भरमग्दुर प्रयास भो विपक्षीको
रुंदा आशु बग्दा केश थ्यो  तिम्रो आमाको

तिम्रो लाशले चिच्याई चिच्याई
न्याय मागिरहेथ्यो मूर्दा घरबाट
ठिक उसैगरी तिम्रा न्यायकर्मीहरु
आवाज उठाईरहेथे सडकमा, न्यायालय अघि

उसैबेला म भित्र थिए अदालतमा बहसमा इजलासमा
हेरे तिम्रो लाशमा मिसिल/फाईलमा पोस्टमार्टममा
मर्ने कारण अत्यधिक रक्तश्राव थियो चिरा परेको योनी
मुटु खाली थियो, न रगत थियो, न त थियो तिम्रो प्रेमी

तर विपक्षी वकिलको बहसमा तिम्रो मृत्युको कारण
महिनावारीको रगत बगेकोले हो भन्दा मेरो मुटु भक्कानिएथ्यो
बलात्कारपछिको हत्यापछि पनि चरित्र हत्या हुदैथियो बेन्चमा तिम्रो बाबा आमा मामा र आफन्तसमेतको सामुन्ने

पीडितले न्याय पाउन कहां सजिलो छ र
पटक पटक बलत्कृत बन्नुपर्छ, रिपोर्टमा,सोचमा, मनसायमा, मिसिलफाइलमा, राज्यका न्यायिक निकायहरुबाट
सकेसम्म पीडक उम्कन खोज्छ, धम्काउछ विरोधमा र्यालीमा

यसर्थ, मैले बहसमा तिम्रो न्याय मात्र मागिन,
तिम्रो परिवार र साक्षीहरूको लागि शान्ति सुरक्षा र
अन्तरीम क्षतिपूर्ती राहतसमेत मागे आदेशमा
पुर्पक्षको न्याय र शान्ती सुरक्षा मात्र आयो
अन्तरीम राहतसमेत दिलाउन सकिन, मलाई माफ गर

तर,
सदियौं देखिको राज्यको दमन स्वीकार्दै दलित समुदायसंग औपचारिक माफी माग्यो रे सरकारले,
यो सरकार चुक्यो तिम्रो क्षतिपूर्ती राहत घोषणा गर्दै अर्थपूर्ण माफ माग्ने सानो अवसरबाट
संयोगवस सोही दिन तिम्रो शवको अन्तिम दाह संस्कार थियो

इनिशा साच्चिकै माफीले मात्र पुग्छ होला ?
के यी चार जनाले माफी माग्दैमा तिमी फर्केर आउछ्यौ?
यदि आउदिनौ भने सरकारले माफी माग्दैमा दलित समुदायको गुमेको सर्वस्व पनि त फर्कदैन ।

यसर्थ,
तिम्रो औसत आयुको आधारमा तुलनागरी हुन आउने रकमसमेत अपुरणीय क्षतिपुर्ती सरकारबाट भराइयोस्,
तिम्रो परिवारको शिक्षा, स्वास्थ्य र सुरक्षाको सरकारले ग्यारेन्टी गरोस्, तिम्रो समुदाय सम्मानित मान्छे भई बाच्न पाउन र
सिंगो महिला हिंसा मुक्त होउन् !

किनकि,
सदियौं (३५ सय वर्ष ) देखि दलित समुदायमाथि
राज्यले कानुन बनाएर नै गरेको शोषण-
कानुनी शोषण,
आर्थिक शोषण,
सामाजिक सांस्कृतिक शोषण,
राजनैतिक शोषणको कारण मनोवैज्ञानिक असर पारी

जिउदो लाश बनाईएका सिंगो दलित समुदायलाई औपचारिक माफी शव्दमा मात्र होईन्
विषेशाधिकार सहित अपुरणीय क्षतिपुर्ति
कानुन बनाएरै राज्यबाट भरपाई गरियोस्

आठ हजार बर्ष पुरानो महिला दुःख र
पितृसत्ताको अन्त्य होस्
माफी माफी जस्तो होस्,न्याय न्याय जस्तो होस्
राजनीतिको फोहोरी खेल जस्तो नहोस्

यम कुमारी ददेल
अधिवक्ता
अनामनगर काठमाडौं ।

  • २३ चैत्र २०८२, सोमबार प्रकाशित

  • Nabintech